आज बसेको जसपाको बैठकले सरकारमा सहभागी ९ जना मन्त्रीलाई निष्कासन – Satabdi News

आज बसेको जसपाको बैठकले सरकारमा सहभागी ९ जना मन्त्रीलाई निष्कासन

३ असार, काठमाडौ । केपी शर्मा ओलीको कामचलाउ सरकारमा मन्त्री भएका जनता समाववादी पार्टी नेपाल (जसपा)का ९ जना नेता पार्टीबाट निष्कासित भएका छन् । जसपा संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवसहित पार्टी कार्यालय बालकुमारीमा बिहीबार बसेको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो ।

हाल विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका सरकारका मन्त्रीहरु शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्द्रा चौधरी, एकवाल मियाँ, चन्द्रकान्त चौधरी र रेनुका गुरुङलाई जसपाले पार्टीबाट निष्कासन गरेको हो । सरकारको उपप्रधानमन्त्री बनेका राजेन्द्र महतो र मन्त्री लक्ष्मणलाल कर्ण भने जेठ १८ गते नै जसपाबाट निष्कासित भइसकेका छन् । जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई निष्कासनसहितको कारबाही गरेको हो । जसपाले गत जेठ ८ गते नै वर्तमान कमचलाउ ओली सरकारमा सहभागी नहुने निर्णय गर्दै सहभागी भए कारबाही गरेने निर्णय गरेको थियो ।

बैठकले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकता पुनः दाबी गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिएका छन् । त्यस्तै बैठकले पार्टीका लुम्बिनी प्रदेशका चार जना सांसदहरुलाई पुनः पार्टी सदस्य र सांसद पदसमेत नरहने गरी कारबाही गर्ने निर्णय भएको जनाइएको छ । प्रदेश सभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले पार्टीको निर्णय विपरित लुम्बिनी प्रदेशमा सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गरेका थिए ।

बिहीबार सम्पन्न कार्यकारिणी बैठकले मुलुक बाढी र पहिरोको चपेटामा फसिरहेको बेला प्रभावित नागरिकलाई उद्धार र राहतमा प्रभावकारी ढंगले काम गर्दै जनताको जीवनरक्षा गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको हो । त्यस्तै, बैठकले पार्टीले चुरे संरक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । ‘बारा र पर्सा जिल्ला समितिको सिफारिस अनुसार गत स्थानीय चुनावमा पार्टीको चुनाव चिन्हबाट निर्वाचन जितेका तर अन्य पार्टीमा गएका स्थानीय प्रतिनिधिहरुको पदरिक्त गर्ने प्रक्रिया प्रारम्भ गर्ने निर्णय पनि गरिएको प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आज बसेको जसपाको बैठकले सरकारमा सहभागी ९ जना मन्..." A few seconds ago

सम्बन्धित खवर