धिरज बिष्ट
असार ०१, दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाले कोरोना भाईरस नियन्त्रणका लागी गरेका विभिन्न क्रियाकलापमा ७६ लाख ५८ हजार १ सय २२ रुपैया खर्च भएको जनाएको छ । गाउँपालिकाले कोरोना भाईरस नियन्त्रण गर्न क्वारेन्टिन स्थापना, व्यवस्थापन, संचालन, औषधी खरिद, राहत वितरण र काठमाण्डौँ, धनगढी, महेन्द्रनगरबाट गाउँपालिकाका मानिसहरुलाई विभिन्न समयमा उद्दार गर्दा सो मात्रामा खर्च भएको जनाएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामकुमार रानाका अनुसार क्वारेन्टाइन स्थापना, संचालन र व्यवस्थापनमा मात्रै ३० लाख ३७ हजार ५ सय ७२ रुपैया खर्च गरेको छ । यस्तै गाउँपालिका भित्रका मानिसहरुलाई विभिन्न ठाउँबाट उद्दार गर्नमा १२ लाख ४२ हजार ८ सय, राहत वितरणमा २३ लाख ७७ हजार ७ सय ५० र औषधी खरिदमा १० लाख रुपैया खर्च गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए ।
गाउँपालिकाले १० लाख बराबरका मास्क, स्यानिटाइजर र पिपिई सेट खरिद गरेको उहाले बताउनुभयो । गाउँपालिकामा भारत लगायत अन्य मुलुक तथा जिल्ला बाहिरबाट आउनेहरुलाई राख्न ८ वटा क्वारेन्टाइन स्थापना गरेको उहाले बताउनुभयो । उक्त क्वारेन्टाइनमा हाल सम्म पहिलो, दोस्रो र तेस्रो चरणमा गरी ४ सय ६२ जना बसीसकेका छन् । गाउँपालिकाले कोरोना पोजेटिभ देखिएकाहरुलाई राख्न १० वटा आइसोलेसन कक्ष समेत स्थापना गरेको उहाले बताए ।