काठमाडौँ, कार्तिक २६ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज मंगलबार नेपाल आउँदैछन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिद ५२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिउँसो बंगलादेश एयरलाइन्सबाट नेपाल आइपुग्नेछन् । उनको भ्रमण ४ दिनको हुनेछ । लामो समयपछि बंलादेशबाट उच्च स्तरको भ्रमण हुन लागेको हो । नेपाल आए लगत्तै आजै उनी भक्तपुर दरबार क्षेत्रको भ्रमणमा निष्किनेछन् ।
त्यसपछि हमिद बस्ने होटल मेरियटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मंगलबार नै शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति हमिद आजै साँझ नेपालस्थित बंगलादेश राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन् । भ्रमणको दोस्रो दिन पनि राष्ट्रपति हमिद औपचारिक कार्यक्रममा व्यस्त रहने र यसै दिन २ देशबीच हुने प्रमुख कार्यक्रम सकिने परराष्ट्र मन्त्रालयले जनाएको छ । जसअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
राष्ट्रपति हमिदले उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपाका अध्यक्ष प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्वप्रधानमन्त्रीहरु र अन्य राजनीतिक दल नेतालाई पनि भेट्नेछन् । उनको महत्वपूर्ण भेटघाट राष्ट्रपति भवन शीतल निवास र होटल याडिनमा हुने बताइएको छ ।