मिडियालाई दिएको राहतको विरोध गर्ने सांसद विरुद्ध पत्रकारहरुको आपत्ति – Satabdi News

मिडियालाई दिएको राहतको विरोध गर्ने सांसद विरुद्ध पत्रकारहरुको आपत्ति

 विराटनगर । प्रदेश सरकारले सञ्चारमाध्यमलाई दिएको लोककल्याणकारी विज्ञापनको विरोध गर्ने सांसद केदार कार्की विरुद्ध पत्रकारहरुले आपत्ति जनाएका छन् ।
सांसद कार्कीलाई आफ्नो सांसद विकास कोषको रकम पारदर्शी गर्न समेत चेतावनी दिइएको छ । प्रदेश सरकारले नेपाल पत्रकार महासँघ प्रदेश समिति मार्फत यहाँका सवै सञ्चारमाध्यमबाट सूचनामूलक सन्देशहरु प्रशारण र प्रकाशन गरेको छ ।
मंगलबार अनलाईन मिडिया समूह प्रदेश नं. १ ले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका प्रदेश सभा सांसद केदार कार्कीले गलत प्रचार गरेको भन्दै अभिव्यक्तिको निन्दा गरेको छ । लकडाउनको समयमा सबैभन्दा प्रभाबकारी माध्यम अनलाईन पत्रकारिता देखिएको प्रेस काउन्सिल नेपालले हालै गरेको सर्वेक्षणबाट पनि स्पष्ट भएको उल्लेख गर्दै समूहले सवै क्षेत्रलाई सरकारले राहत उपलब्ध गराएको अवस्थामा विज्ञापन प्रशारण गरेवापत पाएको भुक्तानीको विरोध गर्नु दुःखद भएको जनाएको छ ।
‘गलत प्रचार गर्ने सांसदले आफ्नो सांसदकोषको रकम पाारदर्शी रुपमा सार्वजनिक गर्न चुनौति दिन चाहान्छौं’ समूहका अध्यक्ष तेजेन्द्र भण्डारी र सचिव पुष्पराज थपलीयाद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । समूहले कार्कीको अभिव्यक्तिप्रति पार्टीको धारणा समेत सार्वजनिक गर्न माग गरेको छ । यसैबीच नेपाल पत्रकार महासंघ १ नंं प्रदेश समितिले पनि विज्ञप्ति जारी गर्दै स्वरोजगारमुलक मिडियाको संरक्षण र सम्बद्र्धन गर्न माग गरेको छ । सरकारले महासंघमार्फत दिएको कोरोना सचेतना सन्देशको विषयमा गलत प्रचारबाजी भएको भन्दै दुःख व्यक्त गरेको छ । यस्ता गलत प्रचारले सञ्चारकर्मी र सञ्चार माध्यमलाई अपमान गर्ने प्रयास भएको भन्दै महासंघले प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषको कार्यबिधि अनुसार प्राप्त रकम तोकिएको मापदण्ड अनुसार पारदर्शी रुपमा वितरण गरिएको जनाएको छ ।
कोरोना भाइरसबाट जोगिने उपायबारेको सन्देश प्रकाशन र प्रशारण गर्नेगरी १ नंं प्रदेश सरकारले नेपाल पत्रकार महासंघ १ नंं. प्रदेश समितिमार्फत रकम उपलब्ध गराएको छ । उक्त रकम प्रदेशका १ सय १६ सञ्चार माध्यमलाई वितरण गरिसकिएको र अन्यलाई वितरण गर्ने प्रक्रियामा पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेलले जानकारी दिनुभयो । महासंघले सरकारसँग पत्रकार र सञ्चार माध्यमका लागि राहत प्याकेज, सञ्चार साधन खरिद र विद्युत महशुलमा छुट, समानुपातिक विज्ञापन वितरण, स्थानीय विज्ञापन स्थानीय सञ्चार माध्यममा वितरण, श्रमजीवी पत्रकारको पेशागत र भौतिक सुरक्षा एवं वृत्ति विकाससहित पत्रकार महासंघको संस्थागत सबलिकरणमा सहयोग गर्न समेत सरकारलाई आग्रह गरेको छ । यसैबिच प्रेस संगठन नेपाल प्रदेश समितिले समेत विज्ञप्ति जारी गर्दै कारोनाको कहरका बेला सचेतना सन्देश उपलब्ध गराएर संकटका बेला थोरै भएपनि प्रदेश सरकारले राहत उपलब्ध गराएको उल्लेख गरेको छ । तोकिएको मापदण्ड अनुशार नेपाल पत्रकार महासँघ प्रदेश समितिले पारदर्शी रुपमा वितरण गरिरहेका बेला उत्पन्न विवाद अनावश्यक रहेको जनाएको छ । संगठनका प्रदेश संयोजक राजन केडि र सहसंयोजक गोपाल पोखरेलद्धारा हस्ताक्षरित विज्ञप्तिमा यस विषयमा भ्रम छर्ने र गलत प्रचार गर्ने नेपाली कांग्रेसका सांसद केदार कार्कीले संसदमा दिएको अभिब्यक्ति आपत्तिजनक रहेको उल्लेख छ । संगठनले सरकारको काममा आलोचना गर्ने विषय नपाएपछि सरकार र मिडियामाथि अनर्गल आरोप लगाएको विज्ञप्तिमा जनाइएको छ । संकटको बेला आफ्नो भूमिका निर्वाह गरिरहेका सञ्चारकर्मी र सञ्चारमाध्यमलाई हेर्ने नेपाली कांग्रेसको दृष्टिकोणमाथि पनि संगठनले  प्रश्न उठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "मिडियालाई दिएको राहतको विरोध गर्ने सांसद विरुद्..." A few seconds ago

सम्बन्धित खवर