२० दिनभित्र रेशम चौधरी लगायत ११ जनाको मुद्दा फिर्ता नलिए देशमा गृह युद्ध हुन्छ- लक्ष्मण थारु – Satabdi News

२० दिनभित्र रेशम चौधरी लगायत ११ जनाको मुद्दा फिर्ता नलिए देशमा गृह युद्ध हुन्छ- लक्ष्मण थारु

काठमाडौं- थरुहट थारुवान राष्ट्रिय मोर्चाका संयोजक लक्ष्मण थारुले अबको २० दिनभित्र टीकापुर घटनामा फसाइएका माननीय रेशम चौधरी लगायत ११ जना थारुहरुको मुद्दा फिर्ता नभए देशमा गृह युद्धको चेतावनी दिएका छन्।

बुधबार राजधानीमा पत्रकार सम्‍मेलन गरेर थरुहट आन्दोलन संघर्षका कार्यक्रम घोषणा गर्दै उनले भने,’टीकापुरमा घटना घटिसकेपछि सरकारले देवीराम शर्माको संयोजकत्वमा लाल आयोग बनायो। गृहमन्त्रीले छूटै आयोग बनायो। त्यो बेलामा राष्ट्रिय मानव अधिकार आयोगलगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्थाले प्रतिवेदन सार्वजनकि गरे। तर सरकारले बनाएको लाल आयोगको प्रतिवेदन लुकायो। सार्वजनकि गरेनन् किन ?’

उनले सरकारलाई प्रश्‍न गर्दै आक्रोश पोखे, ‘टीकापुर घटनाको वास्तविक प्रतिवेदन सरकार किन लुकाएर बसेको छ ? के थारुहरु चोर, फटाहा र डाँका हो। ज्यानमारा हो हामी? थारुहरुमाथि टीकापुरमा के भएको थियो ? यो देशको जनतालाई जान्‍ने अधिकार छैन ? त्यो टीकापुर हत्याकाण्ड कस्ले रच्यो ? दुर्भाग्यपूर्ण घटनाबारे जान्‍न पाउने अधिकार हामीलाई छैन ?’

उनले त्यतिबेलाको पीडाको आक्रोश पोख्दै भने, ‘ हाम्रो घरमा आगो लाग्छ। हाम्रो खोका फुकिन्छ आगोले। हाम्रो पसल चोरिन्छ आगो लगाएर। त्यही बेला हाम्रो घरमा रेप हुन्छ। तर मुद्दा लाग्छ हामीलाई कर्तव्य ज्‍यान, ज्यान मार्ने डाँका।के प्रधानमन्त्री केपी ओलीको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र यही हो ? संघीयता यही हो ? त्यति बेखबर सरकार, प्रहरी प्रशासन ? संघीयता, गणतन्त्र र समावेशीताको कुरा गर्‍यौ द्वन्द्व व्‍यवस्थापनका लागि। तर यहाँ द्वन्द्व व्‍यववस्थापन कसरी गर्ने, कुन हदसम्‍म गर्ने ?’

लक्ष्मणले प्रश्‍न गर्दै भने, ‘ एउटा जातिका नेताहरु मान्छे मार्दा उनीहरु यो देशको सत्तामा जान्छन्। तर थारुहरु शान्तिपूर्ण आन्दोलन गर्दा, जनताले निर्वाचित गर्दा उनीहरु जेलमा बस्‍नु पर्ने बाध्यता छ? कति कुण्ठित मानसिकता ?’

उनले सरकारतर्फ इसारा गर्दै भने, ‘ अब आतंकित र हतोत्साहित शैलीमा होइन हान्छौ भने हान गोली। लगाउँछौ अझै ५० वटा थप झुटा मुद्दा। कति विभेद गर्ने हो । थारुलाई अखण्ड सुदूर पश्‍चिमा लगेर विभाजन गर्ने हो की कर्णालीमा राखेर टुक्र्याक्याउने हो की ? पाँच नम्बर प्रदेशमा राखेर टुक्र्याउने हो की ?’

उनले थारुहरुको सामाजिक, आर्थिक र राजनैतिक एजेण्डालाई यो देशले र देशमा रहेका सत्ताले नस्वीकारेकाले आन्दोलन र संघर्षका कार्यक्रमहरु सार्वजनिक बाध्य भएको जिकिर गरे।

उनले भने, ‘हाम्रा माग र मुद्दाहरुलाई यो देशले र सत्तामा बसेका शासकरुले स्वीकारेन।त्यसकारण हामी बाध्य भयौ आन्दोलनका कार्यक्रमहरु ल्याउन। १० बुँदे हाम्रा माग र मुद्दाहरु फागुन १ गतेभित्र स्वीकारेन भने थारुहरु मसाल बोकेर विशाल जनताका माझबाट आन्दोलन गर्ने उनले चेतावनी दिए।

उनले चेतावनी दिँदै भने, ‘यदि सरकारले यी पाँचवटा कुराहरु सुनेन। केपी ओलीको क्‍याबिनेटले सुनोस् र वार्ताका साथ गम्भीर छलफल गरोस्। दुइ तिहाइको सरकारले निर्णय लियोस्। यो देशको शासकहरुले सुनुन। न्‍याय कहाँ छ ? अधिकार कहाँ छ ? र समानता कहाँ छ ? एउटा समुदायलाई त्रसित बनाएर आतंकित बनाएर, जेलमा कोचेर न्‍याय पच्दैन।अधिकार हराउँदैन। हामी संविधान जस्ताको तस्तै मान्‍न तयार छैनौ। संविधान संशोधन गरियोस्। हामीलाई बाध्‍य नपारियोस् बन्द हडताल गर्न।अब पनि सुनेन भने हामी आन्दोलनमा गयौ-गयौ।अब कसैले पन आन्दोलनलाई रोक्न र दबाउन सक्दैन।’

यस्तै पत्रकार सम्‍मेलनमा कार्यक्रममा आदिवासी जनजातिका महासंघका उपाध्यक्ष गोपाल छन्त्याललले आदिवासी जनजातिको आवाज सरकार र सत्ता पक्षले बलजफ्ती थुन्न खोजेको भन्‍दै अब यस्तो अन्याय नसहने बताए।

उनले विगतका राजनीतिक घटनाक्रमहरुलाई औल्याउँदै भने,’कांग्रेसले २००७ सालमा क्रान्ति गर्दा हतियार उठाउदाँ राजनीतिक हुन, माओवादीले १० वर्षे जनयुद्धमा १७ हजार मानिस मार्ने राजनीतिक कारण हुने र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा मानिसको टाउँको काट्‍दा राजनीतिक कारण भइ देश हाक्न मिल्छ भने थरुहट र आदिवासी थारु नेताहरुल आफ्नो पहिचान र अधिकारको माग गर्दा कसरी अपराधिकरण भयो?’

उनले देशका शासकहरु आदिवासी जनजातिहरुलाई नम्बरले उनीहरुको ऐतिहासिक र धार्मिक अनि चाडपर्वहरुमाथि कटौती गर्दै विभाजन गर्न खोजिएको आरोप लगाए। उनले भने, ‘यसको आक्रमणको सुरुवात सोझा थारुहरुमाथि टीकापर घटनाबाट भएको छ।राज्‍यमा थारुहरुको भूमिकालाई विभाजन गरिएको छ, दबाइएको छ, जुन गलत अभ्यास भएको छ। थारुको राजनीतिक अधिकारलाई टुक्रा टुक्रा बनाएर उसको सबै अधिकामाथि धाबा बोलेको छ। निर्वाचित सांसदलाई थुन्‍ने अनि जघन्‍य अपराधीलाई सभामुख चुन्‍ने ? मन्त्री, पार्टी अध्‍यक्ष र प्रधानमन्त्री चुन्‍ने ? यसपछाडिको नियत के हो ? कुन जातिले कुन जातिमाथि दमन गरेको आभास हुन्छ ? मधेसीमामू झुक्‍ने अनि आदिवासीलाई हेप्ने ?’

यस्तै खम्बुवान राष्ट्रिय मोर्चाका अध्‍यक्ष आरके खम्बुले देशमा चार वर्ण र छतिस जातको फूलबारी अझै भइनसकेको र नहुन्जेलसम्‍म आन्दोलन भइरहने बताए। उनले यसको समस्या सरकारले नसुने ढिलो छिटो देशमा गृहयुद्ध हुने चेतावनी दिए।

उनले भने, ‘निर्वाचित सांसदलाई थुनेको छ। उसको राजनैतिक अधिकारमाथि धावा बोलेको छ। यो के हो ? आवाजलाई दबाएर समस्याको समाधान हुन्छ की अझ गृह युद्धतिर धकेलिन्छ ? थारु नेतालाई थुनेर देशमा राष्ट्रसभाको चुनाव गर्नु गलत हुनेछ। हामी बहिस्कार गर्छौ। ढिलो छिटो देशमा गर्हयुद्ध हुन्छ।’

यस्तै राष्ट्रिय नेवा पार्टीका अध्‍यक्ष डा. विजय सैंजूले थारुहरुको आन्दोलनमा नेवा पार्टीको समर्थन रहने भन्दै नेवारहरुको गुठी विधेयकमाथि दुई तिहाइको सरकारले धावा बोल्दा सडकमा उत्रिनु परेको तितो अनुभव बताए। उनले भने, ‘ हामी त काठमाडौंमै ओली सरकारबाट गुठी विधेयकमा झण्डै फसेको। दुइ तिहाइको सरकार छ जे मनमा आउँछ त्यही गर्छ। उत्तर कोरियाको किम जोङ ऊन जस्तो। यो शैली कहिलेसम्म? सोझामाथिको दमन कहिलेसम्‍म? ‘

यस्तै कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्‍च, खुम्बुवान राष्ट्रिय मोर्चा, नेपाल राष्ट्रिय पार्टी, नेपाल राष्ट्रिय परिषद्, खसान राष्ट्रिय संघर्ष समिति, गमरात, ताम्सालिङ, तमुवान, लिम्बुवान, किराँत, नेवा:, शेर्पा आदि पक्षधर जातीय संघ संस्थाहले ऐक्वबद्धता जनाएको मोर्चाका प्रवक्ता मीनराज चौधरीले पत्रकार सम्‍मेलनमा जानकारी गराएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "२० दिनभित्र रेशम चौधरी लगायत ११ जनाको मुद्दा फि..." A few seconds ago

सम्बन्धित खवर