
२५ भाद्र, काठमाडौं । सरकारले मिर्गौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार प्रदान गर्ने भएको छ ।
शुक्रबार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसादरुहरुको नाराबाजीका बीच संसदमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर तथा मेरुदण्ड पक्षघात भएका बिरामीहरुलाई औषधि उपचार बापत् मासिक ५ हजार भत्ता दिने व्यवस्था मिलाइएको बताएका हुन् ।
यसअघि सरकारले ल्याएको बजेटको आकार घटाएको जानकारी दिदैं बचेको रकम कोभिड खोप खरिदमा खर्च गरिने समेत उल्लेख गरिएको छ । अर्थमन्त्री शर्माले पूर्ववति सरकारले ल्याएको अध्यादेश बजेटमा समावेश गरिएको कर्मचारी अनुगमन वैठक भत्ता, भ्रमण लगायतका विविध खर्च न्यूनतम १० प्रतिशत रकम कटौती गरिएको जानकारी दिए ।
शर्माले कटौती गरि बचेको ५ अर्ब रकम खोप खरिदमा प्रयोग गरिने बताउँदै खोपका लागि स्रोतको कमी हुन नदिने स्पष्ट पारेका छन् । सरकारले कोरोना खोपका लागि वैदेशिक तथा आन्तरिक स्रोतको सुनिश्चित गर्ने भएको छ ।



