११ मसिर, काठमाडौं । सरकार र मेडिकल कलेज सञ्चालकहरुबीच गएको मध्यरातमा भएको सहमतिको उज्यालो नहुँदै विरोध हुन थालेको छ । समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिले विज्ञप्ति जारी गर्दै मंसिर १० गते मध्यरातमा शिक्षा मन्त्रालय र मेडिकल कलेज सञ्चालक बीचमा भएको सहमतिले आफ्नो संगठनको ध्यानाकर्षण भएको जनाएको छ ।
अध्यक्ष रुपनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा समय सीमा नतोकेर अतिरिक्त शुल्क फिर्ता वा समायोजन जे भनेपनि यो सहमति भ्रमको पुलिन्दा मात्रै भएको बताइएको छ । ‘यस्तो सहमति यसअघि गण्डकी मेडिकल कलेज र चितवन मेडिकल कलेजमा भएको तर कार्यान्वयन नभएको देखिरहेकै छौं’, विज्ञप्तिमा भनिएको छ ।