वीपी प्रतिष्ठानको सबै सेवाहरु सुचारु गर्न मेयर राईको आग्रह – Satabdi News

वीपी प्रतिष्ठानको सबै सेवाहरु सुचारु गर्न मेयर राईको आग्रह

२३ भाद्र, धरान । धरान उपमहानगरपालिकाका मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै सेवा सुचारु गर्न आग्रह गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै मेयर राईले सोमबार भएको तोडफोडप्रति धरान उपमहानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै प्रतिष्ठानको सबै सेवा सुचारु गर्न आग्रह गरेका हुन् ।

मेयर राईले ‘संवादबाट मात्रै समाधान सम्भव छ’ भन्ने अभिप्रायलाई स्मरण गर्दै सम्पूर्ण सरोकारवाला पक्षहरुलाई संयमता अपनाउन अनुरोध गरेका छन् ।

उपमहानगरपालिकाको अगुवाईमा राजनीतिक दल र वीपी शुद्धिकरण संघर्ष समितिसंग समस्या समाधानका लागि विभिन्न चरणमा छलफल समेत गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण एशियाकै प्रतिष्ठित अस्पतालका रुपमा स्थापित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनियमितता, बेथिति र विसंगतिका विरुद्ध सम्पूर्ण धरानवासीहरु एकजुट भएका छन् । विगत ८५ औं दिनदेखि प्रतिष्ठानको शुद्धिकरणका लागि चिकित्सकहरु लगायतद्वारा आन्दोलन समेत भईरहेको अवस्था छ ।

वीपी प्रतिष्ठान धरानबासीहरु मात्र नभई छिमेकी राष्ट्र भारतको विहार तथा प्रदेश १ र प्रदेश २ का जनताहरुको स्वास्थ्य समस्याको समाधानको आधारस्तम्भ समेत बनेको उल्लेख गर्दै मेयर राईले यस्तो महत्वपूर्ण संस्थाको रुपमा रहेको प्रतिष्ठानका सबै सेवाहरु सुचारु गर्न पनि आन्दोलनकारीहरुलाई आग्रह गरेका छन् ।

मेयर राईले प्रेस विज्ञप्तिमार्फत भनेका छन् ‘यहाँहरुको संयमित आन्दोलनका लागि धरान उपमहानगरपालिका सदैव साथ रहने समेत विश्वस्त दिलाउन चाहन्छौं ।’

वीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।

काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले सोमबार दिउँसो प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "वीपी प्रतिष्ठानको सबै सेवाहरु सुचारु गर्न मेयर ..." A few seconds ago

सम्बन्धित खवर