लकडाउन (बन्दाबन्दी) र बेलबारीका राजनैतिक व्यक्तित्वहरुको धारणा – Satabdi News

लकडाउन (बन्दाबन्दी) र बेलबारीका राजनैतिक व्यक्तित्वहरुको धारणा

 

‘रोगबाट मात्र हैन, भोक र शोक’ बाट पनि बचाउन आवश्यकता छ ।

ईरानराई
इञ्चार्ज, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बेलबारी नगर सङ्गठन कमिटी, मोरङ

 

संसारको बन्दाबन्दी एउटै तर बुझाइ अगल–अलग
कोभिडको महामारी एउटै तर जुधाइ अलग–अलग ।

शैक्षिक, राजनैतिक तथा साहित्यिक क्षेत्रमा सकेको काम गर्ने एक सचेत नागरिक भएकोले आफ्नो जिम्मेवारीअनुसार नियमित र सन्तुलितरूपमा आफ्नो दैनिकीलाई अगाडि बढाइरहेको छु ।
मेरो राजनैतिक जिम्मेवारी बेलबारी नगरक्षेत्र परेकोले आफ्नो दलका सबै तह र जिम्मेवारीका साथीहरू, नगरका जनप्रतिनिधि साथीहरू, बेलबारीका अन्य दलका साथीहरू, सामाजिक अगुवा, प्रहरी–प्रशासन, स्वास्थ्यकर्मी, पत्रकार र उद्योगीव्यापारी साथीहरूसँग निरन्तर सम्पर्क, सूचना, समन्वय र सहकार्यमा लागिपरेको छु । सकेको सहयोग गरेको छु । पार्टी कमिटीका साथीहरूसँग फोन सम्पर्क र आवश्यकता पर्दा भिडभाड नहुनेगरी सानो सङ्ख्यामा सामाजिक दूरी कायम गरेर भेटभाट र छलफल गरेका छौँ र समस्याहरूको समाधान खोजिएका छन् ।
म साहित्यमा पनि रुचि भएकोले केही साहित्यिक रचनाहरूको सिर्जना गर्नुका साथै niguro.com ‘निगुरो’ अनलाइनपत्रिकामार्फत विश्वव्यापी महामारीको महासङ्कटको यो बेला स्थानीय र देशविदेशका साहित्यकार, कलाकार र सङ्गीतकर्मी साथीहरूको अवस्था, भावना र सिर्जनाहरूलाई प्रकाशित गर्दै आइएको छ । यो कार्यबाट साथीहरू खुसी हुनुभएको छ ।
बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको संयोजकत्वमा सर्वदलीय सर्वपक्षीय ‘कोरोना रोग रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समिति’ गठन गरी आधारभूत वर्गका परिवारहरूलाई एक चरण राहत सामग्री उपलब्ध गराउनु, सर्वदलीय सर्वपक्षीय समन्वय समिति’ लाई वडास्तरमा पनि गठन गर्नु, कोरोना भाइरसको प्रारम्भिक परीक्षण बेलबारीमै पनि गर्ने व्यवस्था मिलाउनु, नगरउपप्रमुख ढाका पराजुलीको नेतृत्वमा बजार अनुगमन गरिरहनु, २०७६ चैत्र १ गतेदेखि यता बेलबारी नगरमा आएका मानिसहरूको सोधीखोजी गरी विवरण राख्नु, उहाँहरूको स्वास्थ्यपरीक्षण र उपचारमा सहयोग पुर्याउन, बेलबारीमा अलपत्र परेकाहरूलाई सकेसम्म उहाँहरूको घर पुग्ने र बिचल्नीमा परेका आफ्ना नागरिकहरूलाई बाहिरबाट ल्याउनु बेलबारी नगरपालिकाका सह्रानीय कार्यहरू हुन् ।
नगरका सबैसँग समन्वय र सहकार्य गर्दै बन्दाबन्दी र स्वास्थ्य–सचेतना र अनुशासनलाई कडाइका साथ कार्यान्वयन गर्ने÷गराउने, दैनिक ज्यालामजदुरी गरिखाने परिवारहरूको बिहानबेलुका चुल्हो बाल्ने अवस्था छैन भने, ‘रोगबाट मात्र हैन, भोक र शोक’ बाट पनि बचाउन आवश्यकताअनुसार तुरुन्तै खाजासामल, नुनभुटुनको व्यवस्था गर्ने, स्वास्थ्यलगायतका समस्यामा परेकाहरूलाई सहयोग गर्ने, सामाजिक हिंसा र विकृति हुन नदिन हरेक टोलमा जनस्तरबाट ‘टोल सुरक्षा तथा सूचना समिति’ गठन गरी परिचालन गर्ने, टोल विकास संस्थाहरूले गरेका कार्यहरूको अनुगमन र प्रोत्साहन गर्ने, कृषिबालीका लागि मलखाद र बिउबिजनको व्यवस्था गरिदिने, आवासविहीनहरूलाई बर्खा लाग्नुअगाडि नै बसोबासको व्यवस्था मिलाउने, अहिलेको योजना र बजेट कसरी परिचालन गर्ने र आगामी योजना र बजेट कस्तो बनाउने, त्यसका लागि छलफल गरी योजना बनाउँदै गर्ने, बन्दाबन्दी खुलेपछि केकस्ता कार्यक्रम र योजना, कोकोबाट, केकसरी दू्रत गतिमा अगाडि बढाउने भन्ने छलफल र योजना बनाउने, यो महामारीमा खट्ने स्वास्थ्य, सुरक्षा र सञ्चारक्षेत्रका साथीहरूलाई प्रोत्साहित गर्ने कार्य बेलबारी नगरपालिकाले निरन्तररूपमा गरी स्थानीय सरकार आम जनताहरूको साथ र सहकार्यमा छ भनी अनुभूति दिलाउनुपर्दछ ।
९८४२०७८१९९/९८०७०७०२७७
Email: iranrai77@gmail.com

 

नगरपालिकाले सबैलाई साथमा लिएर अगाडी बढनु पर्छ ।


तिलकप्रसाद राई
केन्द्रिय उपाध्यक्ष, नेकपा सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा
सचिवालय सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोरङ जिल्ला कमिटी

 

विश्व अहिले शोक, सन्त्रास र निष्किृय भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणले सिङ्गो मानवजातीलाई सिकार बनाई रहेको छ । चीनको वुहानबाट सुरु भएको यो संक्रमणले विश्वभरी महामारीको रुप लिइरहेको छ । आज सम्म करिब ३ महिना भन्दा बढी अवधीसम्म विश्वमा करिब २५ लाख भन्दा वढि संक्रमित भएका छन् । हाल सम्म करिब एक लाख ७० हजार मानिसहरुले ज्यान गुमाउन पुगेका छन् । त्यसो त निको हुनेको संख्या ६ लाख ५० हजार भन्दा माथी छ । नेपालमा अहिले सम्म संक्रमणको संख्या ४० पुगेको समाचार हाम्रो लागि दुखद छ ।
म २०७६/१२/९ गते आदिवासी जनजाती महासंघ संखुवासभाको तेस्रो जिल्ला अधिबेशन गराउन प्रमुख अतिथिको रुपमा गएको थिए । संखुवासभा मेरो पुख्यौउली भुमि भएकोले आफन्तहरुसंग भेटघाट गर्ने र २, ३ दिनमा फर्किने योजना थियो । चैत्र १० गते बिहान संखुवासभा महासंघले पत्रकार सम्मेलन राखेको थियो । त्यसबेला एउटा अनलाइन मिडियाले मेरो अन्तर्वार्ता लिएको थियो । त्यही बेला कोरोना भाइरस बारे झस्किएर त्यहाँको अन्य कार्यक्रम छोट्याएर संखुवासभाबाट दिउँसो ३ बजे बिदा मागी गाडीमा घर लागियो, र रातको करिब १० बजे घर आइपुगियो । यता भोलि पल्ट २०७६/१२/११ गतेबाट नेपाल सरकारले देशव्यापी लकडाउन लागु गर्यो ।
त्यस बखत चीनपछि इटालीमा एकैदिन चार सय ७५ जनाको मृत्यु भएपछि ठुलो त्रास फैलिदै थियो । सबै स्वाह हुने हो कि भन्ने भय विश्वमा भयो । यसबाट बच्ने उपाय तत्कालका लागि लकडाउन नै हुन सक्ने सन्देश वुहानको अभ्यासले दिएको छ । लकडाउन घोषणा भएपछि यसको पुर्णरुपमा पालना गरेर बसेको छु । बिहान उठेपछि एकछिन योगा गर्ने, तातो पानी लिने, साबुन पानीले हात धुने र सामाजिक दुरि कायम गरेको छु । अन्य काम ठप्प भएकोले परिवारका सदस्यहरुसंग छलफल गर्ने र खाली समयमा नातीसंग झुमिरहेको हुन्छु । एक मनमा लाग्छ, बिश्व र देशमा लोभीपापी, जालझेल, अन्याय अत्याचार, शोषण, दमन, भ्रष्ट्राचार र प्राकृतिक सुन्दरताहरुको बिनासले गर्दा पनि यस्तो भएको हुनसक्छ । बिपत्तीले सिर्जनात्मक ढंगले सोच्न सिकाओस् र सबै मानवजातिमा सद्बुद्धी पनि दिन सकोस् आशा गर्दछु ।
यो संगै म किराँत राई यायोक्खाको केन्द्रिय उपाध्यक्ष, आदिबासी जनजाती महासंघ, प्रदेश न १ को मुख्य सचिव, आदिबासी जनजाती महासंघ, बेलबारीको अध्यक्ष भएको हुनाले संस्थाका पदाधिकारी, सदस्यहरुसंग फोनमा छलफल गर्ने, कोरोना महामारीको बारेमा सचेत गर्ने, गराउने, हालखबर बुझ्ने र ताजा समाचार हेर्ने सुन्ने गर्छु । साथै आफ्नो नगरपालिका स्तरका पार्टीका साथीहरु, जनप्रतिनिधिहरु संग प्रत्यक्ष वा फोनमा सम्पर्क गरी छलफल गर्ने र सल्लाह सुझाब दिने काम गर्दै आएको छु । अन्य राजनीतिक दलका साथीहरुसंग पनि यो माहामारीको बारेमा छलफल गरिरहेको छु । दैनिक ज्याला, मजदुरी गरी खाने बिपन्न परिवारहरुलाई पर्न जाने राशन, पानीको समस्याको व्यवस्था कसरी मिलाउदै छन्, राहत पाए, पाएनन्, नजिकबाट बुझिरहेको छु । लकडाउनको बेलामा पनि जनताको काम पर्दा सामाजिक दुरी कायम गरी थाना, चौकीमा जाने कार्य गरिरहेको छु । पार्टीको एक तहको कार्यकर्ताको हिसाबले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको सम्पर्कमा छु । वडाहरुमा गएर समस्या बुझ्ने, पार्टीको छलफलमा सल्लाह सुझाव दिने कामहरु गर्दै आएको छु । यो महामारीबाट सुरक्षित रहने बारे सामाजिक सञ्जाल र गाउँमा गएको बेला मौखिक रुपमै सुसुचित गर्ने काम गरिरहेको छु । यो बेला त्रास भन्दा पनि शक्ति सृजना गरेर आत्मबल बढाइ अधिकतम सुरक्षाको उपायहरु अपनाउँदै कोरोना रोगको सामना गर्न आजको आवश्यकता छ, आफु पनि बाँचौ, अरुलाइ पनि बचाऊ भन्ने भाव जगाउन आग्रह साथ सुझाव दिइरहेको छु ।
यो लेखि रहदा नेपालमा जम्मा कोरोना संक्रमित ४२ जना जसमा ५ जना संक्रमणबाट निको भइसकेका तथ्याङक हामी सामु छ । हाल सम्म यस रोगको औषधी पत्ता नलागिसकेको हुनाले यसबाट सुरक्षित रहने हाम्रो सतर्कतामा भर पर्दछ । यस रोगलाइ सामुदायीक स्तरमा फैलिन नदिई भाइरसको चेन तोडन अपनाउनु पर्ने लकडाउन नै हो । जस कारण सरकारले लागु गरेको लकडाउनलाइ पालना गर्दै घरमै बस्नु पर्छ, सामाजिक दुरी कायम गर्नु पर्छ, सफासुघर बस्ने, साबुन पानीले हात धुने, तातो पानी लिने, सुरक्षित रहने आफु पनि बच्ने, अरुलाई पनि बचाउने तत्कालको उपाय यी हुन सक्छन् ।
कोरोना रोग छापामार शैलीमा आउने सजिलै फैलिन सक्ने रोग भएकोले यसले वर्ग, समुदाय, क्षेत्र, लिङ्ग, पार्टी कोहि छुटाउदैन्, त्यस कारण सबै एकजुट भएर यस रोगको सामना गर्दै अगाडी बढनु पर्ने छ ।
लामो समय सम्म लकडाउन हुदाँ धेरै समस्याहरु उत्पन्न हुन्छ । दैनिक ज्याला मजदुरी गरी खाने विपन्न परिवारहरुलाई कसरी भोकमारीबाट बचाउने र सबैको स्वास्थ्य कसरी सुरक्षित राख्ने यसमा सबै भन्दा बढी सरकारले ध्यान दिनु पर्छ । यसको व्यवस्थापन गर्न बेलबारी नगरपालिकामा एकद्वार प्रणाली अनुसार नगर प्रमुखको संयोजकत्वमा सर्बदलिय कोरोना रोग रोगथाम समिति गठन गरी सबै वडा स्तरमा पनि समिति बनेको छ । यो संगै एक चरण विपन्न परिवारहरुलाइ राशन, पानी बितरण गरेको छ । बाहिरबाट आएका मानिसहरुको खोजि गरि लगत राख्ने, प्राथमिक चरणको स्वास्थ्य परिक्षण र उपचारमा सहयोग पु¥याउने काम स्थानिय सरकारले गरिरहेको छ । तर जुन तागतका साथ एकिकृत रुपमा गर्नु पर्ने, त्यो अलि भइरहेको छैन् ।
लकडाउन भएको आज ३० दिन भै सक्यो, लामो लकडाउन हुदाँ पहिले राशन पाउनेहरु र छुटेका आधारभुत जनताहरुलाइ छाक टार्न समस्या भईरहेको छ । जसका निम्ति भुमिहिन, सुकुमबासी र दैनिक ज्याला, मजदुरी गरी खाने विपन्नहरुको लगत संकलन गरेर तुरुन्त फेरि नगर स्तरिय समितिले थप खध्यान्नका साथ माक्स, साबुन, सेनीटाइजरहरु वितरण गर्नु पर्दछ ।
यो संगै रोगथामको उपायहरु आम जनताहरुलाई निरन्तर सुसुचित गर्नुपर्छ । अहिले लकडाउनको बेलामा तरकारीहरु बाहिरबाट ल्याउनु भन्दा पनि स्थानिय उत्पादितहरु उपभोग गर्ने, कालोबजारी हुन नदिने, सामाजिक दुरी कायम गर्ने, अतिआवश्यक खाध्यनहरुको पसल खुल्ला गरी खाध्यन्न समानहरु किनबेच गर्दा भिड भाड हुन नदिने लगायत बिषयहरुमा सक्रियता बढाउनु पर्छ । यो बन्दाबन्दीले कृषि व्यवसाय गर्ने, पशुपालन फर्म व्यवसायीहरुलाई क्षति भइरहेको छ । त्यस क्षतिको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायले योजना ल्याउनु पर्दछ । बालीनाली लगाउने बेला भएकोले प्रत्येक टोलमा कृषकहरुलाई रोगको बारे सचेतना र रोकथामका उपायहरु प्रचार गर्दै साथमा खेतिपाती गर्न मलबिउ उपलब्ध हुने वातावरण बनाउनु पर्छ । बृद्ध, एकल महिला जस्ता सामाजिक भत्ता वडा कार्यालय मार्फत घरघरमा पुर्याउने व्यवस्था मिलाउनु पर्छ ।
यो भाइरस भयनाक रोग भएकोले यो बेला फराकिलो सोचका साथ नगरपालिकाले सबैलाई साथमा लिएर अगाडी बढनु पर्छ । जसले गर्दा सबैले अपनत्व ग्रहण गर्दै उत्तरदायित्व महसुस हुनेछ र सहयोगको सम्भावना बढेर जानेछ । अन्तमा यो अवस्थामा पनि क्रियाशील भुमिका निभाइ रहेको शताब्दी न्युजलाई धन्यवाद तथा प्रगतिको शुभकामना दिन चाहान्छु ।

 

गरिब, मजदुरहरुको पहिचान गर्न तत्काल सर्वदलीय समिति गठन गरिनु पर्छ ।


केदार धिमाल
१ नं. प्रदेश सदस्य, समाजवादी पार्टी

 

विश्वमा कोरोना भाईरस (कोबिड–१९) ले मानव समुदायलाई त्रसित पारेको छ । संसार कोरोना भाईरसमय भएको छ । कसलाई कति खेर लाग्छ थाहा छैन् । यसको शुरुवात कसरी भयो त्यो पनि थाहा छैन् । यो रहस्यमय भाईरसले पैसा, विबेक, ज्ञान, औषधि, डक्टर, नर्स, प्रहरी, सेना, बम, बारुद कसैलाई टेरेको छैन् । यो भाईरसले मानव समुदायलाई ठाडो चुनौती मात्र दिएको छ । यो कोरोना भाईरसको औषधी भाईरोलोजिस्ट र बिज्ञहरुले निर्माण नगरेसम्म सिंगो मानव समुदायलाई सखाप बनाउछु भनेर अघोषितरुपमा चुनौती दिएको छ । यो भाईरसले विश्वलाई घेराबन्दी गरेको छ । त्यसकारण सबै देशहरुले आफ्नो नागरिकहरुलाई बन्द कोठामा मात्र बस्न निर्देशन जारी गरेको छ । जो नागरिकहरु कोठामा बस्छ उनीहरुले मात्र यो भाईरसलाई जित्न सक्छ । हरेक मानिसको मनमष्तिष्कमा कोरोना कोरोना मात्र छ । यो भाईरसले मान्छेको मृत्यू बाहेक मानिसको सबै गतिविधि रोकेको छ ।
नेपालमा पनि कोरोना भाईरस प्रवेश गरिसेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा ४३ जनालाई यो भाईरस लागिसकेको छ । जस मध्ये ४ जना उपचार पछी घर फर्केका छन् । नेपाल अहिलेसम्म पहिलो चरणमा छ । नेपाल सरकारले अन्तराष्ट्रिय फ्लाइट र भारतसंगको खुल्ला सिमानालाई पुर्णरुपमा बन्द गर्न सकेको छैन् । नेपालमा यी दुई माध्यमबाट मात्र भाईरस प्रबेश गरेको छ । यो कार्य अझै गर्न नसके नेपालमा विकराल रुप लिन सक्छ ।
नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेको हो । सरकारको अर्को निर्णय नआएसम्म बैशाख १५ गतेसम्म लकडाउन हुनेछ । म पनि सामान्य नागरिक हुँ, अरुलाई जस्तै मलाई पनि लकडाउनको नियम लागु हुन्छ । अध्ययनमा रुची भएकाले यो समयमा अध्ययन गरिरहेको छु । अलि बढि दर्शनको बिषयमा रुची भएकाले त्यहि सम्बन्धि लेख पुस्तक अध्ययन गरिरहेको छु ।
यो भाईरस लाग्ला कि भन्ने डर सबैमा छ । नागरिकको साथ साथै राज्य नै गम्भीर हुनु पर्छ । तर राज्य गम्भीर भएको देखिन्न् । नेपाल सरकारले अहिलेसम्म १० लाख भन्दा बढि मानिसहरुलाई जाँच गरिसक्नु पर्ने थियो । पचास हजारसम्म पनि जाँच गर्न सकेको छैन् । यस्तो धिमा गतिले लकडाउन खोल्ने संकेत देखिन्न् । नेपाली नेताहरु ज्यादा दक्षिण तिरको नक्कल गर्ने बानी भएकोले पनि उता के निर्णय हुन्छ । त्यसको आधारमा यता पनि निर्णय गर्ने चलन छ । नेपालमा कोरोना भाईरसको संक्रमितहरु वृद्धि हुदैछ । यो बारेमा राज्य, सरकार सचेत रहनुका साथै आवश्यक कदम चाल्नु पर्छ ।
बेलबारी नगरपालिका मोरङको एउटा सम्भावना बोलेको नगरपालिका हो । यो सुगम स्थलमा छ । त्यसकारण यहाँ हरेक कार्य गर्न भौगोलिक दृष्टिकोणले सहज छ । यो प्रदेशमा सबै भन्दा ज्यादा कोरोना भाईरस संक्रमित भेटिएको छ । त्यसकारण सजकता अपनाउन जरुरी छ । अहिले यो नगरमा कोरोना संक्रमित नदेखिए पनि व्यवस्थित क्वारेन्टाईन बनाउनु पर्छ । यहाँ सार्वजनिक भवनहरु प्रस्तत छन् । यसका लागि पहल गर्नु पर्छ । यो नगरका नागरिकहरुलाई पनि परिक्षण गर्न प्रक्रिया थाल्नु पर्छ । सबैलाई सचेत गराउनु पर्छ । प्रत्येक हप्ता सामाजिक सञ्जाल मै भए पनि नगरपालिकाले आफ्नो जनतालाई सुचना सम्प्रेषण गर्नु पर्छ । यो नगरमा निम्न आय भएका धेरै मानिसहरु छन् । उनीहरुको पहिचान गरी आवश्यक राहत बितरण गर्नु पर्छ । राहत वितरणको कार्य भैरहेको छ । तर आफ्नो कार्यकर्ता र भोटरसलाई मात्र राहत वितरण गरेको ब्यापक जन गुनासो आएको छ । गरिब, मजदुरहरुको पहिचान गर्न तत्काल एउटा सर्वदलीय समिति बनाएर काम गर्न सके प्रभावकारी हुनेछ । कृषकहरूले उत्पादन गरेको कृषिजन्य सामाग्रीहरुको उचित व्यस्थापन गर्नु पर्छ । सामाजिक दुरी कायम गराउनु पर्छ । यस नगरका नागरिकहरु काठमाडौंबाट आउन चाहनेलाई ल्याउने व्यवस्था गर्नु पर्छ । तत्काल यति कार्य गर्न सके यो नगर सुरक्षित हुने थियो ।

 

राहत वितरणमा पक्षपात भईरहेको जन गुनासो छ ।


राजकुमार लिम्बु
सदस्य, नेपाली काङग्रेस, जिल्ला समिति मोरङ

 

लकडाउन हामी नागरिकको सुरक्षाको लागि हो । नोवल कोरोना भाईरसबाट बच्ने सवै भन्दा प्रभावकारी उपाय घरमा नै बस्नुु हो । हामी जतिको मानिसले लकडाउनको पालना नगर्दा अरू सामान्य नागरिकले के गर्ला ? त्यसैले घरमा नै बसिरहेको छु । विहान सामान्य रनिङ्ग, ब्यायाम गर्ने, घरको काममा सहयोग गर्ने अनि पुस्तकहरू पढ्ने साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय समाचारहरू सुन्ने हेर्ने गर्दछु ।
राहत वितरणको सम्वन्धमा भन्नू पर्दा वेलवारी नगरपालिकामा पक्षपात भईरहेको छ भन्ने जन गुनासो छ । नगरपालिकाले राहत वितरण गर्दा पूर्वाग्रह नराखि गर्नु पर्छ । किनकि स्थानीय सरकार सवैको सरकार हो, नकि नेकपा मात्रको । त्यसैले नागरिकले चर्काे कर नगरलाई तिरेका छन् ताकि यस्तो असामान्य परिस्थितिमा सहयोग गरोस् भनेर । अब राहत वितरण गर्दा पर्याप्त, विभेद रहित पारदर्शि ढङ्गवाट गर्न अनुरोध गर्दछुु ।

 

बाहिरी मानिसको आवत जावतलाई कडाईका साथ रोक्नु पर्छ ।


प्रताप थापा
सदस्य, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोरङ जिल्ला कमिटी

लकडाउनको समयमा घरमै तरकारी खेती लाउने, कृषि फर्ममा माछा, कुखुरा, हाँस, खसि, बाख्रा, तरकारी लगायतको हेरदेख गर्ने, आफ्नो छरछिमेकमा रहेका अति बिपन्न परिवारलाई सरसहयोग पुर्याउने, बाँकि रहेको समयमा लेख्ने, पढने गरिरहेको छु ।
विपन्न परिवारको लागि गाँस, बास र स्वास्थको व्यवस्थापन यथासिघ्र गर्ने, कोरोना भाइरसलाई पराजित गर्न आवश्यक बजेट व्यवस्थापन तुरुन्त गर्ने, आफ्नो नगर भित्र व्यवस्थित तरिकाले अनुगमन गरिरहने, बाहिरी मानिसको आवत जावतलाई कडाईका साथ रोक्ने, कोरना उपचारको लागि व्यवस्थापन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन (बन्दाबन्दी) र बेलबारीका राजनैतिक व्यक्त..." A few seconds ago

सम्बन्धित खवर