कृष्ण विश्वकर्मा
म एक वक्रदृष्टि हुँ !
समयगर्भले कष्टसाध्य पीडा खेप्दै खेप्दै
जतनले हुर्काउँदै ल्याएको हो यो वक्रदृष्टि
उहिले उहिले
समान थिए सबै दृष्टिहरू
चतुर दृष्टिहरूले
गरे- ईश्वरको सृष्टि
अनि जन्मियो- मनु
जन्मिए मनुस्मृति, मुलुकी ऐन-१९१०
उन्ताकैबाट
धन्न प्रकृतिले दृष्टि खोलेन छन् !
दृष्टि खोलेका भए उति नै खेर
मनुले चिनाई दिने थिए होलान्
विभेद/बहिष्करण गरिनुपर्ने वर्गहरू
वनजंगलहरूले पनि
सिक्ने थिए होलान् छोइछिटोका संस्कारहरू !
खोला नालाहरूले पनि
सिक्ने थिए होलान् छुत/अछुतका संस्कृतिहरू !
आकाशले पनि हाम्रो पाइतालाहरू
लाटोकोसेरोले झैं घुरिरहेको हुन्थ्यो होला !
जमीनले पनि महाकविले झैं
जहाँ टेक्यो उहीँ शुद्धिपूजा गर्थ्यो होला !
माटो आदेश मुताविक
स्वयम् फाट्ने थियो होला !
र, निस्वार्थ सेवा गर्ने हामीहरू
बली झैं पाताल हुन्थ्यौं होला !
हावाले हामीलाई दयामायाले
अड्कलेर दिन्थ्यो होला प्राण धान्ने वायु !
प्रकृतिले विवेक खोल्यो
तर खोल्दै खोलेन दृष्टि
र नै मनुहरू , जङ्गेहरूले
चिनाउन भ्याएनन् हामीहरूलाई
प्रकृतिको बन्द आँखामा
हामीहरू पनि प्रकृतिको प्रिय हुँदै आयौं !
मसँग उन्ताका दृष्टि मात्रै थियो
लगाम लगाएको अश्व झैं कुद्थ्यो
जब वक्रदृष्टि पाएँ
अहिले संसार बुझ्दैछु
भिड्दै छु दिव्यदृष्टिहरूसँग
ए दिव्य दृष्टिहरू होस् गर अब
समय चेतले हुर्काएको म एक वक्रदृष्टि हुँ ।
कबिको ठेगाना भरतपुर-११, चितवन
हाल : आबुधाबी, संयुक्त अरब इमिरेट्स