सिमा मिचिदा जंगे पिलर बोल्न सक्दैन, थारुले बोल्छ, मधेसले बोल्छ – Satabdi News

सिमा मिचिदा जंगे पिलर बोल्न सक्दैन, थारुले बोल्छ, मधेसले बोल्छ

–आङकाजी शेर्पा

नेपालमा आन्दोलन भए, परिवर्तन भए, शासकहरु परिवर्तन भए । तर जनता पत्रकारहरुको जीवनशैली हिजो राणा कालमा जस्तो थियो अहिलेको अवस्था पनि त्यस्तै छ । यहाँ ३४ करोड खर्च गरेर मर्न आटेका प्रधानमन्त्रीलाई उपचारका लागि एयर एम्बुलेन्सबाट अमेरिका पठाइन्छ, भारत पठाइन्छ, त्यो मुलुकमा आज एउटा पत्रकार डिलप्रशाद शर्माको बोनम्यारोको उपचारका लागि खर्च नपाएर उनको निधन भएको छ । म उहाँप्रति श्रदाञ्जली गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछु ।

म भन्न चाहन्छु, नेपालका शासकहरुलाई यो देशको परिवर्तन तिमी र तिम्रो परिवारको लागि मात्र भएको होइन । यो देशको परिवर्तन राष्ट्रका लागि लड्ने पत्रकारको लागि पनि हो, राष्ट्रका लागि लड्ने जनता र कर्मचारीको लागि पनि हो, प्रधानमन्त्रीज्यूले यो कुरा प्रष्ट बुझिदिनुपर्यो । यस्ता पत्रकारहरु जसले देश र राष्ट्रको पक्षमा कलम चलाउँछन्, उनीहरु उपचार नपाइकन मर्नु, त्यो पनि २३ वर्षको अल्पआयुमा, यो दुखद् कुरा हो । हाम्रो लागि तपाईहरुभन्दा यो पत्रकारहरु बाच्नु महत्वपूर्ण छ ।

पुण्य गौतमजी कम्युनिष्ट पार्टीका जुझारु नेता हुनुहुन्छ । मैले उहाँलाई पटकपटक शुभकामना दिने गरेको छु कि अब तपाई कम्युनिष्ट पार्टीको अध्यक्ष बन्नुहोस् । तर उहाँको शैली, राजाप्रतिको मोहले के देखाउँछ भने उहाँ कम्युनिष्ट पार्टीभित्रको मोहनचन्द्र अधिकारी, केशरजंग रायमाझी, आरके मैनाली हुने पक्षमा जाँदैहुनुहुन्छ । यति भन्दा बढी पुण्य गौतमलाई मैले खोकिराख्नु छैन ।

नेकपाका विद्यार्थीहरु कार्यकर्ताहरुको दुरुपयोग भइरहेको छ । तपाई आफ्नाे नेताको अनुहार जोगाउन भारतीय एम्बेसीको अगाडि उभिएर के हुन्छ ?

उहाँ पिएचडी भन्नुहुन्छ । मैले दुई तिनवटा अन्तरर्वातामा देखेँ । उहाँले त उहिलेउहिले हामीलाई १४ अञ्चल ७५ जिल्लाको नाम नआउदाखेरि कुन्नि के के रामेगदौरामे भनेर १४ अञ्चलको नाम आएजस्तै उहाँको प्रत्येक मन्तव्य नै घोकेर आएजस्तो फररर श्रृंखलावद्ध ढंगले एउटा आकार उकार पनि परिवर्तन नगरीकन भन्नुहुन्छ । घोकेरै भन्नुहुन्छ कि जस्तो मलाई लाग्यो ।

अब नेपालको सिमा मिचेको सन्दर्भमा म विनंम्र अनुरोध गर्न चाहन्छु कि नेपालका राणाकालमा त्यस बखतका राजा महाराजा, त्यसपछि पञ्चालयकालका शाहवंशीय राजा, त्यसपछि बहुदलीय व्यवस्थाका शासकहरुले नेपालका भूमि, नेपालका नदी, नेपालका वन जंगलले भएन, नेपालको देश निर्माण गर्ने जुझारु युवाहरु नेपालका युवतीहरुलाई भारतलाई रिझाएर आफ्नाे शासन सत्ता टिकाउन विभिन्न सन्धि गरेको परिणाम आज हामीले लिपुलेक, कोशी, तपाई कोशी नेपालमा छ भन्नुहुन्छ, त्यहाँको गेट बन्द गर्ने, त्यहाँको पानीको बहाब कन्ट्रोल गर्ने, त्यहाँको सुरक्षा कसले दिइरहेको छ ? भारतले दिइरहेको छ ।

नेपालको भूमिभित्र भारतको सेना तैनाथ गरेर हाम्रो विरुद्धमा ती विकासहरु भइरहेको छ । त्यसकारण, यस्तो अवस्थामा हामीले ती हाम्रा जमिन कब्जा गर्ने भारत र चीनविरुद्ध किन बोल्न सक्दैनौ । भारतको सीमा खुल्ला छ, हामी सबै जान सक्छौ । त्यसतर्फ हाम्रो ध्यान केन्द्रित छ । तर, चीनले पनि हाम्रो सिमा मिचेको छ । मलाई हाम्रा आरोहीहरुले भन्ने गर्नुहुन्थ्यो, चोयो हिमाल पहिले चढ्दा हाम्रै नेपालको भूमिबाट चढ्न सक्थ्यौ, अहिले त्यही हिमाल हामीले चढ्नु पर्दा चीनको अनुमति लिएर चीनको भूमिबाट चढ्नुपर्छ ।

सिन्धुपाल्चोकको लामा बगरमा हाम्रा धेरै सिमा मिचिएका छन् । के नेपालमा कम्युनिष्ट सरकार भयो भन्दैमा कम्युनिष्ट चीनको खेदो नखन्ने, अनि भारतको मात्र खेदो खन्नु, त्यो हाम्रो परराष्ट्र नीति हुन्छ ? हुन सक्दैन । त्यसकारण, सबै दलहरुले सहमति गरेर नेपालको स्पष्ट परराष्ट्र नीति अपनाउनुपर्छ ।

म पाँच कक्षाको विद्यार्थी हुँदा गाउँथ्यौ, गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, पूर्वमा टिस्टा पुगेथ्यौ पश्चिममा किल्ला कागडा । यो गीत त्यसै आएको हो ? कुनै पनि हालतमा हैन । त्यो टिस्टा कहाँ छ ? त्यो कागडा कहाँ छ ? त्यो ग्रेटर नेपालको नक्सा टुक्राएर बेच्ने को थिए ? जनजाति थिए ? मधेसी थिए ? ती सबै पहाडे नश्लवादी शासकहरु थिए । २५० वर्ष यो देशलाई सन्धि गरेर आफ्नाे सत्ता टिकाउन भारत र चीनलाई आफ्नाे भूमि बेच्ने ती नश्लवादी शासकहरुलाई अब रुखमा झुण्ड्याएर दण्ड दिनुपर्छ ।

भारतको एम्बेसीको अगाडि चीनको एम्बेसीको अगाडि धर्ना दिएर केही हुनेवाला छैन पुण्य गौतमजी । तपाईको राष्ट्रभक्त प्रधानमन्त्री केपी ओली किन बोल्दैनन् ? रहस्य छ नि यसको पछाडि । त्यो रहस्य खोल्न सक्नुहुन्न तपाईँ ?
आज म खुलाईदिन्छु तपाईलाई । केपीको अस्वस्थमा, भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाउला भन्ने ठूलो त्रास थियो केपीलाई । केपी पार्टीको दबाबमा प्रधानमन्त्रीको पद त्याग्न खोज्दा पनि भारतले तिमी होइन प्रचण्ड प्रधानमन्त्री हुने सर्तमा तिमीले राजीनामा दिनुहुन्न, प्रचण्डबाहेक अरु कुनै विकल्प एमालेबाट आउँछ, तिमीले पद छोड्दा हुन्छ होइन भने प्रचण्ड प्रधानमन्त्री हुने सर्तमा तिमीले यो पद छोड्न हुन्न भनेपछि प्रचण्ड गर्जिए भारतविरुद्धमा । भारत विस्तारवाद मुर्दावाद भन्नेसम्मको भाषण दिन भ्याए प्रचण्डले ।

त्यही कम्युनिष्ट पार्टीको अर्को अध्यक्ष केपी ओली किन मौन छ ? पानीमाथिको ओभानो हुने, सबै दलका नेताहरु भारतको विरुद्धमा विष बमन गरेर आफूचाहिँ चुप लागेर बस्ने ? के को लागि ? उही प्रधानमन्त्रीको सत्ता जोगाउन त हो नि । विगतको शासकले जे गरे केपी ओली पनि त्यही गरे ।

अहिले नेकपाका विद्यार्थीहरु कार्यकर्ताहरुको दुरुपयोग भइरहेको छ । तपाई आफ्नाे नेताको अनुहार जोगाउन भारतीय एम्बेसीको अगाडि उभिएर के हुन्छ ? चाइनिज एम्बेसीको अगाडि उभिएर के हुन्छ ? तागत छ भने अब नेपालको सीमाहरु सिमेन्ट र डन्डाले बनाएको जंगे पिलरले त्यसको रक्षा गर्न सक्दैन । महेन्द्रले नामाकरण गरेका नदी र हिमालका नामका अञ्चल र सिमानाले हाम्रो देशको रक्षा हुन सक्दैन ।

साचो अर्थमा नेपालको सीमा रक्षा गर्ने हो भने पश्चिम जहाँ अहिले भारतले हाम्रो सीमा मिचेको छ, त्यहाँका आदिवासी जनजाति भनेको व्यासी, सौका र भोटे हुन् । नेपाली सेनामा उनीहरुको गुल्म खडा गर्नुपर्यो, सैनिक तालिम दिनुपर्यो, हतियार दिनुपर्यो, ती भारतीय सेनासँग उनीहरु लड्न सक्छन् ।

दक्षिणमा थारु र मधेसको गुल्म खडा गर्नुपर्यो, त्यहाँ उनीहरुलाई हतियार उपलब्ध गर्नुपर्यो । त्यो जंगे पिलरले केही बोल्न सक्दैन । भारतले हाम्रो एक फिट जमिन मिच्छ भने थारुले बोल्छ, मधेसले बोल्छ ।
पूर्वमा मेची नदीले सिमा सुरक्षा गर्ने भए दार्जिलिङ किन भारतमा गयो ? किन किल्ला कागडा भारतमा पसे । त्यसकारण म भन्छु पूर्वमा पनि लिम्बुवान र किरातीहरुको नेपाली सेनामा छुटै गुल्म खडा गरेर तत्काल गुरिल्ला तालिम दिएर सिमा रक्षाका लागि उनीहरुलाई तैनाथ गर्नुपर्छ ।

नेपाली सेनाको राजामहाराजा, नेताका छोराछोरी जन्मदा सलामी दिने, बाचुञ्जेल गुलामी गर्ने, अनि मरेपछि मलामी जाने, राष्ट्रपति विद्या भण्डारी र ज्ञानेन्द्रको चप्पल बोक्ने काम होइन । स्व रविन्द्र अधिकारीलाई छाता ओढाउने, प्रचण्डलाई छाटा ओढाउने काम होइन । हातमा बन्दुक लिएर सीमा रक्षाका लागि तैनाथ गर्नुपर्यो । भारत र चीनले तैनाथ गर्ने ठाउँमा नेपालले आफ्नाे सेना किन तैनाथ गर्न सक्दैन ? यो नेपाली जनताको ठूलो प्रश्न छ ।

(बिहीबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा शेर्पाको मन्तव्यको छोटो अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सिमा मिचिदा जंगे पिलर बोल्न सक्दैन, थारुले बोल्..." A few seconds ago

सम्बन्धित खवर