रुपन्देही। रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि गएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलमाथि स्थानीयले आक्रमण गरेका छन्। स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहीवार देखि नै विरोध प्रदर्शन गर्दै आएका छन्।
बलियो सुरक्षा घेरामा आज शिलान्यास कार्यक्रम सम्पन्न गरेपछि मञ्चमा अर्थमन्त्री पौडेलले मन्तव्य दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका हुन्।
विरोध गर्दै आएका स्थानीयले मञ्चतर्फ ढुंगा हान्न थालेपछि मञ्चकातर्फ रहेकाले पनि प्रतिकार गरेको र त्यसपछि वातावरण झन् विथोलिएपछि भर्खर मन्तव्य दिन सुरु गरेका अर्थमन्त्री पौडेल मञ्च छाडेर हिँडेको प्रहरीले जनाएको छ। स्थानीयवासीले आफूहरुको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको र आफूहरुलाई मुआब्जा दिनेबारे कुनै पनि चासो नराखिएको गुनासो गरेका छन्।



