ओली, षड्यन्त्र र पार्टी विभाजन – Satabdi News

ओली, षड्यन्त्र र पार्टी विभाजन


बिषय प्रवेश
विश्व कोरोना भाईरसको त्रासबाट गुज्रिरहेको छ । सबै देशका कार्यकारी प्रमुखहरु कोरोना भाईरसबाट आफ्नो जनतालाई बचाउन अहोरात्र खाटिरहेका छन् । ईटालीमा कोरोना महामारी फैलिएपछि धेरै नागरिकहरुको मृत्यु भयो । त्यसपछी त्यहाँको स्थिति भयाबह बन्यो । ईटालीका राष्ट्रपति सर्जियो मटेरेलाले जनताको नाममा सम्बोधन गर्दा गहभरी आँशु पार्दै रुन्चे स्वरमा सम्बोधन गरेका थिए । जनतालाई बचाउन सकिन भनेर उनी भाबविहल र चिन्तित थिए र अहिले पनि छन् । उनले पनि चीन सरकारबाटै सहयोग लिए चीनबाट स्वास्थ्य सामाग्री पनि खरिद गर्न लगाए तर कहि कतै त्यस्तो स्वास्थ्य सामाग्रीमा घोटला गरेको समाचार पढ्न सुन्न पाइएन । अहिले सबै भन्दा कोरोना भाईरस (कोबिड–१९) बाट संक्रमित देश अमेरिकामा भएको छ । राष्ट्रपति ट्रम्प विशुद्ध धनाढ्य ब्यापारी घरानाका कारण उनले व्यापारको राम्रो नेतृत्व गर्न सके तर नन् पोलिटिकल फिगर भएकाले उनले राजनीतिलाई नेतृत्व प्रदान गर्न सकेनन् । उनले मानव जीवनलाई भन्दा व्यापार, व्यवसाय र स्वतन्त्रतालाई महत्व दिएका कारण आजको मितिमा ५० हजार भन्दा वढि अमेरिकन नागरिकहरुको कोरोना भाईरसले मृत्यु भईसकेको छ । अल्जजिरा टेलिभिजनका अनुसार सन् १९३० को दशक पछी अमेरिकामा सबै भन्दा ठुलो आर्थिक मन्दी भएको छ । हरेक ६ जना नागरिक मध्ये एक जना बेरोजगारी हुनु परेको छ भनेर तथ्यांक सार्वजनिक गरेको छ । ट्रम्प कसैको कुरा सुन्दैनन् । संयोग उनि र ओलीबिचको अहमतामा मेल खान्छ ।
नेपाली राजनीतिमा अहिले ओली सरकारले बैशाख ८ गते ल्याएको दूई अध्यादेश संवैधानिक परिषद् अध्यादेश, २०७७ र राजनीतिक दल सम्बन्धी अध्यादेश २०७७ सम्बन्धी ऐनमा गरेको संशोधन सम्बन्धी अध्यादेशहरुले कोरोना भाईरसको त्रासलाई नै बिर्साएको छ । सबै राजनीतिक विश्लेषकहरु, स्वतन्त्र नागरिक लगायत बिपक्षी दलहरुले यी दुई अध्यादेशको बिरुद्धमा बोलिसकेका छन् । काम कुरा एका तिर कुम्लो बोकी ठिमी तिर भने जस्तो भयो । कोरोना भाईरससंग लड्नु पर्ने ओलीले लोकतन्त्र र पार्टीहरु कमजोर बनाउने अध्यादेश पास गरेर कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल (समाजवादी र राजपा) लगायतका दलहरुसंग जोरी खोज्न थालेका छन् । यिनीले कसैको कुरा सुन्दैनन् । आफ्नै पार्टीका सहकर्मीहरुको सुझाब पनि उनलाई आलोचना मात्र लाग्छ अरु दलका नेताहरुको सुझाब त बिष नै हुन्छ । उनका लागि पत्रकारहरु बिद्रोही सेना हुन्छ । यो समयमा आउने अनौठो राजनैतिक निर्णयहरु यस्तै नेतृत्वबाट हो । कदमको बिरुवा रोपेर स्याउको अपेक्षा गर्नु हुन्न्, उनको राजनीतिक क्षमता यति हो ।

ओलीको षडयन्त्र र समाजवादी पार्टीका नेताहरुको दाउ
समाजवादी पार्टी सरकार मै हँुदा यस पार्टीलाई फुटाउन ओली आफै लागिरहेको भन्ने बिषय माननीय डा. सुरेन्द्र यादबले अन्तर्वार्तामा बताईसकेका छन् । समाजवादी पार्टीका केहि सांसदहरुलाई नेकपामा ल्याउने ओलीको षडयन्त्र थियो । माननीय पार्टी अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री, स्वस्थ्य तथा जनसंख्या मन्त्री हुदै संघीयता कार्यान्वयन गर्ने बिषयमा ओलीसंग द्वन्द भएको हो । त्यहि द्वन्दलाई ईस्यू बनाएर समाजवादीका सांसदहरुलाई उनले पार्टी फुटाउन उक्साउन थालेका थिए । तत्कालिन समयमा पार्टी प्रवेश र विभाजन गर्न सहज नभए पछी उनले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद–६ को दल त्यागसम्बन्धी प्रावधानलाई संसोधन गरे । पहिला संसोधन अगाडी यस्तो व्यवस्था गरिएको थियो । ‘कुनै दलको केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा कम्तिमा ४० प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’ अध्यादेशमा ‘केन्द्रीय समिति र संघीय संसदको संसदीय दलमा’ भन्ने पदावलीको सट्टामा ‘केन्द्रीय समिति वा संघीय संसदको संसदीय दलमा’ भनिएको छ । ‘र’ लाई हटाएर ‘वा’ बनाइएको छ । यो एउटा तिरले तिन वटा सिकार गर्ने ओलीको षडयन्त्र थियो । पहिलो समाजवादी पार्टी र दोस्रो राजपालाई विभाजन गर्ने हो । अहिले ओली पार्टीको सबै तहमा अल्पमतमा छन् यी दुईवटा पार्टीबाट सांसदहरु ल्याएर ससंदीय दलमा आफ्नो ४० प्रतिशत पुर्याएर आफ्नै पार्टी फुटाउने उनको ठुलो षड्यन्त्र अहिले असफल भएको छ । यति गरे पछी अब ओलीले आफ्नो अनुकुल समयमा कुनै पनि बेला नेकपा फुटाउन सक्छन् । यो आसयबाट यो अध्यादेश आएको थियो । आज प्रधानमन्त्री ओलीले आफ्नै क्षमताको कमजोरी प्रस्तुत गरेका छन् । यिनीले नालायकीपन देखाए । यस कार्यबाट उनिले प्रधानमन्त्रीको कुर्सीमा बस्न अयोग्य प्रमाणित गरिसके । अरुको दल फुटाउन ल्याएको क्षणिक अध्यादेश अन्त ओली आफैले फिर्ता लिनु पर्यो । यो देश, लोकतन्त्र, गणतन्त्र र संघीयताको लागि नै असोभनिय कार्य थियो ।
समाजवादी पार्टीमा पनि असन्तुष्टि निकै रहेछ भन्ने कुराको पुष्टि यो घटनाले गरेको छ । यस पार्टीमा अवसरवादी, धन, पद, शक्ति र सत्ताको लोभीपापी पनि निकै रहेछ, भन्ने पनि यहि घटनाले पुष्टि गरेको छ । मुलतः पार्टी उपाध्यक्ष माननीय रेणुकुमारी यादव र सचिव माननीय महम्मद इस्तियाक राई ज्यूको नेतृत्वमा पार्टी फुटाउने तयारी अन्तिम समय सम्म भयो । यतिसम्म प्रधानमन्त्री ओलीको ठाडो आदेशमा महोत्तरी रहेका माननीय डा. सुरेन्द्र यादवलाई अपरहण गरी काठमाडौं ल्याईयो । अन्य चार सांसदहरुले पनि पार्टी फुटाउन काठमाडौंको मारियाट होटेलमा अन्तिमसम्म छलफल गरे । यो घटनाको छानबिन गर्न जरुरी छ भन्ने मलाइ लाग्दैन् । यो सबैले प्रष्ट देख्ने र थाहा पाउने गरी सार्वजनिक भैसकेको छ । राजनीतिलाई पद, शक्ति र पैसा मात्र देख्ने नेताहरुबाट पहिचान सहितको राज्य स्थापित हुन सक्दैन् भने संघीयता कार्यान्वयन गर्न सकिन्न् । पार्टीले उठाएको १०ं प्लस ११ को मुद्दा स्थापित हुन् सक्दैन् । भर्खरै विभिन्न पार्टीहरु मिलेर एकिकरण भएर बनेको पार्टीका नेताहरुले अहिले नै शक्ति र सत्ताको सपना देख्दा यस्तो समस्या आउँछ । आफ्नो पार्टीको सरकार गठन गर्ने हैसियत नभएपछि मन्त्री पदको लागि पार्टीमा जे गर्न मानसिकता आएपछि ओलीले यस्तो अध्यादेश ल्याउनु स्वाभाविक देखिन्छ । तर देश कै प्रधनमन्त्रीले एउटा पार्टीलाई आधार बनाएर पार्टी फुटाउने अध्यादेश ल्याउनु पनि अर्को ठुलो लोकतन्त्र र पार्टीहरु प्रतिको अपराध कार्य हो । पार्टीमा देखिएको समस्यालाई देखाएर अरु पार्टीमा प्रवेश गरेर पद, शक्ति र पैसा क्षणीक रुपमा प्राप्त हुन सक्छ । तर यसले नेताको नैतिकता, राजनीतिक धरातल, पहिचान र अस्तित्व समाप्त गर्छ । पार्टीमा पार्टीकै अग्रज नेताहरुले कार्यकर्ता र भोटर्स बिरुद्ध ठुलो अपराध गरेका छन् । नियतबस गरिएको गल्ती र षडयन्त्र पार्टी, कार्यकर्ता र भोटर्सलाई ठुलो आघात पुगेको छ । यसको दण्ड, सजाय पार्टीले गर्छ, गर्दैन त्यो हेर्न बाँकी छ । अहिले यहि समयमा कार्वाही गर्ने पार्टीले हैसियत राख्छ, राख्दैन् यो पनि प्रश्न छ । एउटा समर्पित कार्यकर्ताको मनमा प्रश्नहरु स्वत स्फुर्तरुपमा जाग्ने गर्छ ।

अन्तमा,
समाजवादी पार्टी र राजपाको एकीकरण हुने बारे चर्चा चलेको वर्षौ बित्यो । माओबादी र एमालेसंगै हाम्रो यी दुई पार्टीले पनि २०७४ मंगिर १० र २१ को प्रदेश र संघीय संसदको लागि चुनावी तालमेल गरेको थियो । माओबादी र एमाले जस्तो एकता गर्ने घोषणा गरिएको थिएन फरक यति हो । तर दुवै पार्टीका मुद्दाहरु एउटा भए पछी पार्टी सिद्धान्त, दर्शनमा पनि समानता थियो । एकताको चर्चा मात्र चल्ने तर हुन सकेको थिएन् । सायद नेताहरुलाई व्यवस्थापन मै गाह्रो भएकाले त्यसो हुन नसकेको भन्ने मेरो बुझाई हो । पार्टीको मुद्दा, सिद्धान्त र दर्शन मुल बिषय हिजो नि थियो आज नि छ भोलि पनि हुनेछ । तर मानविय स्वभाव हो पद पनि उतिकै महत्वपूर्ण बिषय हो भन्ने बुझाई छ । यो बुझाइ एक हदसम्म सहि पनि हो, जसरी अहिले नेपालको प्रधानमन्त्री केपी ओलीलाई बनाउदा जनताले दुख मात्र पाए त्यसरी नै पार्टीको उच्च पदमा क्षमताहीन मान्छेलाई बनाउदा मुद्दा प्राप्त गर्न सकिन्न् । यी कारणहरुले पनि पनि पार्टी एकता नभएको हुन सक्छ । समाजवादी पार्टी र राजपालाई प्रधानमन्त्री केपी ओलीले नै फुटाउने षडयन्त्र गरे पछी दुवै पार्टीका शिर्ष नेताहरुले हिम्मत गरेर मिति २०७७ बैशाख १० गते दुवै पार्टी एकीकरण पश्चात जनता समाजवादी पार्टी, नेपालको घोषणा मध्य रातमा गरेका छन् । यो स्वागत योग्य कार्य भएको छ । पार्टीका सबै नेता कार्यकर्ताहरु खुसी भएका छन् । यो ऐतिहासिक कार्यलाई उत्पीडित जनताहरुले पनि स्वागत गरेका छन् । तर यो एकता दिगो हुन सक्छ कि सक्दैन भन्ने शंका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा छ । आशा गरौ यो पार्टीको एकताले दिगोरुप लियोस् र नेपालमा देखिएका सबै किसिमका राजनीतिक, सामाजिक, सांस्कृतिक, जातीय, वर्गीय, धार्मिक, भाषिक तथा क्षेत्रीय उत्पीडनको अन्त्य गर्न सफल होस् ।

(लेखक समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय समितिका मुख्यसचिव हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "ओली, षड्यन्त्र र पार्टी विभाजन" A few seconds ago

सम्बन्धित खवर