नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र – Satabdi News

नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने योगेशका ८ सूत्र

काठमाडौं । संसद अधिवेशनको पूर्वसन्ध्यामा नेकपाका दोस्रो तहका नेताहरु पार्टी एकताको लागि संवादमा जुटिरहेका छन् भने दुवै पक्षका विशेषगरि पूर्व एमालेका सांसदहरु कांग्रेसलाई प्रधानमन्त्री बनाउन नदिन नेकपाबाटै सरकारको नेतृत्वको पक्षमा लबिङ गरिरहेका छन् ।

विहीवार दिनभर सिंहदरवारभित्र बाहिर नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेता तथा सांसदहरु नेकपाकै नेतृत्वको सरकारको लबिङमा जुटिरहेका बेला दोस्रो तहका प्रभावशाली नेता योगेश भट्टराई भने गृहजिल्ला ताप्लेजुङमा थिए ।

दोभानबजारको आगलागी पीडितलाई राहत तथा उद्दारमा जुटेका भट्टराईले पार्टी एकताको पक्षमा निर्णायक पहल लिन नेताहरुलाई आग्रह गरिरहेका छन् । भट्टराईले पार्टीलाई औपचारिक विभाजनबाट रोक्ने सूत्र समेत नेतृत्वलाई सुझाएका छन् ।

नेकपा विभाजन रोक्ने के हो त योगेशको सूत्र ? नेपालप्रेससँग उनले बुँदागत रुपमा आफ्नो सूत्र सुनाए । भट्टराईले मुख्य नेतृत्वले इगो नराख्ने हो भने अझै पनि पार्टी एकता सम्भव रहेको र नेकपा बाहिरबाट प्रधानमन्त्री खोज्नुपर्ने अवस्था नरहेको बताए ।

भट्टराईले भने–केही पहल नभएका होइनन् तर प्रधानमन्त्रीसँग नजिक रहेका निर्णायक तहका नेताहरुले गम्भीर पहल गर्नुभयो भने यो सफल हुनसक्छ । विप्लवसँगको वार्ता सफलतासँगै प्रधानमन्त्रीले नेकपाकै नेतृत्वमा सरकार बन्ने र पार्टी पनि जोगिनेगरि ‘स्टेटम्यानशीप’ देखाउनुभयो भने मुलुक,जनता र पार्टी सबैको हितमा हुन्छ ।

के हुन् त योगेशले देखेका नेकपा विभाजन रोक्ने सूत्र ?

१. प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिएर,नेकपाकै नेतृत्वमा सरकार गठनको अगुवाइ गर्ने ।
२. इगो नराखे प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गर्ने, नत्र नेकपाबाटै दोस्रो पुस्ताबाट अर्को व्यक्तिलाई सहमतिमै प्रधामन्त्री बनाउने
३. केपी ओली,प्रचण्ड र माधव नेपाल तीनजना अध्यक्ष हुने । (यसअघि ओलीकै प्रस्ताव थियो माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने)
४. नत्र, झलनाथ खनाल र वामदेव गौतम समेत थपेर ५ जनाको अध्यक्ष मण्डल बनाउने । त्यसैले दैनिक पार्टी सञ्चालन बाहेक नीतिगत नेतृत्व गर्ने ।
५. महासचिवको नेतृत्वमा हालको स्थायी कमिटी सदस्यमध्येबाट १५–१७ सदस्यीय सचिवालय बनाउने,अहिलेको ९ सदस्य सचिवालय भंग गर्ने ।
६. महासचिव नेतृत्वको सचिवालयले ‘टिओआर’ सहित पार्टी सञ्चालन गर्ने र एकताका बाँकी काम समय तोकेर टुंग्याउने ।
७. प्रदेश सरकारहरुको पुनर्गठन गर्ने,संघीय सरकार गठन गर्दा मन्त्रीहरुको चयन बिचार समूहहरुको सम्मानजनक प्रतिनिधित्व हुने ।
८. स्थानीय तह र संघ तथा प्रदेशको चुनावसम्म पार्टी सहमतिका आधारमा चलाउने र चुनावपछि महाधिवेशनबाट नयाँ नेतृत्व र बिचार सहित अघि बढ्ने ।

योगेशको सूत्र प्रचण्ड-माधव पक्ष र ओली पक्षले ग्रहण गर्ला ? यदि नेकपाको कानुनी विभाजन रोक्ने हो भने यो सूत्रबाट अघि बढ्नुको विकल्प नरहेको उनी बताउछन् । त्यसका लागि उनले महासचिव बिष्णु पौडेलको भूमिका निर्णायक हुने देखेका छन् ।

नेकपाको बहुमतको सरकार ढालेर कांग्रेस वा अन्य दलका नेतलाई प्रधानमन्त्री बनाउँदा भोलि जनतामा कुन मुख लिएर जाने ? नेकपाका सांसदहरुबीच यहि कोणबाट छलफल चलिरहेको छ । दुई दिनअघि जनार्दन शर्माले पनि सचिवालय भन्दा बाहिर रहेका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलका लागि आह्वान गरेका थिए ।

एकता बचाउन सकिने विकल्पमा छलफल भइरहेको छ । महासचिव पौडेल बुटवलबाट फर्केपछि एकपटक निर्णायक पहल हुनसक्ने नेताहरु बताउछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेकपा जोगाउने र नेकपाकै प्रधानमन्त्री बनाउने यो..." A few seconds ago

सम्बन्धित खवर