सेयर बजारमा चर्चित ६ लगानीकर्ता, उनीहरुको सफलताको रहस्य के हो ? – Satabdi News

सेयर बजारमा चर्चित ६ लगानीकर्ता, उनीहरुको सफलताको रहस्य के हो ?

२६,असार काठमाडौं । विश्वका सफल लगानीकर्ताहरुको लगानी सम्बन्धी आ–आफ्नै सिद्धान्तहरु रहेका छन् । सबैको सर्वमान्य सिद्धान्त अहिलेसम्म फेला पार्न सकिएको छैन । यद्दपि, बजारबाट पैसा कमाउन नियमहरुको परिधिमा रही बनाइएको स्थिर रणनीतिबाट मात्र सम्भव छ भन्ने विषयमा भने प्रायः लगानीकर्ताहरुबीच दुईमत छैन । अधिकांश व्यक्ति लगानीको क्षेत्रमा न्यून ज्ञानबाटै प्रवेश गरेका हुन्छन् ।

सुरुमा कसरी लगानी गर्ने वा कस्तो रणनीति बनाउने भन्ने विषयमा ज्ञान तथा अनुभवको कमी नै हुन्छ । बजारमा कुन समयमा प्रवेश गर्ने तथा कुन समयमा बाहिरिने भन्ने पनि थाहा हुँदैन । तसर्थ, आफ्नो क्षमता र अवस्था अनुसार लगानी रणनीति बनाउन निकै महत्वपूर्ण मानिन्छ ।

आफू स्वयंले लगानी रणनीति बनाउन सकिएन भने अनुभवी तथा सफल लगानीकर्तालाई अनुसरण गर्न सकिन्छ । यसैलाई मध्यनजर गरी यहाँ ६ जना सफल लगानीकर्ताको लगानी रणनीतिलाई संक्षेपमा चर्चा गरिएको छ । किनभने नियम र रणनीति बनाएर लगानी गर्नु नै सबै सफल लगानीकर्तामा भएको एक मात्र साझा गुण भनेको हो ।

१) डेनिस ग्रेटम्यान : बढ्दो क्रममा रहेको सेयरलाई अझै वृद्धि हुन दिनुपर्छ

डेनिस ग्रेटम्यानले सन् १९८७ देखि ‘द ग्रेटम्यान लेटर्स’ को प्रकाशन सुरु गरेका थिए । जसमा विश्व पुँजी बजारका बारेमा टिप्पणीहरु समावेश गरी विश्वभरका हेज फन्ड, ब्रोकरेज कम्पनी, म्यचुअल फन्डलगायतलाई दैनिक रुपमा उपलब्ध गराउँदै आएका छन् । ग्रेटम्यान आफैं पनि एक सफल कारोबारी हुन् । वित्तीय नेटवर्कमा निरन्तर अतिथिका रुपमा देखा पर्दै आएका छन् ।

ग्रेटम्यानका अनुसार बढ्दो क्रममा रहेका सेयरहरुलाई बढिरहनै दिनुपर्छ । अर्थात, बढ्दो ब्यापारमा धैर्य राख्नुपर्दछ । नाफा भएको पहिलो संकेत मिल्ने बित्तिकै बेच्न हतार गर्नु हुँदैन । उनी भन्छन्, ‘बढ्दो ब्यापारमा धैर्य राख्नुहोस् र घट्दोमा अधैर्य’ । घट्दो सेयरलाई पलायन हुनबाट रोख्न धैर्यताले काम गर्दैन ।

बजारबाट पैसा कमाउने लगानीकर्ताले केही नोक्सान व्यहोर्नु स्वाभाविक नै भए पनि ठूलो नोक्सान व्यहोर्नु स्वाभाविक हुँदैन । ग्रेटम्यानका अनुसार बजारमा जहिले पनि सही हुनुपर्छ भन्ने छैन । बढ्दो सेयरलाई बढिरहन दिने र घट्दो सेयरबाट जतिसक्दो छिटो बाहिरिने विषय भने महत्वपूर्ण हुन्छ । यस रणनीतिलाई अनुशरण गर्ने हो भने पनि बढ्दो लगानीबाट कमाएको पैसा घट्दो सेयरमा भोगेको नोक्सान भन्दा अधिक धेरै हुन जान्छ ।

२) वारेन बफेट : अनुसन्धान गर्ने

वारेन बफेटलाई एक सफल भ्याल्यू इन्भेष्टरका रुपमा चिनिन्छ । बफेटलाई सबैभन्दा सफल लगानीकर्ताका रुपमा पनि लिने गरिएको छ । भ्याल्यू इन्भेष्टमेन्टको महत्वपूर्ण पक्षमध्ये एकमा अनुसन्धान पनि पर्छ । भ्याल्यू इन्भेष्टर भएकाले बफेट अवमूल्यनमा परेका कम्पनी खोज्ने गर्दछन् । बफेटले सबैभन्दा पहिला कम्पनीको गुणस्तर र त्यसपथि उक्त कम्पनीको मूल्य विश्लेषण गर्न सुझाव दिएका छन् ।

कम्पनीको गुणस्तर थाहा पाउन त्यसको वित्तीय विवरण, व्यवस्थापन तथा विभिन्न आधारभूत पक्षहरुको गहन अनुसन्धान र विश्लेषण गर्न आवश्यक पर्छ । कम्पनीको गुणस्तरमा विश्वस्त भइसकेपछि मात्र मूल्यको विश्लेषण गर्नुपर्छ । बफेटका अनुसार सेयर भाउ सस्तो छ भन्दैमा गुणस्तर नभएका कम्पनीको सेयर खरिद गर्नु हुँदैन ।

३) बिल ग्रस : दृढ विश्वास राख्ने

बिल ग्रस प्यासिफिक इन्भेष्टमेन्ट म्यानेजमेन्ट कम्पनी (पिम्को) का संस्थापक हुन् । उनले पिम्को टोटल रिटर्न फन्डको व्यवस्थापन गरेका थिए । जुन विश्वको सबैभन्दा ठूलो बन्ड फन्डमध्ये एकमा पर्छ । अधिकांश युवा लगानीकर्तालाई थाहा भएको लगानीको सर्वमान्य रणनीतिमा ‘विविधिकरण’ पर्दछ । यद्दपि, ग्रस भने अर्थहीन विविधिकरणको विपक्षमा छन् ।

विविधिकरण जोखिम कम गर्ने भरपर्दो उपाय भए पनि यसले प्रतिफल घटाउने सम्भावनमा उत्तिकै रहन्छ । एउटा लगानीले राम्रो प्रदर्शन गरेपनि अन्यको राम्रो भएन भने विविधिकरणले खासै फाइदा गर्दैन । तसर्थ, विस्तृत अनुसन्धानबाट राम्रो सावित भएका सेयरमा दृढ विश्वासी भएर लगानी गर्न ग्रसले सुझाव दिएका छन् । यस्ता कम्पनीमा बढी पुँजी लगाउनु परेमा पनि संकोच मान्नु हुँदैन ।

४) राजकुमार अलवालिद बिन तलाल : धैयता नै महत्वपूर्ण

राजकुमार अलवालिद बिन तलालको नाम धेरैलाई थाहा नहुन सक्छ । तर लगानीको दुनियाँमा तलाल निकै परिचित व्यक्ति हुन् । साउदी अरबका तलाल ‘किङडम होल्डिङ कम्पनी’ का संस्थापक हुन् । तलालको लगानी दीर्घकालीन हुने गर्दछ । उनको लगानी ट्वीटरदेखि सिटी बैंकसम्म रहेको छ ।

सन् १९९० को सुरुवातमा तलालले ‘सिटी ग्रुप’ मा लगानी गरेका थिए । तर सोही दशकको अन्त्यतिर सिटी ठूलो वित्तीय दबाबमा पर्यो । यद्दपि, अन्य धेरै सफल लगानीकर्ताले जस्तै तलाल पनि आफ्नो लगानी होल्ड गरेर बसे । तसर्थ, धैयता र दृढ विश्वास भएका लगानीकर्ताले जुनसुकै परिस्थितिमा पनि लगानीलाई आफ्नो अनुकूल बनाउन सक्छन् । उनी यही सिद्धान्तमा अडिग भएर सफल बन्दै आएका छन् ।

कार्ल इकाहन : होसियार बन्नुहोस्

कार्ल इकाहनलाई सेयरहोल्डरहरुका अभियन्ता (‘एक्टिभिस्ट इन्भेष्टर’), कर्पोरेट छापामार तथा कतिपयले गिद्धे पुँजीपतिको रुपमा चिन्ने गरेका छन् । इकाहन कमजोर व्यवस्थापन भएका कम्पनीहरु खोजी आफूलाई त्यस्ता कम्पनीको सञ्चालक समितिमा निर्वाचित गराउन आवश्यक पर्ने पर्याप्त सेयर गरिद गर्दछन् । राम्रो प्रतिफलका लागि आवश्यक पर्ने सबै अवस्था सिर्जना गर्न माथिल्लो तहको व्यवस्थापनलाई नै परिवर्तन गर्दछन् ।

यस्तो रणनीतिबाट विगत ३० वर्षको अवधिमा इकाहनले राम्रो सफलता पनि हात पारेका छन् । इकाहनको अर्को ठूलो रणनीति भनेको लगानी गर्दा कुनै पनि विषयलाई व्यक्तिगत रुपमा लिनु हुँदैन । जसका कारण उनले निकै शत्रूहरु पनि कमाएका छन् । यद्दपि, इकाहनको यो रणनीति पारस्परिक सम्बन्धमा भने प्रयोग गर्नु उचित हुँदैन ।

अरुको भर नपरी अफै गहन अनुसन्धान गरी लगानी गर्न इकाहनको सुझाव छ । तपाईंले आफ्ना विगतका लगानीहरुमा कतिपटक समाचार पढी वा विश्वासिलो मित्रको सल्लाहमा सेयर लगानी गरी नोक्सान व्यहोर्नु भएको छ ? तसर्थ, सँधै तथ्यमा आधारित अनुसन्धान गरी होसियारपूर्वक लगानी गर्नुपर्दछ ।

कार्लोस स्लिम : दूरदृष्टि राख्नुहोस्

कार्लोस स्लिम विश्वका सर्वाधिक धनी व्यक्तिहरुमध्ये एकमा पर्दछन् । ब्लूमबर्गको सूचीमा कार्लोस विश्वको २२सौं धनी व्यक्ति हुन् । कर्लोसको लगानीमा सयौं कम्पनीहरु छन् भने लाखौंलाई रोजगारी दिएका छन् । कर्लोस भन्छन्, ‘लगानी गर्नेले दूर दृष्टि राख्नुपर्छ’ ।

सफल लगानीकर्ताले कम्पनीको अवस्था र गति, प्रतिष्पर्धीसँगको अन्तरक्रियालगायत विषयलाई मूल्यांकन गर्दै भविष्यमा कस्तो हुन्छ भन्ने विश्लेषण गरी लगानी गर्दछन् । उनीहरुसँग सधैं अग्रगामी सोच हुने गर्दछ । निरन्तर स्थिर वृद्धि हासिल गरेका र राम्रो ट्रयाक रेकर्ड भएका कम्पनीमा लगानी गर्नु उचित हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "सेयर बजारमा चर्चित ६ लगानीकर्ता, उनीहरुको सफलता..." A few seconds ago

सम्बन्धित खवर