दुई गजलको साथमा जुनाः देशप्रेम र आशा ! – Satabdi News

दुई गजलको साथमा जुनाः देशप्रेम र आशा !

गजल– ‘एक’

सम्पन्न हुने थियो नेपाल, बिजुली पानी बेचेर
बहादुरी देखायो खाडीमा, युवाको जवानी बेचेर ।

राजनीति गर्दै आए र गर्दैछन्, नेताहरु यहाँ
मेची–काली संघ, प्रदेशको, राजधानी बेचेर ।।

विकास कतै छैन रोजगारी, विदेशीए युवाहरु
चल्दैछ देश लज्जापूर्ण, केही राहदानी बेचेर ।।

सुम्पिएका छन् समपदा, नदिनाला छिमेकीलाई
बुङ्गो, नाङ्गो र बदनामी छ, राज्यको इमानी बेचेर ।।

सत्ता लिप्त भो दृष्टिबिहीन नेतृत्व, आफ्नै स्वार्थमा
खोक्रो राष्ट्रवाद र झूठको प्रसाद, अनि खानी बेचेर ।।

गजल– ‘दुई’

चालिस कट्यो उमेरले, रमाउन आउ राजा
बाँझो खेत, बारी, पाखा, कमाउन आउ राजा ।

घुँडा टेके आमा–बा–ले, खोज्न थाले लालाबाला
बेसाहारा निर्धा हातलाई, समाउन आउ राजा ।।

बन्धकमा छन् परिवार, महाजनका आलीबाली
साँवा–व्याज ऋण हिस्सा, थमाउन आउ राजा ।।

विदेशीका गुलाम बन्दा, बिदेशकै देश बन्यो
भविष्य र सर्वस्वलाई, जमाउन आउ राजा ।।

गजलकारः जुना राई
हतुवागढी–४ तुम्ताङ्ग, भोजपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दुई गजलको साथमा जुनाः देशप्रेम र आशा !" A few seconds ago

सम्बन्धित खवर