अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी – Satabdi News

अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी

वि.सं २०७८ बैशाख २ बिहीबार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धग्रस्त अफगानिस्तानबाट ११ सेप्टेम्बरभित्र सबै अमेरिकी सैनिक फिर्ता गर्ने तयारी गरेका छन् । अमेरिकी सैनिक इतिहासमै कुनै पनि देशमा शान्ति स्थापना गर्न विद्रोहीसँग झन्डै २० वर्ष लडेको यो पहिलो घटना हो । यो अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले तालिबानी समूहसँग गरेको सम्झौतापछि अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने क्रमको निरन्तरता हो ।

१२ हजार अमेरिकी सैनिकमध्ये अफगानिस्तानमा दुई हजार पाँच सय मात्र बाँकी छन् । अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा बाइडेनले राष्ट्रपतिमा निर्वाचित भए अफगानिस्तानबाट सबै अमेरिकी सैनिक फिर्ती हुने बताएका थिए । राष्ट्रपति निर्वाचन तथा अन्य विविध कारणले पाँच महिनायता अमेरिकी सैनिक अफगानिस्तानबाट फिर्ता हुने क्रम रोकिएको थियो ।

४० वर्षदेखि युद्धको चपेटामा रहेको अफगानिस्तानमा शान्ति ल्याउने प्रयासस्वरूप टर्कीले सर्वपक्षीय अन्तर्राष्ट्रिय शान्ति सम्मेलन गर्ने घोषणालगत्तै सैनिक फिर्तीबारे अमेरिकी अधिकारीले जानकारी दिएका छन् । यद्यपि, तालिबान समूहले सो सम्मेलन बहिष्कार गर्ने सम्भावना छ । अफगानिस्तानबाट अमेरिकी फिर्तीको घोषणा राष्ट्रपति बाइडेनले बिहीबार गर्नेछन् । अमेरिकाले अल–कायदा वा इस्लामिक स्टेट अतिवादीविरुद्ध लड्न सानो संख्यामा अमेरिकी सैनिक राख्नेबारेमा केही समयदेखि छलफल भएको थियो ।

राष्ट्रपति बाइडेनले अन्य विकल्पमाथि छलफल गरे पनि अन्ततः सम्पूर्ण सैनिक फिर्ता गर्ने निष्कर्षमा पुगेका हुन् । ‘सैनिक तैनाथ रहनु भनेको अफगानिस्तानमा अमेरिकी सैनिक अनन्तकाल रहने भन्ने देखिएकाले राष्ट्रपति बाइडेनले हाल सम्पूर्ण सैनिक फिर्ता गर्नु उपयुक्त हुने निष्कर्ष निकालेका हुन्,’ अमेरिकी एजेन्सीहरूले जनाएका छन् ।

ट्रम्प प्रशासनले फेब्रुअरी २०२० मा तालिबानसँग गरेको सम्झौतामा सम्पूर्ण अमेरिकी सैनिक २०२१ मेभित्र स्वदेश फर्कने उल्लेख छ । सन् २००१ मा अमेरिकी सैनिक अफगानिस्तान प्रवेश गर्नुको मुख्य कारण पनि अल–कायदालाई तालिबानको समर्थन प्रमुख विषय थियो । अफगानिस्तान छाड्न लागेका गठबन्धन मुलुकका सैनिकमाथि लक्ष्य गरी आक्रमण नगर्न पनि भनिएको छ ।

विदेशी सैनिकले अफगानिस्तान छाडे पनि लडाइँ जारी रहने सम्भावना छ । राष्ट्रिय गुप्तचर निकायका प्रमुखले सार्वजनिक गरेको मूल्यांकन प्रतिवेदनमा तालिबान समूह आफूले सैन्य विजय हासिल गर्नेमा विश्वस्त देखिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "अफगानिस्तानबाट सेना फर्काउने बाइडेनको तयारी" A few seconds ago

सम्बन्धित खवर