ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेज्याे - डा. भट्टराई – Satabdi News

ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेज्याे – डा. भट्टराई

विराटनगर । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेजेकाे आराेप लगाउनु भएकाे छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध विराटनगरमा शनिबार पार्टीले आयोजना गरेको विरोधसभामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्ने खालको कानुनहरू बनाएर मुलुकलाई संकट तर्फ धकेलेकाे आराेप लगाउनुभयाे । मधेस विद्रोह र विभिन्न जनआन्दोलनको उपलब्धि स्वरूप प्राप्त भएको संविधानलाई प्रधानमन्त्री ओलीले मरणासन्न हुने गरी प्रहार गरेको उहाँले बताउनु भयाे । भट्टराईले स्वतन्त्र न्यायालयमा प्रधानमन्त्री ओलीले हस्तक्षेप गरेको र सार्वजनिक रुपमा धम्की दिइरहेको प्रति आपत्ति जनाउनुभयाे । उहाँले भन्नू भयाे, “अदालतबाट संसद् पुन: स्थापना हुन्छ भनेर आशा गर्न सकिने भए पनि भर गर्न हुन्न।”

जनताको संघर्षबाट प्राप्त उपलब्धि रक्षा र संविधानलाई सही बाटोमा ल्याउन जनताको खबरदारी आवश्यकता रहेकोमा उहाँले जोड दिनुभयाे । यस्तै, जनता समाजवादी पार्टी नेपालका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनकारी कदम खारेज नभए जनता जनविद्रोहका लागि तयार भएर बसेको भन्दै चेतावनी दिनुभयाे । उहाँले भन्नुभयाे, “सरकारकाे नेतृत्व गलत व्यक्तिकाे हातमा पर्याे ।”

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध पार्टीले शनिवार विरोध प्रदर्शन गरेकाे हाे । प्रदर्शनका क्रममा प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम खारेज गर, सार्वभौम संसद् पुन:स्थापना गर, संविधानको रक्षा गर लगायतका नारा लगाउदै विशाल विरोध र्याली समेत निकालेका थिए । विराटनगरको वीरेन्द्रसभा गृहदेखि सुरु भएको र्याली गोल्छा चौक, जलजला चौक र ट्राफिक चौक हुँदै जनआन्दोलन चौक पुगेर कोणसभामा परिणत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओलीले संघीयता र समावेशीतालाई समाप्त पार्न खाेज्..." A few seconds ago

सम्बन्धित खवर