२१ भाद्र, धरान । धरानस्थित बीपी प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा राजनीतिक दल सम्बद्ध कार्यकर्ताले तोडफोड गरेका छन् ।
काम बन्द गरेर चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको विरोधमा लिम्बुवान, एमाले र राप्रपा सम्बद्ध युवाहरुले सोमबार दिउँसो प्रदर्शन गर्दै उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् ।
वीपी प्रतिष्ठानमा सुधारको माग गर्दै आइतबारदेखि चिकित्सकहरुले आकस्मिक बाहेकका काम छाडेका छन् । सरकारले सहमति पालनामा चासो नदिएको भन्दै प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी आन्दोलनमा छन् ।
प्रदर्शनकारीले आन्दोलनरत चिकित्सकहरुले लगाएको ताला समेत फोडेका छन् । केही समय प्रदर्शन भएपछि अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।