आमाको महिमा – Satabdi News

आमाको महिमा

आमा धर्ती हुन्, ममताकी खानी एवं प्रेरणाकी स्रोत हुन् । कुनै शब्द अनि भनाइले प्रस्टयाउन नसकिने आमाको महिमा अपरम्पार छ । साँच्चै कुनै हरफले आमाको वर्णन गर्छ भन्नू बिल्कुलै असम्भव हुन्छ । अनेकौं पिडाहरूको बीच पनि मन्द मुस्कान लिएर आफ्नो सन्तानको लागि सोच्ने आमा, आफू नखाई नखाई सन्तानको पेट भर्ने आमा, सन्तानको खुसी र सफलतालाई नै आफ्नो खुसी र सफलता ठान्ने आमा, आफुलाई बिर्सेर सन्तानलाई अगाडि बढ्न बाटो देखाउने शक्तिपुञ्ज आमा, घामपानी, ओकाली ओराली, दिनरात केही नभनी सन्तानकै लागि दुःख गरिरहने आमा साँच्चै महान् हुन्छीन् । नौ महिनासम्म आफ्नो गर्भमा राखेर जन्माएर एउटा पुर्ण मानिस बनाउन पालनपोषणदेखि शिक्षा लगायत जीवनयापनका लागि आवश्यक पर्ने तमाम कुरामा दिशानिर्देश गर्ने आमा, आफ्नो ज्यानको प्रवाह समेत नगरी सन्तानको जीवन रक्षा गर्ने मानव संसारको जीवनचक्र चलाउने जगत जननीको उपमा लिइने आमा शब्द आफैंमा ओझपुर्ण र बिशाल छ ।
आमा शब्द हामी मानवसंग मात्र सम्बन्धित हुदैन् । संसारमा रहेको पशु तथा जनावरसंग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशु तथा जनावरले बच्चा जन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई संकेत गरि बोलाएको हुन्छ । चराचुरुङ्गीले बेला बेलामा च्याँ च्याँ गरि आमालाई नै बोलाएको हुन्छ । त्यस्तै अन्य स्थलचर तथा जलचर प्राणीहरूले पनि आमालाई विभिन्न रूप तथा तरिकाबाट खोजिरहकै हुन्छन् । जसले गर्दा आमा भन्ने शब्दसंगै आमाको महिमा संसारमा सबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ । विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूलाठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिई आएको पाइन्छ । विश्वका चर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफ्नो प्रसिद्व उपन्यासको नाम नै आमा राखेर मुख्य पात्रको रूपमा आमाको भूमिकालाई प्रस्तुत गरेको पाइन्छ । नेपाली साहित्य पनि प्रसिद्व साहित्यकारहरूले आफ्ना रचनाहरूमा आमाको महिमा र महत्वको बारेमा थुप्रै कथा, कविता र निबन्धहरू रचनाहरू गरेको पाइन्छ ।
तर विडम्बना विभिन्न कथा, कविता र निबन्धहरूमा आमाको महिमा, स्नेह र गुणगान पोखिएका भाव वा विचारहरू आजको यस समयमा व्यवहारमा भने लागू हुन नसकेको हो कि भन्ने आवाजहरू यत्रतत्र सुनिरहेको हुन्छ । बुढेसकालमा आफ्नै सन्तानबाट उपेक्षित बनेर सहारा विहीन आमाहरू आज बृद्वाश्रममा भेटिने गर्छनम् । प्राण भन्दा धेरै माया ममता दिएर हुर्काएका सन्तानले व्यस्त जीवनशैलीको बहानामा आफ्ना आमाहरूलाई हेरचाह, स्याहारसुसार गर्नुपर्ने समयमा बृद्वाश्रममा राख्ने र उहाँहरूको उपस्थितिलाई बोझ मान्ने गरेको कारण आमाहरूको दैनिकी निकै कष्टकर बन्ने गरेको छ । “मातृ देवो भव“ अर्थात आमालाई देवता सरह मान्नुपर्छ भन्ने संस्कार सिकाउने हाम्रो आदर्श वाक्य रहेता पनि व्यवहारमा भने लागू भएको देखिन्दैन् । ती वाक्य किताबका पानाहरूमा मात्र सिमित रहेको देखिन्छन् । यदि यी वाक्यहरू व्यवहारमा लागू हुन्थ्यो भने आज कयौं आमाहरू बृद्वाश्रममा बस्नुपर्ने अवस्था हुदैन थियोे ।
अतः आमा शब्द आफैंमा एउटा प्रबित्र शब्द हो । संसारमा कुनै चिज छैन् जसलाई आमाको महिमासंग तुलना गर्न सकियोस् । निस्वार्थ र सधैं सकारात्मक सोचतर्फ अभिप्रेरित गरिरहने आमा मायाकी खानी हुन् । आमालाई कुनै शब्दमा बयान गर्न सकिन्दैन् । आमाको महिमा अपरम्पार छ । आमालाई आजको दिन मात्र होइन वर्षभरि ३६५ दिन नै माया र सम्मान गरौ । संसारभरिका सम्पूर्ण आमाहरूलाई हार्दिक नमन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "आमाको महिमा" A few seconds ago

सम्बन्धित खवर