नेकपा एमालेकै दुई समूहबीच झडप , सुदुर पश्चिम – Satabdi News

नेकपा एमालेकै दुई समूहबीच झडप , सुदुर पश्चिम

सुदुर पश्चिम । कैलालीमा पार्टी कार्यालय प्रयोगको विषयमा नेकपा एमालेकै दुई समूहबीच झडप भएको छ । धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताबीच झडप भएको हो । ओली पक्षका नेता–कार्यकर्ताले पार्टीको प्रदेश कार्यालयमा प्रदेश इन्चार्ज भीम रावलको ‘नेम प्लेट’ हटाएर लेखराज भट्ट र अध्यक्ष भानुभक्त जोशीको नेम प्लेट हटाएर कर्ण थापाको नेम प्लेट राखेपछि विवाद भएको हो । बोर्ड हटाउने र राख्ने विवादले दुवै समूहका कार्यकर्ताबीच हात हालाहाल भएको थियो ।

नेकपा हुँदा प्रदेशको पार्टी कार्यालय प्रचण्ड–नेपाल समूहले प्रयोग गर्दै आएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेपाल पक्षकै नेता–कार्यकर्ताले नेकपाको बोर्ड हटाएर एमालेको बोर्ड लगाएका थिए । तर, त्यसको केही समयपछि कर्णबहादुर थापाको नेतृत्वमा ओली पक्षका कार्यकर्ताले त्यही बोर्डमाथि एमालेको अर्को बोर्ड झुन्ड्याए ।

ओली पक्षका कार्यकर्ताले कार्यकक्षबाहिर टाँसिएको प्रदेश इन्चार्ज रावलको नामको बोर्ड हटाएर लेखराज भट्टको नामको बोर्ड राखेका थिए । अध्यक्ष जोशीको नामको बोर्ड हटाएर थापाको नाम राखेका थिए । प्रदेश इन्चार्जमा भीम रावलको बोर्ड हटाएर भट्टको बोर्ड लगाएपछि कार्यालयमा प्रवेश गरेका नेपाल पक्षका कार्यकर्ताले भट्टको नामको बोर्ड हटाएपछि झडप भएको हो । नेपाल पक्षका कार्यकर्ताले रावल र ओली पक्षकाले भट्टको पक्षमा नाराबाजी गरेका थिए ।

नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षले प्रदेश इन्चार्ज रावल र अध्यक्षमा जोशीलाई जिम्मेवारी दिएको थियो । रावल त्यसअघि पनि प्रदेश इन्चार्ज थिए । ओलीले भने माओवादीबाट आएका भट्टलाई प्रदेश संयोजक बनाएका थिए । तत्कालीन एमालेको उक्त पार्टी कार्यालय नेकपा विभाजनपछि प्रचण्ड–नेपाल पक्षले प्रयोग गर्दै आएको थियो । नेकपा विभाजनका वेला भाडामा रहेको पार्टी कार्यालयको सम्झौता अवधि सकिएपछि रावलले आफ्नै नाममा सम्झौता गरेका थिए ।ओली पक्षका केन्द्रीय सदस्य सन्तोष शर्माले अदालतले पार्टीलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि बोर्ड लगाउने क्रममा भीम रावलनिकट केही व्यक्तिले अवरोध गर्न खोजेपछि विवाद भएको बताए । ‘पार्टी कार्यालयमा बोर्ड र नेम प्लेट लगाउँदै हाम्रा कार्यकर्ताले केपी ओलीका पक्षमा नाराबाजी गर्दै थिए । त्यहीवेला भीम रावलनिकट मान्छे आएर नेम प्लेट हटाउँदै ओलीको विरोध र रावलको पक्षमा नाराबाजी गरेपछि झडप भएको हो,’ उनले भने । पार्टीले प्रदेश इन्चार्ज भट्टलाई तोकेकाले आफूहरूले कार्यालयमा नेम प्लेट बदल्न खोजेको शर्माले बताए ।

नेपाल पक्षका युवा नेता बाबुराजा श्रेष्ठले पार्टी कार्यालय अराजक तत्वले कब्जा गर्न खोजेपछि आफूहरूले विरोध गरेको बताए । एमाले हुँदा पनि इन्चार्ज भीम रावल नै रहेका र अहिले पुनस्र्थापनापछि पनि पार्टी इन्चार्ज रावल नै भएको श्रेष्ठले बताए । ‘विधि र पद्धतिविपरीत नेम प्लेटहरू फेर्ने र पार्टी कार्यालय नै कब्जा गर्न खोजिएपछि झडपको अवस्था आएको हो,’ उनले भने ।

बिहान ११ बजे प्रदेश पार्टी कार्यालयको बोर्ड फर्ने भन्दै ओली पक्षले पत्रकारलाई खबर गरेको थियो । नेपाल पक्षका कार्यकर्ताले त्यसअघि नै बोर्ड फेरेका थिए । झडपपछि अहिले कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । रावल र थापाबीच विगतदेखि नै तिक्त सम्बन्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा एमालेकै दुई समूहबीच झडप , सुदुर पश्चिम" A few seconds ago

सम्बन्धित खवर