कविता ''क्षतिपूर्ति" – Satabdi News

कविता ”क्षतिपूर्ति”

प्रेमिला राई

उहिल्यै, निधारमा कुल्चिएर
तिमीले भाग्यको दस्ताबेज कोर्दा नै
विद्रोहको आगो ओकलेका हुन् पुर्खाहरुले
तब न
मेरै पुर्खाहरुको करङ भाँचेर उठाएका हौ
आलिशान महलहरु
मेरै कोक्पाहरुको छाला काढेर
ओढेका हौ ठिहीमा ।

तिम्रा ती रङ्गिन चारै भित्ताहरु
मेरै कोकुहरुको रगतले पोतिएको हो ।

सायद तिमीले भुल्यौ होला
यो महलको मुलढोकामा
कोक्पाको शिर चढाएको
कोकुहरुको वदनमा निस्फिक्री औलाहरु नचाएको
दोजिया कोकुहरुको पेट चिरेर
कलिला नानीहरु ओखलमा पिसेको
बिर्सियौ होला नाक कानको तौल, मोल मोलाइ

बिर्सियौ होला
बलीहाङ, उलिहाङ, काङ्सोरे
रिन्जेन, राम्लिहाङ र रिदामाहरु
सायद सबै सबै भुलेको हुनुपर्छ
या त बानी परेको हो
र त आज पनि उसैगरी
चढाउन खोज्छौ तिम्रो मन्दिरमा कुनै कुमारीको टाउको
पिस्न खोज्छौ सिलौटामा मजदुरहरुको खप्पर
च्यात्न खोज्छौ किसानहरुको छाती
ओछ्याउन खोज्छौ कलिलो युवतिको जवानी ।

खबरदार !
यो समय म ब्युँझेको समय हो
ओखलमा किच्याइएका कलिला नानीहरुको
अदृश्य अनुहार र चित्कार
दोजिया कोकुहरुको प्रतिकारको आगो
कोक्पाहरुको विद्रोहको भुङ्ग्रो
मेरो छातीमा भर्भराएपछि
यतिखेर म
इतिहासको क्षतिपूर्ति लिन
ठिक तिम्रो सामुन्ने उभिएको छु ।

म उहीँ मतुवाली नमासिन्या
तिम्रो ज्यादतीले बेजोड मातेको छु यतिखेर
जुनसुकै बेला छप्काउन सक्छु खुकुरी
जुनसुकै बेला निमोठ्न सक्छु तिम्रो घाँटी
जुनसुकै बेला भाँच्न सक्छु हात पाउ
जुनसुकै बेला तिम्रै करङ सल्काएर
जलाउनेछु एउटा निर्मम ईतिहास,
र तिम्रै रगतले लेख्नेछु
अलिखित इतिहासको अर्को अध्याय ।

खबरदार !
यतिखेर म मात्रै होइन
मासिन्या,अछुत र अपवित्र छाउपडीहरु
लामो समयदेखी छातीमा भर्भराएको आगो बोकेर
तिम्रो मुलढोकामा उभिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "कविता ”क्षतिपूर्ति”" A few seconds ago

सम्बन्धित खवर