अष्ट्रेलिया, माघ १८ । अस्ट्रेलियामा विगत चार महिनादेखि लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । राजधानी क्यानबेरामा डढेलोले क्षति बढ्ने क्रम नरोकिएपछि आपत्कालीन अवस्था घोषणा गरिएको हो ।
गएको सेप्टेम्बरदेखि क्यानबेराको दक्षिणी भेगसम्म डढेलो फैलिएकोले आपत्कालीन अवस्था घोषणा गरिएको हो । त्यहाँका बासिन्दालाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन् ।
सिड्नी र मेलबर्नको बीचकोे क्षेत्रमा ४ लाख मानिसको बसोबास रहेका छन् । अहिलेसम्म डढेलोका कारण ३३ जनाको ज्यान गएका छन् भने हजारौं घरमा क्षति पुगेको छ । यस्तै एक करोड ११ लाख हेक्टर क्षेत्रफलको जमिन डढिसकेको छ ।
अग्नि नियन्त्रकहरु ४० डिग्रीको तापक्रममा तीव्र गतिको हावाको वेगमा आगो निभाउन जुटिरहेका छन् । आगोलाई नियन्त्रणमा लिन कठिन भैरहेको अग्नि नियन्त्रकहरुले बताएका छन् । अधिकारीहरुले यो आगलागी गएको दुई दशककै सबैभन्दा भयानक र खतरनाक भएको बताएका छन् ।