१६ असार, काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले राजीनामा दिनु पर्ने माग गरिएको छ । बुधबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता जगत विश्वकर्माले मन्त्री श्रेष्ठको राजीनामा माग गरेका हुन् ।
उनले रुपा सुनार प्रकरणमा गल्ती गरेको र जातीय विभेदलाई प्रश्रय दिने काम गरेकाले आत्मआलोचनासहित राजीनामा दिनुपर्ने माग गरेका छन् । विश्वकर्माले मन्त्रीका रूपमा पनि श्रेष्ठ सबैको अभिभावक बन्न नसकेकाले उहाँले राजीनामा दिनुको विकल्प नभएको बताए ।
एमालेका केन्द्रिय सदस्य समेत रहेका विश्वकर्माले यस्तो गलत काम गर्ने मन्त्री श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरेका छन् ।
जवाफमा प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठको व्यवहार शोभनीय नभएको बताएका थिए। बैठकमा प्रधानमन्त्री ओलीले श्रेष्ठले आफूसँग भावनामा बगेर कमजोरी भएको स्वीकारेको र भविष्यमा यस्तो नगर्ने बताएको जानकारी दिएका छन् ।
बैठकमा सहभागी अर्का नेता बमबहादुर विश्वकर्माले पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने बताएका थिए।
मन्त्री श्रेष्ठले जातकै आधारमा कोठा भाडामा नदिएको भन्दै रुपा सुनारले दिएको उजुरीको आधारमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई प्रहरी चौकीबाट छुटाएर आफ्नै गाडीमा राखेर घर छोडिदिएका थिए । यो विषय अघिले निकै नै विवादीत भइरहेको छ ।