७ मसिर काठमाडौँ । सत्तासाझेदार दल समाजवादी पार्टी नेपालको पदाधिकारी बैठक ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा शनिबार अपराह्न बस्दैछ । बैठकले सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लगाउने जनाइएको छ ।
अपरान्ह ४ बजे बस्ने पदाधिकारीको बैठकले सरकारमा बस्ने वा नबस्ने भन्ने विषयमा टुंगो लगाउने निर्णय गर्ने पार्टीका सहायक प्रवक्ता रामप्रसाद रिजालले जानकारी दिए । ‘मन्त्रीपरिषद् पुनर्गठनमा हाम्रा मन्त्रीहरु हटेका छन्, मन्त्रालयहरु हेरफेर भएका छन्,’ उनले भने, ‘त्यही विषयमा आजको पदधिकारीको बैठकले टुंगो लगाउने छ, पादधिकारीहरु आउँदै हुनुहुन्छ, बैठक ४ बजेदेखि बस्ने भएको छ ।’रिजालका अनुसार मन्त्रिपरिषद् पुनर्गठनपछि सरकारमा जाने वा नजाने विषयमा बैठकले टुंगो लगाउने भएको हो ।
पुनर्गठन हुँदा समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई स्वास्थ्य जनसंख्या राज्यमन्त्रीबाट हटाइएको छ । यादवको ठाउँमा नेकपाका नेता रामवीर मनान्धरलाई ल्याइएको छ । यस्तै‚उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवको जिम्मामा रहेको स्वास्थ्य जनसंख्या मन्त्रालय नेकपा भानुभक्त ढकाललाई दिइएको छ । र‚ढकाल मन्त्री रहेको कानुन‚न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मा यादवलाई दिइएको छ ।
मन्त्री फेर्न पाउने अधिकार प्रधानमन्त्रीलाई भए पनि सरकारमा सहभागी अर्को साझेदार पार्टीसँग सल्लाह र सहमति नगरेकाले सरकारमा सहभागी हुने वा छाड्ने धोधारमा परेको छ । समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई लगायतका पदाधिकारीको बैठक बस्ने भएको हो ।
समाजवादी पार्टी सरकारमा सहभागी हुने की नहुने भन्ने विषयभन्दा संविधानको संशोधनको मद्दा मुख्य रहेको बताउँदै आएको छ ।