१९ असार, काठमाडौ । डायलासिसका लागि आउजाउ गर्न समस्या भएपछि बढैयाताल गाउँपालिका–२, फुटाहा, बर्दियाका १७ वर्षीय मिर्गौला पीडित राजु परियारले भेरी अस्पताल जनरल वार्ड भवनको च्यानल गेटको प्यासेजलाई आफ्नो वासस्थान बनाएका छन् । झन्डै दुई महिनादेखि सोही ठाउँमा डेरा जमाएर बसेको उनकी आमा मखमली दर्जीले बताइन् ।
उनी एक्लै त्यहाँ बस्दैनन् उनको साथमा आमा मखमली र १४ वर्षीय बहिनी पनि साथमै बस्छन् । ‘बर्दियाबाट डायलासिसका लागि आउजाउ गर्न आर्थिक समस्या भएपछि भेरी अस्पतालको च्यानल गेटलाई डेराको रूपमा प्रयोग गर्न बाध्य भयौँ,’ मखमलीले भनिन् ।
उनीसँग भएको ५ कट्ठा जमिन पनि बैङ्कमा छ । उपचारका लागि साहु र इष्टमित्र सँग लिएको रकम बुझाउन बैङ्कबाट पाँच लाख रुपैयाँ लिएको उनको भनाई छ । बैङ्कको ऋण तिर्न उनका पति कतार पुगेका छन् । उहाँ (पति) ले पठाएको रुपैयाँ बैङ्कको साँवा र ब्याज बुझाउन ठिक्क हुन्छ । छोराको उपचार गर्न र छोराछोरीलाई खानलाउन के ले दिने हो,’ उनले भनिन् ।
नेपालगन्ज बस्न थालेपछि खान, बस्न झनै समस्या भएको उनले बताइन् । केही समयसम्म भेरी अस्पतालले बिरामीलाई प्रदान गर्ने खाना खाए पनि सधैँ खाँदा असजिलो महसुस भएको उनले बताइन् । मागेर खान लाज लागेपछि भेरी अस्पतालमा सञ्चालित अञ्जनी माता रसोईमा सहयोगीको रूपमा काम गर्न थालेको उनको भनाई छ । दिनभर काम गरे बापत अञ्जनी माता रसोईले उनलाई दैनिक पाँच सय रुपैयाँ पारिश्रमिक दिने गरेको छ । ‘छोराको उपचारको क्रममा भएभरको सम्पत्ति सकिएपछि हामीसँग अस्पतालमा शरण लिनुको विकल्प भएन,’ उनले भनिन् ।
साभारः थाहा अनलाइन



