अबिनाश आङ्बुहाङ लिम्बु
ऊ एउटा अकविता
हचुवा बहकिएको
बौलाहा बतास जस्तो
तर उसमा नियन्त्रित हुने चाहना छ
निर्मल नदीझैँ बग्ने मन छ
गुराँसझैँ मुस्कुराउने रहर छ
त्यसैले त,
भावानाको झरीले निथ्रुक्क भिजेर
फुल्लिएको छ उसका पानाहरू
भद्दा पल्टिएको छ उसका रहरहरू
हो समय लाग्छ
ऊ कुरिरहेको छ न्यानो घामको स्पर्श
ऊ चम्किलो बन्नेछ एक दिन
उसका आँसुहरू ,
बाफझैँ उड्नेछन्, बर्सने छन्
अक्षरहरूको एउटा निर्मल नदी बग्ने छ
ऊ गुराँसझैँ सुन्दर कविता बनेर मुस्कुराउने छ ।