२९ साउन २०७८, शुक्रबार। जनता समाजवादी पार्टीको महिला संगठन समाजवादी महिला महिला संघले पार्टीको हरेक तहको समिति तथा निकायहरुमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न पार्टीका नेताहरुसँग माग गरेको छ ।

शुक्रबार समाजवादी महिला संघका पदाधिकारी तथा महिला नेत्रीहरुको टोलीले पार्टीका वरिष्ठ नेता अशोक राईलाई भेटेर पार्टीको हरेक संरचनामा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व गराउन ध्यानाकर्षण पत्र बुझाएका छन् ।

समाजवादी महिला संघकी अध्यक्ष निर्मला यादवले पार्टी सरकारमा सहभागी हुँदा पनि महिलाहरुको ३३ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने बताइन् ।

उनले पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेटेर ध्यानाकर्षण गराइने बताइन् ।

जसपामा महिला सहभागिता

समाजवादी महिला संघकाे ध्यानाकर्षण पत्र अनुसार जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा हाल सात जना मात्र महिला छन् ।

उक्त समितिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व पुग्न ११ जना महिला हुनुपर्ने छ ।

तर हाल जसपाबाट महन्थ ठाकुर र राजेन्द्र महतो समूह अलग भएपछि कार्यकारिणी समितिको संख्या ३५ कायम भएको छ ।

यसैगरी जसपाको ८०० सदस्यीय केन्द्रीय समितिमा हाल ८३ जना मात्र महिला छन् । उक्त समितिमा ३३ प्रतिशत महिला पुग्नका लागि समितिमा २६४ जना महिला हुनुपर्ने थियो ।

महिला संघले अब निर्माण हुने पार्टी समिति वा विभागहरुमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने माग राखेको छ ।