संक्रमित फेला परेका विराटगरका दुई क्षेत्र सिल – Satabdi News

संक्रमित फेला परेका विराटगरका दुई क्षेत्र सिल

विराटनगर — प्रदेश १ को राजधानी विराटनगरमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु बस्दै आएको क्षेत्रलाई सिल गरिएको छ । संक्रमित पुष्टि भएकाहरुको बसोबास महानगरको वडा ६ र १५ हो ।

बाक्लो बसोबास भएका ती वडाका उनीहरु बसेको केही क्षेत्र समेटेर सिल गरिएको महानगरपालिकाले जनाएको छ । वडा नम्बर १५ जोगबनी सीमाभन्दा वर हटताली हाट क्षेत्र हो । ६ नम्बर वडा सरौंचिया क्षेत्र पर्छ । सिल गरिएको क्षेत्र आसपास सुरक्षाकर्मी परिचालन गरी निगरानी गरिएको छ । सोमबार त्यस क्षेत्रका बासिन्दाको परीक्षण गरिने भएको छ ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार ती क्षेत्र सिल गरेर निगरानी र परीक्षणको काम गरिने छ । ती वडाका २९ वर्षीया महिला र ३६ वर्षीय पुरुषमा आइतबार साँझ संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये पुरुष सफाइ कर्मचारीका रुपमा कार्यरत थिए । संक्रमितहरुलाई कोभिड–१९ उपचार केन्द्रमा राखेर उपचार र हेरचाह गरिने भएको छ ।

महानगरपालिकाले केही दिनअघि ती क्षेत्रका सहित ४३ जनाको आरडीटी परीक्षण गराएको थियो । परीक्षणका क्रममा दुई जनाको रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि दोहोर्‍याएर आरडीटी परीक्षण नै गरिएको महानगर स्रोतले जनाएको छ । त्यसपछिको रिपोर्टमा पनि शंकास्पद आएपछि उनीहरुको स्वाब नमुना परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँको ल्याबमा गरिएको परीक्षणमा कोरोना संक्रमण भएको पुष्टि भएको  हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "संक्रमित फेला परेका विराटगरका दुई क्षेत्र सिल" A few seconds ago

सम्बन्धित खवर