काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे आफुहरु आन्दोलनमा जाने बताएका छन् ।
धनगढीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जसपा पार्टीका वरिष्ठ नेता महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताएका हुन् ।
कार्यक्रममा महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन। रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन।’
टीकापुर घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् । घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।
निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए। अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ। हाल उनी डिल्लीबजार कारागारमा छन्। जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ समेत खुवाइएको थियो।