काठमाडौँ । कोरोनाका कारण स्थगित १२ औं राष्ट्रिय जनगणना कार्तिक २५ गते देखि सुरु हुने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय तथ्यांक विभागले तयार पारेको जनगणना तालिका स्वीकृत गरेसँगै कार्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ राष्ट्रिय जनगणना हुने भएको हो ।
विभागले जनगणना कार्यमा खटाउन यसअघि नै अनलाइनबाट सुपरिवेक्षक र गणकको आवेदन लिइसकेको छ । यसअघि छनोट गरिएका ८ हजार सुपरिवेक्षकलाई पुनः नियुक्ति गर्ने र लगत्तै भदौ २७ र २८ गते केन्द्रीय स्तरमा तालिम दिइनेछ । तालिमपछि सुपरिवेक्षकलाई २० दिनसम्म घरपरिवार सूचिकरणमा खटाइनेछ ।
असोजभित्र ३९ हजार गणक छनोट गरी कार्तिक १३ गतेबाट चारदिने तालिम दिइनेछ । जनगणना कार्यको पहिलो चरणमा प्रत्येक घरमा एक जना सुपरिवेक्षक खटिने र घरमुलीलाई भेटेर उनीहरुले विवरण लिनेछन् । त्यसैगरी दोस्रो चरणमा गणकले घरमुलीलाई भेटेर विवरण भर्ने छन् ।
जनगणना कार्यमा खटिने जनशक्तिलाई अग्रिम कोभिडविरुद्ध खोपको व्यवस्था गरिने भएको छ ।
यसअघि जेठ २५ गतेबाट असार ८ गतेभित्र मिति तोकिएको थियो तर वैशाख १६ गतेबाट लकडाउन भएपछि मन्त्रिपरिषद्ले स्थगित गर्ने निर्णय गरेको थियो । यो जनगणना संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछिको पहिलो जनगणना भएकाले वडास्तरको तथ्यांक लिइने जनाइएको छ ।
यो पटक ‘मेरो जनगणना, मेरो सहभागी’ नारा रहेको छ ।