बेलबारीमा दुर्घटना, मुख्यमन्त्री राईले नदेखे जस्तो गरे – Satabdi News

बेलबारीमा दुर्घटना, मुख्यमन्त्री राईले नदेखे जस्तो गरे

बेलबारी । सोमबार दिउँसो बेलबारीका जनक पोखरेल घरबाट लक्ष्मीमार्ग तर्फ जाँदै थिए । उनले पूर्व पश्चिम राजमार्गको बेलबारी नगरपालिका–४ हुल्लुडे भन्ने स्थानमा दुर्घटनामा परेका दुईजना सडकमै लडिरहेको देखे ।

लगत्तै इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकाललाई फोन गरे । कांग्रेसको विरोध सभाको सुरक्षाका लागि पुगेका उनको फोन उठेन ।

स्कुटर दुर्घटनामा परेका दुईजना सडकमा छटपटाइरहेका थिए । प्रहरीको फोन नउठेपछि दाजुलाई फोन गरेर ट्राफिक प्रहरी बोलाइदिन भने ।

प्रहरी आउन ढिलो भएपछि घाइतेलाई बेलबारी स्वास्थ्य चौकीसम्म पुर्‍याउन राजमार्गमा गाडी रोक्ने प्रयास गरे । बाटोमा हिँड्ने कसैको मन पलाएन ।

गाडी खोज्दै गर्दा साइनर बज्यो । उनलाई एम्बुलेन्स आयो भन्ने लाग्यो । फर्केर हेर्दा प्रहरीको गाडी थियो । प्रहरीको भ्यान पछाडि भीआईपी सवार गाडी र पछुवा गाडीको रुपमा सशस्त्र प्रहरीको भ्यान थियो । उनलाई लाग्यो अब अस्पताल पठाउन सकिन्छ ।

अघिपछि सुरक्षाकर्मीको स्कर्टिङमा हिँडेको गाडी भित्र प्रदेश १ का मुख्यमन्त्री शेरधन राई सवार थिए । बाटोमा जनकले रोक्ने प्रयास गरे । तर सवारी रोकिएन । ‘चाडो अस्पताल पुर्‍याउन सकिन्छ कि भनेर कोशिस गरेँ । तर साइरनवाला गाडीले सुन्दै सुनेन’ जनकले भने ‘पछि थाहा पाए मुख्यमन्त्रीको सवारी रहेछ ।’

मुख्यमन्त्रीको सवारी भएको करिब १० मिनेटपछि मात्र प्रहरी आएर उद्धार गरेको उनले बताए । जनक भन्छन्, ‘उहाँले उद्धार नगरेपनि अगुवा पछुवालाई भनेको भए समयमा नै अस्पताल पुर्‍याउन सकिन्थ्यो ।’
यो घटना सोमबार दिउँसो ३ स् ५० बजेतिरको हो । मुख्यमन्त्री शेरधन राई झापाको कार्यक्रमबाट फर्कदै गर्दा उनलाई इलाका प्रहरी कार्यालय पथरीको गाडीले स्कर्टिङ गरेर ल्याएको थियो ।

दुर्घटनामा बेलबारी नगरपालिका ११ का ४३ वर्षीय अर्जुन खत्री र उनका छिमेकी ६३ वर्षीय दुर्गा भण्डारी घाइते भएका थिए । अस्पतालमा खत्रीको मृत्यु भएको छ । भण्डारीको विराटनगरमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकाल मुख्यमन्त्रीको सवारी हुनुअघि नै प्रहरी घटनास्थल पुगिसकेको बताउँछन् ।

‘मुख्यमन्त्रीको सवारी हुनुअघि नै प्रहरी टोली घटनास्थलमा पुगेको थियो’ ढकाल भन्छन्, ‘त्यसपछि उद्धार गरियो । उपचारका क्रममा एकजनाको मृत्यु भयो ।’
अनलाईनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "बेलबारीमा दुर्घटना, मुख्यमन्त्री राईले नदेखे जस..." A few seconds ago

सम्बन्धित खवर