काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी एनएसएलको उपाधिनजिक – Satabdi News

काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी एनएसएलको उपाधिनजिक

२९ वैशाख २०७८, बुधबार । धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर खेलमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले पराजित गर्दै धनगढी पहिलो संस्करणको एनएसएल उपाधितर्फ अग्रसर भएको हो ।

एनएसएलको लिग चरणको खेलबाट प्लेअफमा स्थान सुरक्षित गर्ने पहिलो टोली धनगढी फाइनलमा पुग्ने पनि पहिलो टोली नै बनेको छ । फाइनलमा उसले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतिद्वन्द्वीको टुङ्गो भने लाग्न बाँकी छ ।

प्रतियोगिताको नियमअनुसार लिग अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टोलीले प्रतिस्पर्धा गर्ने पहिलो क्वालिफायरको विजेता सीधै फाइनलमा पुग्नेछ । पराजित टोलीले लिग अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहेका दुई टोलीले प्रतिस्पर्धा गर्ने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । त्यससपछि पहिलो र दोस्रो क्वालिफायरको विजेता टोलीले १ जेठमा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो क्वालिफायर खेलमा धनगढीसँग पराजित भएपछि काठमाडौंलाई फाइनलमा स्थान सुरक्षित गर्न दोस्रो क्वालिफायरको बाटो पछ्याउनुपर्ने भएको छ । दोस्रो क्वालिफायरमा काठमाडौंको प्रतिद्वन्द्वीको टुंगो बुधबार लाग्नेछ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने इलिमिनेटर खेलमा लिग अंक तालिकाको तेस्रो स्थानमा रहेको ललितपुर सिटी एफसी र चौथो स्थानमा रहेको बुटवल लुम्बिनी एफसी भिड्दै छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा धनगढीले विजयी गोल गरेको थियो ।

धनगढीका निशान लिम्बु निशाना लगाउदै 

नियमित समयको खेलमा अग्रता काठमाडौंले लिएको थियो । मेसोके ओलोउमोउले क्रस गरेको बललाई सिक्स यार्ड बक्सबाहिरबाट हेडिङ गोल गर्दै तेज तामाङले खेलको ७५औँ मिनेटमा काठमाडौंलाई अगाडि बढाएका थिए । तर, काठमाडौंको यो अग्रता लामो समय टिकेन । धनगढीले आफूले गोल व्यहोरेको तीन मिनेटपछि नै बराबरी गोल फर्कायो । निशान खड्काले प्रहार गरेको कर्नरमार्फत आएको बललाई काठमाडौंका गोलरक्षक विकेश कुथुले हातले अगाडि फ्याँकेर क्लियर गर्ने प्रयास गरेका थिए । तर, फ्राङ्कलिन टल्लाले हेडिङ गर्दै फर्काएको उक्त बललाई पुजन उपरकोटीले पेनाल्टी प्वाइन्टबाट बाइसाइकल किकमार्फत गोल गर्दै धनगढीलाई खेलको ७८औँ मिनेटमा १–१ को बराबरीमा फर्काएका थिए । 

त्यसपछिको बाँकी समयमा दुवै टोलीबाट थप गोल नभएपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफसम्म पनि दुवै टोलीबाट गोल सम्भव नहुँदा खेल टाइब्रेकरतर्फ अग्रसर देखिएको थियो । यद्यपि, खेलको एक सय आठौँ मिनेटमा विशाल राईले निर्णायक गोल गर्दै धनगढीको फाइनल यात्रा निश्चित गरे ।

रमेश दंगालले हेडिङ गरेको बललाई काठमाडौंका रक्षक आशिष गुरुङले आफ्नो खुट्टाबाट फुत्काएपछि विशाल राईले पाएका थिए । सोही बललाई गोलमा परिणत गर्दै विशालले धनगढीको जित २–१ ले पक्का गरेका थिए ।

त्यसअघि खेलको निर्धारित समयको पहिलो हाफमा काठमाडौंले सशक्त प्रदर्शन गरेको थियो । यद्यपि, उसले गोलको राम्रा अवसर सदुपयोग गर्न नसक्दा जितबाट वञ्चित भयो । खेलको १६औँ मिनेटमै काठमाडौंका स्टेफेन बिनोङको प्रहार क्रस बारमा लागेर फर्किएको थियो । स्टेफेनले झन्डै २० यार्ड दूरीबाट गरेको उक्त प्रहार रोकिनु काठमाडौंका लागि ठूलो दुर्भाग्य थियो ।

त्यसपछि खेलको ३७औँ मिनेटमा काठमाडौंका सुदील राईको अर्काे सशक्त प्रहार धनगढीका गोलरक्षक किरणले रोकिदिए । उनले धनगढीका दर्शन गुरुङलाई छक्याएर सिक्स यार्ड बक्सको कर्नरबाट उत्कृष्ट प्रहार गरेका थिए ।

धनगढीले भने तुलनात्मक रूपमा खेलको दोस्रो हाफमा केही राम्रा अवसर सिर्जना गर्‍यो । यद्यपि, ती अवसर सदुपयोग गर्न नसक्दा धनगढीलाई जितका लागि अतिरिक्त ३० मिनेट मैदानमा मिहिनेत गर्नुपर्‍यो । खेलको ८९औँ मिनेटमा धनगढीका सौजन राईले ओलाडिपो ओलावाले अफिजका लागि उत्कृष्ट अवसर सिर्जना गरेका थिए । तर, डी बक्सभित्र काठमाडौंका गोलरक्षक विकेशसँगको वान भर्सेस वानको अवस्थामा अफिजले गोल गर्न सकेनन् । उनको प्रहार विकेशले रोकिदिए ।

 काठमाडौंका खेलाडी गोल गरेपछि खुसि मनाउदै 

खेलको एक सय १५औँ मिनेटमा काठमाडौंको अर्काे राम्रो अवसर खेर गयो । मेसोकेले प्रहार गरेको फ्रीकिकलाई धनगढीका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाउ गरेका थिए । तर, किरणले क्लियर गरेको बललाई सिक्स यार्डमा खुल्ला पाएका अञ्जन राईले पोस्टभन्दा निकै माथिबाट प्रहार गरे । काठमाडौंलाई खेलमा बराबरीमा फर्कने त्यही अन्तिम मौका थियो । त्यही मौका चुकाएपछि काठमाडौंले पहिलो क्वालिफायरबाटै फाइनलमा पुग्ने अवसर पनि गुमाएको हो ।

खेलपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले प्राप्त अवसर सदुपयोग गर्न नसक्नु र अग्रता जोगाउन नसक्नुजस्ता कारणले महत्वपूर्ण खेलमा पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिए । यद्यपि, उनले दोस्रो क्वालिफायरमार्फत काठमाडौं उपाधि होडमा फर्कने आशा व्यक्त गरे । ‘हामी लिग चरणमा शीर्ष स्थानमा रहेर प्लेअफमा आएको टोली हौँ । यो खेलमा पनि त्यही जितको शैली कायम राखेर अघि बढ्ने योजना थियो । यद्यपि, योजना सफल भएन,’ पराजयपछि उनले भने, ‘हामीले अग्रता जोगाउन सकेनौँ । प्राप्त धेरै अवसर सदुपयोग गर्न सकेनौँ । तर, हामी अझै प्रतियोगिताबाट बाहिरिसकेका छैनौँ । हामी दोस्रो क्वालिफायर खेलमा यस्तै राम्रो प्रदर्शन गरेर उपाधि होडमा फर्कनेछौँ ।’ त्यसका बाबजुद प्रशिक्षक बालगोपालले आफ्नो खेलाडीको प्रदर्शनमा सन्तुष्टि जनाए ।

धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले आफ्नो टोलीको फाइनल यात्रामा खुसी व्यक्त गरे । उनले फाइनलमा पनि यस्तै प्रदर्शन गरेर उपाधि जित्ने बताए । ‘आजको खेल हामी सबैका लागि राम्रो रह्यो । खेलाडीले राम्रो प्रदर्शन गरे । यो जितसँगै हामी फाइनलमा पुगेका छौँ,’ उनले भने, ‘फाइनलमा पनि यस्तै प्रदर्शनले निरन्तरता पाउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काठमाडौं रेजर्सलाई २–१ गोलले पराजित गर्दै धनगढी..." A few seconds ago

सम्बन्धित खवर