दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘कबड्डी ४’, शुक्रबार देखि देशभर प्रदर्शन – Satabdi News

दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘कबड्डी ४’, शुक्रबार देखि देशभर प्रदर्शन

१४ जेठ, काठमाडौं | यस वर्षको सर्वाधिक प्रतिक्षीत फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ शुक्रवारबाट सिनेमा हलमा प्रदर्शनमा आएको छ । प्रदर्शनमा उत्रिएसँगै फिल्मले शुक्रवार बिहानैदेखि देशभरका मल्टीप्लेक्स र सिंगल थिएटरमा हाउसफुलको व्यापार गरिरहेको जानकारी प्राप्त छ । काठमाडौंका मल्टीप्लेक्सहरुमा फिल्मले पाएको प्रायः शो प्रदर्शन अगावै एड्भान्स बुकिङमा हाउसफुल भइसकेका थिए ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि फिल्मलाई एक सय शो दिएको छ । त्यसमध्ये केही शो बिहीवार नै सोल्डआउट भइसकेका थिए । शनिवारका लागि पनि क्यूएफएक्सले फिल्मलाई १ सय २ शो दिएको छ । क्यूएफएक्समा शनिवारसम्म फिल्मको टिकट लगभग विक्री भइसकेको छ । अन्य मल्टीप्लेक्सहरुमा पनि फिल्मको टिकट अभाव देखिएको छ | ‘कबड्डी ४’ले तीन वर्षयताकै सबैभन्दा ठूलो ओपनिङ गर्ने निश्चित छ । मल्टीप्लेक्सहरुमा पाएको भरमार शो र आक्रामक बुकिङ हेर्दा फिल्मले पहिलो दिन नै २ करोडको आँकडा छुने अनुमान गरिएको छ । शनिवार सार्वजनिक विदा भएकाले दोस्रो दिन फिल्मले बक्सअफिसमा थप उछाल ल्याउने देखिन्छ । फिल्मले तीन दिनमा ६ करोडमाथिको कमाई गर्ने वितरकको विश्वास छ ।

प्रदर्शनको अघिल्लो दिन बिहीवार काठमाडौंको बिग मुभिजमा भएको प्रिमियरमा फिल्मले राम्रो प्रतिक्रिया बटुलेको थियो । तीनवटै हल बुक गरेर आयोजना गरिएको प्रिमियरमा उपस्थित भएका फिल्मकर्मी, राजनीतिज्ञ, व्यापार सबैले फिल्मको प्रशंसामा शब्द खर्चिएका थिए । अघिल्ला तीन सिरिजमा केटी भागेर बिहे गर्न नपाएका वीरकाजीको बिहेको गोलचक्करमै फिल्म घुमेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, कमलमणी नेपाललगायतको अभिनय रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । ‘कबड्डी ४’लाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "दयाहाङ राईको प्रतिक्षित चलचित्र ‘कबड्डी ४’, शुक..." A few seconds ago

सम्बन्धित खवर