बिपन खिम्बुले राई
सदीयौं कालदेखी जनैले
तिम्रो रक्षा गरेको छ हैन ?
तिमी कति सुरक्षित छौ ?
जातपात ,छुवाछूत ,वर्ग
वर्ण ,लिङ्ग, , भूगोल
सबैलाई तिम्रो जनैले बाँध्यो
आखिर तिम्रो
रक्षा गर्नेले अरुलाई किन बाँध्यो ?
तिम्लाई रक्षा गर्ने बन्धनले
सदियौं कालदेखि दमनमा पारेका
खास वर्ग, समुदाय, भूगोललाई
किन
रक्षा गर्न सकेन ?
ती किन सीमा बाहिर छ ?
यदि तिम्रो तागो
पवित्र थियो भने
भुमीपुत्र, आदिवासी , मुलवासीले
किन तिम्रो तागो स्विकार्न सकेन ?
खोरिया फाँडेर
मानव वस्तीयोग्य भुमी तयार गर्ने
आज किन धागोको रेखाबाहिर छ ?
किन तिमी मात्र तागो भित्र ?
तिम्रो रक्षा गर्ने तागोको तापले
राष्ट्रीयता किन सीमापारी छ ?
आज तागाधारी नभएकै कारण
म सीमापारी छु,
मेरो परिचय
राष्ट्रीयता
स्वाभीमान
तागाको रेखाबाहिर छ ।
तिम्रो तागाको मूल्य कति हो ?
मूल्य थाहा भए
अराष्ट्रीय , अनागरिकले पनि
राष्ट्रिय नागरिक हुन पाउथें कि !
मेरो मातृभाषाको दोभाषे
तिमी बन्न सकेनौ
मेरो भेषभुषालाई
केवल तागो सम्झियौ
मेरो परिचय बदलिदियौ ।
संस्कृतिलाई कुल्चियौ ।
बरु
कुल्चिने खुट्टामा पनि तागोले रक्षा गर
फेरि , अझै कुल्चिन सजिलो हुन्छ ।
हाम्रो पसिनाको गन्ध
मन नपराउने तिमी
आखिर किन
धरहराको टुप्पोमा लिङ्गस्वरुप
हाम्रो पसिना ठडायौ ?
यी सबै-सबै गर्ने तिम्रा हातहरु
अझै तागोले रक्षा गर
अझै यस्ता बिध्वंसकारी
कामहरु गर्न बाँकी नै छ !!
आलाङ्ने, सेवा ।