१८, असार सिन्धुली । नेपाली सेनाको लगानीमा निर्माणाधिन सिन्धुलीगढी युद्ध संग्राहलयमा राख्नका लागि सिन्धुलीगढीको युद्ध झल्कने मिथिला चित्र नेपाली सेनालाई उपलब्ध गराईएको छ । जनकपुर उपमहानगरपालिका– ४ का वडा अध्यक्ष सुदर्शन सिहले ९ नं. बाहिनी अड्डाका बाहिनीपति शिशिर चन्द्र केसीलाई उक्त चित्र सिन्धुलीगढी पुगेर हस्तान्तरण गरेका हुन ।
उक्त मिथिला चित्र ७ फिट लम्बाई र ३ दशमलब ५ फिट चौडाई रहेको कपडामा बनाईएको छ । सिंहले आफ्नो कलामा मधेसीले सिन्धुलीगढी युद्धमा गरेको योगदानलाई जीवन्त उतारेका छन् ।
सिंहको आर्टमा १८२४ सम्बतको सिन्धुलीगढी युद्धका दुर्लभ सन्दर्भहरु झल्किएको छ । सिन्धुलीगढी युद्धमा जनकपुरका मधेसी अगुवाहरु दानदेव चौधरी, गोपालदास, गुलाव रायहरुले गोर्खाली राजा पृथ्वीनारायण शाहसँग मिलेर जनकपुरमा खाध्यान्न पाईन्छ भनेर निर्धक्क आएका इष्ट इन्डिया कम्पनीका सेनालाई खाद्यान्न नदिएर भोकभोकै पारेर सिन्धुलीगढीको युद्धमा धकेलेका थिए ।



