२५ भाद्र, काठमाडौं । नेकपा एमालेकी सांसद रेखा झाले माइकले हानेर सभामुख अग्नि सापकोटाको टाउको फुटाउन खोजेको बताएकी छन् ।
आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिनेक्रममा सांसद झाले सभामुखलाई हान्न माइक तानेको बताएका हुन् ।
सांसद झाले भनिन् “संसदको एउटा मर्यादा हुन्छ, उहाँले पदीय मर्यादा राख्न सक्नु भएन । हामीले त्यसको शसक्त विरोध गर्न जे पायो त्यसले टाउको फुटाउने षडयन्त्र थियो, फुटाइदिन्थ्यौं”
एउटा प्रतिपक्ष दलले विरोेध गर्दैगर्दा संसद चल्न सक्छ ? भन्ने प्रश्न गर्दै सांसद झाले एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै सभामुखको भूमिकामाथि प्रश्न गरिन् ।
अर्थमन्त्री जनार्दन शर्माले यसअघि केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै विधेयक ल्याएका हुन् ।
शर्माले विधेयक पढिरहँदा उनले गृहमन्त्री बालकृष्ण खाँणको टेबुलको माइक झिकेर रोस्ट्रमतर्फ हान्न खोजेकी उनलाई त्यहाँ खटिएका मर्यादापालकले रोकेका थिए ।
उनी रौतहटकी समानुपातिक सांसद हुन् ।