नेपालमा कोरोना पछिको भोकमरी संकट ? – Satabdi News

नेपालमा कोरोना पछिको भोकमरी संकट ?

झिल कुमार खिम्बुले राई

मानव इतिहासमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-19) का कारण विश्वमा २० लाख भन्दा बढीमा संक्रमण फैलिई सकेको छ भने लगभग १ लाख ३५ हजार बढीको यस भाइरसले ज्यान लिई सकेको छ । अझै यसको प्रकोप दिन गुणा रात चौ गुणा फैलने क्रम जारी नै रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (WHO) ले कोरोना भाइरस नियन्त्रणका लागि यसको खोप निर्माण गर्न लगभग २ वर्षको अवधी लाग्ने वताई सकेको छ । खोप निर्माण नगरी कोरोना भाइरस (कोभिड-19) पुर्ण रुपमा नियन्त्रण गर्न नसकिने जानकारी समेत गराएको छ । भर्खरै उता अमेरिका स्थित क्याम्ब्रीजमा रहेको अक्स्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुका रिपोर्ट अनुसार सन् २०२२ सम्म सामाजिक दुरि राख्नु पर्ने यदि अटेर गरे मानव जगतले ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।

यस्तै विश्व श्रमिक सङ्गठन (ILO) ले कोरोना भाइरस कै कारण विश्वमा लगभग २ देखि ३ अर्व मजदुर वर्गले रोजगारि गुमाउनु पर्ने स्थिती आएको सुल्झाएका छन् त्यसको प्रत्यक्ष मार नेपाल र नेपाली श्रमिकले खेप्नु पर्ने निश्चित छ । यति वेला नेपाल देशलाई कोरोना भाइरसले  (तथ्यांक अनुसार) अन्य देशको तुलनामा कम प्रभाव पारेको देखिन्छ । यसको (आन्तरिक आफ्नै कारण होला) । तर नेपाल सरकार सरोकारवाला निकायहरुले आम नागरिक र जनताको लागि जुन रफ्तार र जुन गति अनुसार कार्य सम्पादन गर्नु पर्थ्यो जुन तयारी र होसियारी अपनाइनु पर्थ्यो त्यो भने नअपानाएको मात्रै हैन बरु उल्टै कोरोना नियन्त्रण मेडिकल सामग्रीमा भ्रस्टाचार गरेको खबरले सरकारको विश्वसनियता र कार्य शैली प्रतीआम नागरिकको उदासिनता बढेर गएको छ ।

डिसेम्वरको अन्तिम साता चिनको वुहान शहर बाट सुरु भएको कोभिड -१९ ले आफ्नो गति ४ महिनाको अवधिमा बढाएर विश्वको १८५ बढी रास्ट्रहरुमा आफ्नो फैलावट विस्तार गरि सकेको छ । जसको कारण विश्व वजारलाई आज बन्द सामाजिक परिवेशमा मुन्टिन बाध्य बनाएको छ, जसलाई लकडाउन को नाम दिईरहेका छौ । यसको उत्पती वा जन्म के कारणले कसरी किन भयो त्यो पत्ता लगाउने जिम्मा पियोर बिज्ञानको हो ।

आज यहाँ उठान गर्न खोजिएको बिषय नेपाली समाजले  झेल्नु पर्ने र झेलिरहेको भोक बिज्ञान हो की ? भोकमरि संकट को हो ? नेपालले लकडाउनको आज २३ औ दिन पार गरेको छ, भने सरकारले अझै वैशाख १५ सम्म लकडाउनको समय अवधि बढाएको छ । आवश्यक परे खड्ग प्रसाद ओलि सरकारले समयअवधि बढाउने लक्षण देखाएको छ । जुन महामारी सङ्ग लड्नको लागी विश्वले अपनाउदै आएको एक बिकल्प हो ।

विश्व पुजिवादी ब्यवस्थाको एउटा चरणमा छ, सङ्गै नेपाल पनि त्यसको नक्कल गर्दै दलाल पुजिवादको चरणमा ठिङ्ग उभिएको छ । गाउँ वस्तिहरु बृद्द आश्रममा परिणत भएका छन् । पुर्खाको रगत पसिना द्वारा निर्माणधिन खेतबारी रनवन भएको छ । लाठे युवाहरु बालुवामा मोति फलाउने सपनाको वायुपङ्खी घोडा उडाएर खाडिको ६५ डिग्री तापक्रममा फोक्सो फुलाउदै छ्न । आज खाडी मलेसिया, कुवेत सहित अन्य दर्जनौं मुलुकहरुले तेरो मजदुर तुरुन्त लैजा हैन भने श्रम सम्झौता नै खारेज गर्दिन्छु भनेर सरकारलाई चेतावनी दिइरहेको हुदा नेपालीहरुको त्यो एउटा सपना कलिलैमा तुहिएको छ । यता भारत सहित नेपालका शहरहरु बाट सपनाको थात बिसाएर भोकभोकै पैदल गाउँ फर्कने लस्कर हेर्दा लाग्छ अब बृद्द अस्थिरपन्जर जस्ता देखिने आमा बाबाहरुले गाउमा लगाएको खेतिले कति दिन धान्ला ती लामा-लामा जन्तिहरुको भोकमरीलाई ? शहरबाट गाउँ पैदल जान नसक्ने र शहरको कमाई बिहिन महङ्गी झनै धान्न नसक्ने ठूलो जमातको भोकमरी कस्ले धान्ला ?

विगतका आर्थिक वर्षहरुको तथ्यांक हेर्दा ४० देखि ५० अर्व सम्म को बार्षिक खाद्यान्न नेपालमा आयत भएको देखिन्छ । तर अहिलेको समयमा कोरोना प्रभावका कारण विश्वका सवै जसो मुलुकहरुमा प्राय उत्पादन ठप्प भएको र जति आयात भैरहेका छन् ती खरिद मुल्यमा अत्यधिक मुल्य वृद्धि भैइ आइरहेको छ । यसले गर्दा आम्दानी को स्रोत नहुने र उत्पादन सम्बन्धसंग नजोडिएको शहरमा बस्ने विद्यार्थी र मध्यम वर्गिय नेपालीहरु भोकमरिको चपेटामा पर्ने पक्का देखिन्छ । नेपालमा कुल ४१ लाख हेक्टर भन्दा बढी खेती योग्य जमिन मध्ये ३० लाख हेक्टर जमिन मा मात्र खेती गर्ने गरेको एक तथ्यांकले देखाएको छ त्यो पनि जीवन निर्वाह मुखी कृषि प्रणाली रहेको हुदा उत्पादन लागत र उत्पादन को अनुपात बरावर रहेको छ ।

बिदेशमा कमाउन गएका नेपाली मजदुरको रोजगारी कटौती भैइ नेपाल फर्काइनु, शहर केन्द्रित मजदुर विद्यार्थी गाउँ फर्कनु, विदेशबाट नेपाल आउने खाद्यान्न रोकिन्ने सम्भवना बढेर जानु, राज्यद्दारा बैकल्पिक बिधिको खोजी नगर्नु, बीउ विजनमा माटो र हावापानी सुहाउदो खोज अनुसन्धान नहुनु, कृषि कार्यप्रती युवापुस्ताको बिकर्षण बढ्नु वा सुरक्षित महसुस नगर्नु, उत्पादनको साधान माफियाकरण हुनु, जलवायु परिवर्तनका कारण उत्पादनमा ह्रास हुनु र सोहि अनुसारको कृषि प्रणालीको बिकास गर्न नसक्नु, बजारिकरण भन्डारण र उपयुक्त मूल्य वास्ताविक किसानले पाउन नसक्नु, राज्य संयन्त्रद्वारा वास्ताविक किसानलाई सहुलियत दरमा ऋण र अनुदान उपलब्ध गराउन नसक्नु, सहकारी सस्थाहरु द्दारा वास्ताविक सहकार्य भन्दा आर्थिक कमाउको उदेश्य रहनु, कृषि पेशालाई सम्मानित र सुरक्षित पेशा हो भनी राज्यद्वारा किसानलाई विश्वास दिलाउन नसक्नु, सरकारले विपत ब्यवस्थापन गर्नको निमित्त वैकल्पिक तयारी र होसियारी नअपनाउनु जस्ता कारण कोभिड १९ संगै भोकमरिको मार नेपालिले खेप्नु पर्ने अर्को महासङ्कट को समस्या हो ।

यो समय नेपालमा खेति किसानि सुरु गर्ने मौसम हो । जहाँ राज्यले कोरोना भाइरससंग जुध्दै भोलि आइपर्ने सम्भावित भोकमरी अभाव कसरी ब्यावस्थापन गर्न सकिन्छ भनेर अल्पकालीन, मध्यकालीन र दिर्घघकालिन बिकल्पको खोजि गरि निश्चित कार्यविधि अपनाई तीन-तहको सरकार विच समन्वयात्मक एक्सन ओरिन्टेड कार्य गर्ने वेला हो । तर कम्युनिस्ट बिचारक कृषि मन्त्री घनश्याम भुसालको कृषि कार्यक्रम र योजना अहिले सम्म जनताको हकमा कागलाई बेल पाक्यो हर्ष न विस्मत जस्तो भएको छ । कोरोना नियन्त्रणमा सरकार को कार्यसम्पादन आफैमा सुस्त र मन्द गतिमा छ नै, भष्टाचार नियन्त्रण, कालोबजारी, किर्तिम अभाव सृजना गर्नेहरु माथि अनुगमन र कार्वाही नगर्नुले सरकारको हविगत स्थिती दिन प्रतिदिन गिर्दो स्थितिमा पुगेको छ ।

राहत वितरणमा अनियमितता हुनु सरकारले आफ्नो आसेपासे नजिकको कार्यकर्ता लाई मनोमानी हिसावले राहात बाड्नु र वास्ताविक गरिव असाहय पिडित जनताले नपाउनु र त्यस्ता कर्म गर्नेहरुलाई कार्वाहिको दायरामा उभ्याउन नसक्नु यो प्रतिकुल स्थितिको अर्को दु:खद बिषय हो ।

विश्वमा कोरोना भाइरस महामारिको बिकसित सिनारियो हेर्दा छिमेकी मुलुक भारतमा संक्रमणको वस्तुस्थिती नियाल्दा र विभिन्न अन्तरास्ट्रिय सङ्घ सङ्गठन (WHO) (ILO) हावर्ड बिश्वबिद्धालयहरु को रिपोर्ट अध्ययन गर्दा र निको भएर घर फर्की सकेका बिरामीमा पुन भाइरस संक्रमण देखिनुले खोप निर्माण नभए सम्म कोभिड -१९ तुरुन्तै नियन्त्रणमा नआउने भाइरस हो भन्ने पुष्टि हुन्छ ।
बिकासलाई द्वन्द्दवादी दृष्टिकोणले हेर्ने हो, भने विकास हुनको लागि बिनास हुनै पर्छ । यो महाविपत वा महाविनाश लाई नेपाल देशले सदुपयोग गर्न र भोकमरी जस्ता संकटबाट छुट्कारा पाउन सरकारले यो संकटलाई अवसरमा बदल्न सक्नु पर्छ । हिजो गाउँ छोडेर अवसरको खोजिमा गाउँ छोडेको लाठेहरु यतिवेला शहरबाट बिदेशबाट गाउँ फर्कने सोचाइमा रहेको छ । यो बृद्द श्रममा परिणत भएका गाउघरलाई श्रम शक्तिमा रुपान्तरण गर्ने राज्यको लागि ठुलो मौका हो । जसको लागि गाउँ फर्कने युवा पुस्तालाई स्वास्थ्य परिक्षण गरि दुई हप्ता सम्म सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने अनिवार्य मापदण्ड बनाएर शहरबाट सुरक्षाकर्मीको स्कटिङ्ग स्थानिय सरकारको रोहवरमा फिर्ता पठाई कृषि पेशामा आबद्द गराउनु पर्छ जसको लागि सरकारले विशेष कृषि योजना तथा कार्यक्रम ल्याउनु पर्छ ।

नेपालमा हाल सम्म ३५ हजार बढी सहकारी सस्था दर्ता भैइ संचालनमा रहेका छन् । उनीहरु संग लगभग ३ खर्व बढीको पुजि रहेको छ । जुन नेपालको लागि ठूलो पुजी हो । सहकारीको पुजी उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने देखिन्छ । सरकारले सहकारीलाई बीउ, विजन, मल कृषि औजार तथा कृषियन्त्र खरिद, भण्डारण प्रशोधन तथा ढुवानिका साधन लगायतमा सहुलियत दिई सहकारिलाई कृषि उत्पादन देखि बजारीकरण सम्म समावेश गर्ने सरकारले विशेष कार्य योजना तुरुन्त निर्माण गर्न आवश्यक छ । आम नागरिकले पनि आफ्नो दैनिकी र जीवनशैलिमा सुधार ल्याइ महाविपतबाट आफू र आफ्नो राष्ट्रलाई जोगाउन लागि पर्नु पर्ने देखिन्छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "नेपालमा कोरोना पछिको भोकमरी संकट ?" A few seconds ago

सम्बन्धित खवर