कवि विनायक पन्त
१. भट्टि
यो गल्लिको
ऊ….. त्यो पर
तपाईंले देख्नुभएको
कचक्क परेको,
साँघुरो गल्लिमा
साँघुरै ढोका राखिएको
जस्ताको सानो झुप्रो
झुप्रो मात्रै नभई
एउटा विशाल रंगमञ्च हो
जहाँ मञ्चन भै रहन्छ
अनेकौँ कहानीहरू
र त्यहाँ
केही दिन अघि बाट भने
प्रदर्शन हुँदै आएका छन्
फरक फरक पात्रका
समान कथाहरू
आकार फरक
तर उही प्रतिबिम्बहरू
हो, आजकाल
त्यो भट्टिभित्र
हरेक रात मात्तिरहन्छ,
कराईरहन्छ मदिरा
गरिरहन्छ अतितका कुरा
छिनमै रून्छ, छिनमै चिच्याउँछ
र फेरि छिनमै सम्हालिन्छ
अनि फेरि एकै छिनमा
अरू बोत्तलहरूले
सम्हाल्दै, अँगाल्दै
घिच्याउँदै, घिसार्दै
ढोका बाहिर निकाल्छन्
तपाईं आफैं देख्न सक्नुहुन्छ
यो दृश्य
र सुन्न सक्नुहुन्छ
नेपथ्यमा बजिरहेको नौमतिको आवाज
र सायद मैले भन्न पर्दैन कि
अचेल यो सहरमा
मंसिर लागेको छ।
२.वाकयुद्द
जब बल्नै छाडे फिलिङ्गाहरू
पग्लनै छाड्यो फलाम
लाग्नै छाड्यो आफ्नै पसिनाको पाइन
जब बन्दै बनेनन्
आरनमा हतियारहरू
तब सुरूभएको हो
जातको वाकयुद्ध ।
३. यात्रा
हिजो
जब रोकियो
हिँड्दा हिँड्दैका तिम्रा पैतालाहरू
छेवैको चोक नजिक।
तब अलग्गिए हाम्रा बाटाहरू,
बदलिए गन्तब्यहरू।
आज
हामी एउटै सडकपनि
एक्लाएक्लै नापिरहेछौं ।
भोलि
कसलाई के थाहा ?
त्यही चोकमा
पुनः भेटिने पो छौँ कि ?