चर्चित लगानीकर्ता विजय केडियाको शेयर बजारमा ४ सूत्र – Satabdi News

चर्चित लगानीकर्ता विजय केडियाको शेयर बजारमा ४ सूत्र

बैशाख २६, काठमाडौं । डा. विजय किसनलाल केडियालाई भारतीय सेयर बजारको एक सफल लगानीकर्ताका रुपमा चिनिन्छ । केडिया ‘केडिया सेक्युरिटिज प्रा. लि’ का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) पनि हुन् । व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट काम गरेका कारण सन् २०१६ मा केडियालाई डाक्टरको उपाधि दिइएको थियो । मारवाडी परिवारका केडिया १४ वर्षको उमेरदेखि सेयर मार्केटमा प्रवेश गरेका हुन् । सुरुमा आफ्नो पारिवारलाई सहयोग गर्न बजार प्रवेश गरेका केडियालाई पछि सेयर मार्केटमै रुचि लाग्न थाल्यो ।

सेयर बजारमा लामो अनुभव हासिल गरेका केडियाको सम्पति ५०० करोड भारतीय रुपैयाँ भन्दा बढी पुगिसकेको छ । भारतमा केडियाको लगानी रणनीतिलाई पछ्याउने लगानीकर्ताको संख्या पनि धेरै छ । उनले व्यवस्थापनका विषयमा लन्डन बिजनेस स्कूल लगायत विभिन्न वैश्विक फोरमहरुमा लेक्चरहरु दिइसकेका छन् । यसका साथै संगीतका माध्यमबाट पनि केडियाले सेयर बजारका बारेमा रोचक ढंगबाट जानकारी दिँदै आएका छन् ।

केडियाका लगानी सम्बन्धी ४ मुख्य सूत्र

१) राम्रो व्यवस्थापनलाई हेर्नुहोस्

हरेका लगानीकर्ताले राम्रो र पारदर्शी व्यवस्थापन भएको कम्पनीमा लगानी गनुपर्नेमा विजय केडियाले जोड दिएका छन् । एउटा कम्पनी बन्नका लागि विभिन्न पक्षहरु जोडिएका हुन्छन् । लगानी गर्नुपूर्व ती सबै पक्षहरुमा विचार पुर्याउनुपर्ने केडियाको धारणा छ । कम्पनीको गुणात्मक पक्षहरुलाई जोड दिन आवश्यक छ । सेयरको मूल्यलाई मात्र नभएर कम्पनीको व्यवस्थापकीय पक्षलाई ध्यान दिन केडियाले सुझाव दिएका छन् ।

व्यवस्थापन सेयरधनीप्रति इमान्दार हुनुपर्छ । व्यवस्थापनले कस्तो प्रोडक्टलाई विस्तार गर्दैछ, प्रतिस्पर्धी भन्दा राम्रो प्रदर्शन गर्छ कि गर्दैन भन्ने विषयमा पनि लगानीकर्ताले ध्यान दिनुपर्छ । राम्रो, पारदर्शी र इमान्दार व्यवस्थापन भएको कम्पनी छ भने त्यस्तो कम्पनीमा १०–१५ वर्षसम्म लगानी लगाउन उचित हुने केडिया बताउँछन् ।

२) दीर्घकालका लागि लगानी गर्ने

दीर्घकालीन लगानीमा केडियाको दृढविश्वास रहने गरेको छ । कम्पनीहरुलाई हुर्किन र परिपक्क हुन समय लाग्ने केडिया बताउँछन् । उतारचढाव बजारको स्वाभाविक गुण भएकाले दीर्घकालीन लगानी गर्नु नै फाइदाकारी हुने उनको भनाई छ । मूल्यमा हुने तलमाथिलाई ध्यान दिन सकिएन भने नोक्सनी पनि भोग्नुपर्ने हुन्छ ।

यद्दपि, अल्पकालमा यस्तो उतारचढाव धेरै नै हुने भए पनि दीर्घकालीन लगानीमा भने बजारको उतारचढावले खासै ठूलो फरक पार्दैन । सेयर बजारबाट अधिक मात्रामा लाभ लिनका लागि दीर्घकालीन लगानी आवश्यक रहेको केडियाको बुझाइ रहेको छ । सेयर बजारमा न्यूनतम पनि ५ वर्ष अवधिलाई योजना बनाएर लगानी गर्नु उचित हुने उनी बताउँछन् ।

३) सन्तुलित दृष्टिकोण राख्ने

बजारको उतारचढाव तथा बुल र बियर ट्रेन्डमा पनि लगानीकर्ताले सन्तुलित दृष्टिकोण राख्नुपर्नेमा केडियाले जोड दिएका छन् । बजार बढेका बेला अत्याधिक आशावादी हुनु र घटेका बेला अत्याधिक निराशावादी हुनु दुवै घातक हुन सक्छ । आफ्नो लगानीलाई लिएर तनावपूर्ण अवस्था उत्पन्न गराउन आवश्यक छैन । बजारमा घटबढ भइरहन्छ । यसर्थ, आत्मविश्वासी भएर लगानी गर्नुपर्ने उनको भनाई छ ।

यस्तै, दीर्घकालीन योजनासहित सन्तुलित पोर्टफोलियो बनाउन सकेमा अधिक फाइदा हुने उनको अनुभव रहेको छ । सेयर बजारमा भोली ठ्याक्कै यस्तो हुन्छ भनेर कसैले अनुमान गर्न सक्दैन । सेयर बजार लगानी गरेर पैसा कमाउने क्षेत्र भएकाले लगानीकर्ताको दृष्टिकोणले पनि ठूलो भूमिका खेल्छ । तसर्थ, सन्तुलित दृष्टिकोण राख्न लगानीकर्ताहरुलाई केडियाले सुझाव दिएका छन् ।

४) दैनिक जीविकोपार्जनका लागि सेयर बजारलाई आधार नबनाउने

आफ्नो दैनिक जीविकोपार्जनका लागि सेयर बजारमा भर पर्न नहुने केडियाको भनाई छ । विशेषगरी आम्दानीको वैकल्पिक स्रोत भएकाले सेयर बजारमा लगानी गर्नु उपयुक्त हुने उनी बताउँछन् । अन्य आम्दानीको स्रोत भएमा सेयर बजारमा आउने उतारचढावलाई पनि झेल्न सकिन्छ भने सक्रिय कारोबारीका रुपमा काम गर्न पनि सहज हुन्छ ।

कतिपय लगानीकर्ताले नियमित आम्दानीको स्रोतबिनै ठूलो रकम बजारमा खन्याएका हुन्छन् । जसका कारण धेरैले सम्पति गुमाउनुपरेको छ । साथै, यस्तो अवस्थामा ऋणको भारी पनि थपिने सम्भावना रहन्छ । तसर्थ, नियमित आम्दानीको अन्य स्रोतहरु हुनुपर्छ । सेयर बजारलाई पनि कमाई गर्ने वैकल्पिक माध्यम बनाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "चर्चित लगानीकर्ता विजय केडियाको शेयर बजारमा ४ स..." A few seconds ago

सम्बन्धित खवर