२७ भाद्र, काठमाडौं । प्रतिनिधिसभाको आज (आइतबार) को बैठक सुरू हुनासाथ एमाले सांसदको नाराबाजी गर्दै अवरोध सृजना गरेका छन् ।
आइतबारको बैठकमा राष्ट्रिय गान बजेपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ भन्नेबित्तिकै एमाले सांसदहरू आफ्नो स्थानबाट उठेर रोस्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् ।
यसअघि दुई दिनका बैठकमा नाराबाजी गरेका एमाले सांसदहरूले जारी बैठकमा पनि अवरोध सृजना गरेका हुन् ।
नाराबाजीमा एमाले संसदीय दलका नेता केपी ओली पनि सहभागी छन् । यसअघि दुई दिनको बैठकमा भएको नाराबाजीका बेला ओली आफ्नै स्थानमा बसेका थिए । तर, आइतबार भइरहेको नाराबाजीमा ओली पनि रोस्ट्रम अगाडि उभिएर सहभागी भएका छन् ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।
लगातार तीन दिन प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेर अवरोध सृजना गरेपछि समस्या समाधानका लागि सभामुख सापकोटाले संवादमा आउन आग्रह गरेका हुन् ।
तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका हुन् ।
उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।