कविता; इतिहासको कठघरामा एक योद्धाको बयान – Satabdi News

कविता; इतिहासको कठघरामा एक योद्धाको बयान

गंगा मानव

हो, ढाँट्दिन हजुर
इतिहासको यस कठघरामा उभिएर
सत्य-सत्य बोल्छु / निर्भयताका साथ बोल्छु
हजुरलाई विश्वास लाग्ला नलाग्ला
तर म रिठ्ठा नबिराई
दूधको दूध बोल्छु/पानीको पानी बोल्छु
हो हजुर म सत्य बोल्छु ।

जनयुद्धमा हिजो सेना हिँड्ने बाटोमा धराप थापेकै हौं
दुश्मनहरु तर्ने पुल बम ब्लास्टिङ्ग गरेर भत्काएकै हौं
दुश्मनको किल्लामा धावा बोलेकै हौं
सेना/प्रहरीको ब्यारेक कब्जा गरेकै हौं
भीषण लडाइँ लडेकै हौं
सामन्तहरुको घरमा आगो झोसेकै हौं
कीर्ते तमसुकहरू च्यातेर मज्जाले आगो तापेकै हौं
मजदुरमारा पुँजीपतिहरुको कारखाना बन्द गरेकै हौं
किसानहरूलाई जसको जोत उसको पोत भनेकै हौं
बैज्ञानिक शिक्षाको माँगगर्दै स्कुल/कलेज हडताल गरेकै हौं
हो, हजुर
पुरानो राज्य व्यवस्थाविरुद्ध बिद्रोह गरेकै हौं
थोत्रा सडेगलेका सबै कुरा भत्काउन खोजेकै हौं ।

रक्सीको नशामा स्वास्नी कुट्ने जड्याहा लोग्नेहरुलाई
रातभर चिसो छिँडीमा सुताएकै हौं
खुट्टा भए जुत्ता कतिकति भन्ने अहंकारी पुरुषविरुद्ध
महिलाहरूलाई आन्दोलनमा उतारेकै हौं
महिलापुरुष (मानव) समानताको कुरा गरेकै हौं
आफूजस्तै मान्छेलाई अछुत भनेर छोइछिटो गर्ने
कथित छुतहरुको भान्सामा
अछुतहरुलाई भान्से बनाएकै हौं
जातपात, छुवाछूत अन्त्यका लागि आन्दोलन गरेकै हौं
अहोरात्र चोकमा जुवातास खेल्ने जुवाडेहरुलाई
तास च्यातेर मुखमा कोचेकै हौं
व्यभिचारीहरुलाई जन अदालतमा उभ्याएकै हौं
भ्रष्टाचारीहरुलाई सुम्ला बस्नेगरि भाटा लगाएकै हौं
अन्याय, अत्याचार, विकृति, विसंगतिविरुद्ध
दस वर्ष युद्ध लडेकै हौं
हो, हजुर
पुरानो राज्य व्यवस्थाविरुद्ध बिद्रोह गरेकै हौं
थोत्रा सडेगलेका सबै कुरा भत्काउन खोजेकै हौं ।

शदीयौंदेखिको नारायणहिटीको निरंकुशता अन्त्य गरेकै हौं
सिंहदरबारको एकल शासनविरुद्ध
पहिचानसहितको सङ्घीय राज्य माँगेकै हौं
जातीय/क्षेत्रीय विभेदविरुद्ध बिद्रोह गरेकै हौं
शदीयौंदेखि समाजको पीँधमा नि:शब्द बाँचिरहेका
तमाम निर्धा निमुखाहरुको समानुपातिक प्रतिनिधित्व राज्यको हरेक अङ्गमा हुनैपर्छ भनेकै हौं
सधैं धनीले चुनाव जित्ने चुनाव प्रणालीविरुद्ध
गरिबले पनि चुनाव जित्ने चुनाव प्रणाली माँगेकै हौं
बाहिर खसीको टाउको झुन्ड्याएर
भित्र कुकुरको मासु ब्यापार गर्ने
कथित संसदीय लोकतन्त्रका विरुद्ध
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली चाहियो भनेकै हौं
सहभागितामूलक प्रत्यक्ष लोकतन्त्र खोजेकै हौं
हो, हजुर
पुरानो राज्य व्यवस्थाविरुद्ध भीषण लडाइँ लडेकै हौं
बर्गीय, जातीय, क्षेत्रीय, उत्पीडनविरुद्ध बिद्रोह गरेकै हौं
स्वतन्त्रता, समानता र भातृत्वका लागि लडेकै हौं ।

कहिल्यै कसैको पराधीनता नभोगेको
तर कहिल्यै स्वाधीन पनि हुन नसकेको
छिमेकीको विस्तारवादी हैकमका विरुद्ध
विस्तारवाद – मुर्दावाद ! को नारा मात्रै होइन
कहिले कालापानीमा खुकुरी चम्काएकै हौं
कहिले सुस्ता, महेशपुरमा मार्चपास गरेकै हौं
त्यतिमात्र होइन हजुर, विस्तारवादविरुद्ध युद्ध गर्न
देशभरी सुरुङ पनि खनेकै हौं
हो, हजुर
छिमेकीको थिचोमिचोबाट देशलाई मुक्त बनाउन चाहेकै हौं
नेपाललाई पूर्ण स्वतन्त्र र स्वाधीन बनाउन खोजेकै हौं ।

भत्काउनु ध्वंस मात्रै थिएन हजुर
भत्काउनुको असली अर्थ नयाँ निर्माण गर्नु थियो
हिरोसिमा र नागासाकी खरानीकै थुप्रोमा ठडिएको हो
भियतनाम होस् या कोरिया / चीन होस् या रूस
सबैसबै देशहरू ध्वंसबाटै निर्माण भएका हुन्
ए हजुर !
मान्छेको बलिदान त क्रान्तिको ऊर्जा हो
ध्वंस उन्नत सभ्यता निर्माणको अपरिहार्य शर्त हो ।

हो, ढाँट्दिन हजुर
इतिहासको यस कठघरामा उभिएर
सत्य-सत्य बोल्छु / निर्भयताका साथ बोल्छु
हजुरलाई विश्वास लाग्ला नलाग्ला
तर म रिठ्ठा नबिराई सत्य बोल्छु
ए हजुर ! पत्याउनुस् नपत्याउनुस्
समस्या ध्वंसमा थिएन हजुर
समस्या बलिदानमा पनि थिएन हजुर
खास समस्या त –
ध्वंसको अगुवाई गर्नेहरूको मस्तिष्क ध्वंस हुनुमा थियो
निर्माण गर्छु भन्ने अगुवाहरू आफैँ भत्कनुमा थियो
बलिदानको ऊर्जा भर्नेहरु आफैँको मृत्यु हुनुमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता; इतिहासको कठघरामा एक योद्धाको बयान" A few seconds ago

सम्बन्धित खवर