रन्जना राई
तिमिलाई
सपनामै भेटिरहनु पनि
मेरो आदत बनेछ
अचेल ।
थाहा छैन
तिम्रा यादहरुलाई
म किन यति बिघ्न प्रेम गर्छु ??
किला ठोकेर मुटुका भित्ताहरुमा
किन सजाउछु तिम्रो तस्बिर ??
किन बग्न भन्छु तिमिलाई
प्रत्येक शिरा र धमनिहरुमा ??
सायद,
सपनाहरुको छोटो सुचिमा
तिमी सबैभन्दा प्रीय सपना थिएछौ मेरो
जसको शहादत्तपछी आजसम्म
म जुठो बारिरहेको छु
रंगहिन भएर ।
खोइ किन
शुन्यताको एकोहोरो सिलशिलाभित्र
तिम्रो कल्पनामय उपस्थिति
बित्पात रमाइलो लाग्छ मलाई ??
आफ्नै सपनाहरुले
साथ छोडिसकेका मेरा आखाहरु
किन थाक्दैनन तिम्रो सपना देखेर ??
म अनुत्तरित छु
बेजान छु
साच्चै,
के तिम्रा सपनाहरुले पनि
मेरा सपनाहरुलाई प्रेम गर्थे ??
के तिम्रो प्रेमले पनि
मेरो प्रेमलाई प्रेम गर्थ्यो ??