विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ पेन्टिङ गरी नेपालमा – Satabdi News

विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ पेन्टिङ गरी नेपालमा

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरको दुरीमा रेल सञ्चालन गर्नका लागि सरकारले आज एउटा रेल सेट नेपाल भित्र्याएको छ ।

भारतबाट दिउँसो २ बजे जनकपुर रेल स्टेशनमा आइपुगेको यो पुरानो डिजाइनको हो । नेपालले विश्वबाटै विस्थापित १५० वर्ष पुरानो मोडेल अन्तर्गतको न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने रेल भित्र्याएको हो ।

भारतमा बनेको यो रेल अहिले स्वयम् भारतले विस्थापित गर्दै लागेको छ । भारत, पाकिस्तान, चीन लगायत नेपालका छिमेकी देशहरुले न्यारो ब्रोडगेज लिकमा मात्र चल्ने यो डिजाइनको रेल विस्थापित गरी विद्युतीय रेल सञ्चालनमा ल्याएका छन् ।

तर, यही पुरानो रेल पनि सरकारले भारतसँग सम्झौता (जिटुजी) गरी भ्याट बाहेक ८५ करोड रुपैयाँमा खरिद गरी नेपाल भित्र्याएको हो । सम्झौता अनुसार दुईमध्ये आज एउटा रेल सेट नेपाल आइपुगेको हो ।

कुर्था–जयनगर रेल मार्ग भने भारतकै आर्थिक तथा प्राविधिक सहयोगमा गत वर्ष नै निर्माण भएको थियो ।

यो रेलको एउटा सेटमा एक पटकमा बसेर उभिएर गरी १३ सय जना यात्रु यात्रा गर्न सक्ने छन् । एउटा सेटमा पाँच वटा डिब्बा रहेको छ । यो रेल प्रतिघण्टा १०० किलोमिटरको दुरीमा मात्र गुड्न सक्छ ।

पुरानो डिजाइनको भएकोले यो रेल सञ्चालन तथा मर्मत कार्य खर्चिलो हुने बताइएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार यो रेल यात्रुबाहक रेल भएकोले यात्रुको झोला र सामान्य सामान मात्र राख्न सकिने छ । यो रेल मालबाहक होइन ।

नेपालमा राणा शासन कालमै वि.सं १९८४ मा भारतको रक्सौलदेखि नेपालगञ्जको अमलेखगञ्ज तथा वि.सं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेल सेवा थियो ।जनकपुरमा आएको भनिएको रेल त सन् १९३० तिरै तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमसेरले ल्याएका हुन्।

हाल धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल चलाउने तयारी गरिएको हो । कुर्थादेखि बिजुलीपुरासम्म १७ किलोमिटर रेल मार्ग बनाउने काम पनि हाल अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "विश्वबाट विस्थापित १५० वर्ष पुरानो रेल डेन्टिङ ..." A few seconds ago

सम्बन्धित खवर