रोशन अधिकारी
समृद्धिका लागि ब्यवहारीक र सिर्जनशिल शिक्षा
हाम्रो देशबाट दैनिक औषत ११ सय देखि १३ सय सम्म युवाहरु बैदेशिक रोजगारिको लागि बिदेश पलायन हुन्छन। ती युवाहरुमा ठूलो हिस्सा त कम्तिमा पनि विद्यालय स्तरको शिक्षा हासिल गरेकै हुन्छन। ज्यादै न्यून हिस्सा मात्र निरक्षर हुन्छन् । आफ्नो देसमा रोजगारिका क्षेत्र नभएका भने हैन, नेपाली बजारमै ठूलो संख्यामा जनशक्तिको खाँचो छ। यसो भैरहदा पनि आखिर किन युवा जनशक्ति रोजगारीको खोजिमा विदेशिनु परेको होला त ? आफ्नै मुलुकमा रहेका शिक्षित युवाहरु पनि किन बेरोजगारीको समस्याले पिल्सनुपरेको होला त?
अवश्य पनि हाम्रो देशको शिक्षा प्रणाली बिकासमुखी छैन, सिर्जनशिलतामुखी छैन, ब्यवहारिक जिवनमुखी छैन, खोज-अनुसन्धानमुखी छैन। वस्तुतः हाम्रो मुलुकमा शिक्षा सम्बन्धी बुझाई नै गलत छ। केवल अक्षरहरु रटान लगाएर ३ घण्टाको परिक्षाबाट प्राप्त हुने अंकलाई गुणस्तरको तराजुमा ताैलन्छाैँ, नकि विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता, अन्तरनिहित क्षमता र ब्यवहारिक कार्यक्षमताका आधारमा। जब कि परीक्षा दिनुभन्दा बाहिर कुनै ब्यवहारिक जिवनमा लागू नै हुदैन, न त त्यो ज्ञानले विद्यार्थीलाई सिर्जनशिल बनाउन सक्छ। प्रसिद्ध बैज्ञानिक आईन्स्टाइनले भनेका थिए, ‘लामो समयसम्म मेरो सिकाईको सबैभन्दा ठूलो बाधक नै मेरो शिक्षा बनेको थियो।’ आजको मुलुकको शैक्षिक पद्धती ठिक यस्तै बनेको छ। यहाँ बेरोजगार जनशक्ती उत्पादन हुने किसिमको शिक्षा राज्य आफैले विद्यार्थीमा लगाम लगाईदिएको छ। मुलुकको बिकासका बिभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ती निर्माणका निमित्त, सोही अनुकुलको ब्यवहारिक शैक्षिक योजना ल्याउन सके युवा कसरी बेरोजार हुन्छ ? ब्याक्तिको रुचि अनुसारको क्षेत्रलाई शिक्षाको रुपमा बिकास गरि विद्यार्थीलाई सिर्जनशिल बनाउन सके उसको लगनशिलताले स्वरोजगार बनाउन सहयोग गर्छ कि गर्दैन ? यहाँनेर मुलुकको साधन स्रोतको उपलब्धता र तिनलाई शसक्त परिचालन गर्ने दक्ष जनशक्ती बिचको तादात्म्यता मिलाउने शिक्षा नीति बनाउन राज्य पक्ष चुकेको स्पस्ट देखिन्छ।
कुनै पनि युनिभर्सिटीले दिएको सर्टिफिकेट बोकेर पनि हामी बेरोजगार बन्छाैँ भने त्यो शिक्षाको कुन अर्थ रहयो र ? विद्यार्थीले ग्रहण गर्ने शिक्षाको गुणस्तर उसको स्मरणशक्तिमा मात्र नभै उसको सिर्जनशिल क्षमता र ब्यवहारिक कार्यक्षमताका आधारमा मुल्यांकन गर्न हाम्रो समग्र शिक्षा प्रणालिलाई प्रयोगात्मक बनाउन जरुरी छ । त्यसको लागि नेतृत्व पक्षले मुलुकको सिङ्गो शिक्षा प्रणालिलाई तहगत सुधार गरि मुलुकको अपरिहार्य आवश्यकता र औचित्यका आधारमा शैक्षिक कार्यक्रम, योजना एवं पाठ्यक्रम बनाउन पर्दछ ।
प्रथमतः विद्यार्थी जिवनको जग भनेकै आधारभुत तह हो, हुनत राज्यले यसलाई निशुल्क नबनाएको भने हैन तर पढाइ, बुझाई र सिकाईको पद्धति जुन छ त्यो वास्तविक धरातलमा परिणाममुखी नभै प्रक्रियामुखी मात्र रहेको पाईन्छ। शिक्षा सम्बन्धि ऎन परिमार्जन गर्न राज्यले जति सक्रियता देखाए पनि, परिमार्जित ऎनले पनि कुनै नयाँपनको जनशक्ती डेलिभर गर्न सक्दैन। कुन विषय अनिवार्य र कुन विषय ऐच्छिक बनाउने सम्बन्धमा मात्र ऎन परिमार्जन हुन्छ नकि विद्यार्थीलाई कसरी सिकाउने, कसरी बुझाउने र कसरि सिर्जनात्मक बनाउने सम्बन्धमा हुन्छ।
यहाँ बिज्ञान जस्तो प्रयोगात्मक विषयलाई पनि शब्दमै रटान गर्न लगाईन्छ नकि प्रयोगशालामा लगेर प्रयोगात्मक अभ्यास गराईन्छ। अरु बिसयको त कुरै छाेडाैँ।
त्यस्तै, स्कुल स्तरमा अध्यापन गराउने प्रायः शिक्षकहरुको मनोबैज्ञानिक पक्ष हेर्ने हो भने समय बिताउने र जागिर टिकाउने भन्ने ध्येय मात्र छ र अभिभावकहरु पनि आफ्ना बाल बच्चाको कुन विषयमा कति अंक आयो भनी उनिहरुको क्षमतालाई मुल्यांकन गर्दछन। कलिलो बाल मस्तिष्कमा पढिदिनुपर्ने,घोकिदिनुपर्ने भन्ने दवाव हुन्छ, उनिहरुले ईच्छाएको र रुचाएको बिसयमा उनिहरुको कला, सिर्जनशिलता र उनिहरुको अतिरिक्त क्रियाकलापलाई बुझ्ने नत पाठयक्रम छ न त शिक्षकमा सिर्जनशिल बनाउने क्षमता नै छ। अझ निजि बिद्यालयहरु पनि अंक भारलाई गुणस्तर ट्याग लगाउदै प्रतिस्पर्धाको होडबाजिमा छन।
अमेरिकाले माध्यमिक तहका विद्यार्थीमा प्रती विद्यार्थी १२ हजार डलर भन्दा बढी लगानी गर्छ त्यसको परिणाममा विद्यार्थीहरु योग्य र अब्बल भएर निस्कन्छन, तर नेपालको कुनै बेला १७% पुगेको शिक्षा बजेट पनि हाल १२% मा झरेको छ त्यसको पनि कार्यान्वयन पक्ष प्रभावकारी छैन। राज्यले स्कुल लेभलको शिक्षालाई निशुल्क मात्र हैन सबै पाठयक्रमलाई अनिवार्य प्रयोगात्मक बनाई उनिहरुको सिर्जनशिलता तिखार्ने प्रयत्न गरे मात्र त्यो परिणाममुखी शिक्षा हुनेछ। विद्यार्थीलाई रटन्ते र घोकन्ते भन्दा पनि प्रयोगात्मक, सिर्जनशिल र अतिरिक्त क्षमताको बिकास गर्ने नीति बनाउन अत्यन्तै जरुरी छ जसले बिद्यालय स्तरको दरिलो जग मुलुकलाई प्राप्त हुनेछ।
माध्यमिक तहको शिक्षा पश्चात् जब क्याम्पस लेभलको पढाइ सुरु हुन्छ, बिश्वबिद्यालयले दक्ष, गुणस्तरीय र विश्व बजारमा प्रतिस्पर्धा गर्ने दक्ष जनशक्ती उत्पादन गर्न असक्षम रहेको पाईन्छ। एकातिर मुलुकको आवश्यकता अनुरुपको शिक्षा छैन भने, अर्को तिर त्यसलाई सिर्जनशिल र ब्यवहारीक बनाउने सिकाई पद्धति छैन। हाम्रो देशका नेतृत्व वर्गले बिकास र समृद्धिको मिठो सपना देखाउछन तर त्यसका आधारस्तम्भ रुपमा रहेको शिक्षा क्षेत्र निकै जर्जर भैरहदा त्यसलाई सबल र अब्बल बनाउन ध्यान दिदैनन। जस्तै: हाम्रो देसमा जलविद्युतको प्रचुर सम्भावना रहेको छ, तर त्यसको निर्माणका निम्ति प्राविधिकहरु बाह्य मुलुकबाट झिकाउन पर्छ। तर देसको अनुरुपको शिक्षा प्रवाह गर्ने हो भने आफ्नै देसको बजारमा रोजगार सिर्जना हुन्छ र देस बिकासमा पनि टेवा पुग्नेछ। त्यस्तै हामिले हासिल गरिरहेको शिक्षा कति ब्यहारिक र परिणाममुखि छ हेरौं- एकातिर कृषिलाई अर्थतन्त्रको पहिलो आधार बनाइन्छ, नेपालिहरु ७०% को हाराहारीमा कृषिमा संलग्न छन साथै कृषि अध्ययन गर्ने शिक्षण संस्थाहरु पनि छन तर रिजल्टमा हामिले खाद्यान्नको आयत मात्रै अर्बौको गर्छाैँ उत्पादन सोचे भन्दा ज्यादै दर्दानक छ। अन्ततोगत्व: हाम्रो शिक्षा परिणाममुखी नभै प्रक्रियामुखि मात्र भएको पाईन्छ। त्यसैगरी हामिसङ पहाडीमुलमा प्रसस्त नगदेवालीका साथै बहुमुल्य जडिबुटी उपलब्ध हुन्छन तर त्यसको उत्खनन्, अन्वेषण र प्रसोधन गर्ने जनशक्तिको अभाव छ र त्यही मुलको मानिस तराई झरेर आडम स्मिथ,मार्शल, रोबिन्सका सिद्धान्त पढेर डिग्री हासिल गर्छ र बेरोजगार बन्छ। हाम्रो शिक्षा प्रणालि वस्तुतः गलत साबित हुन्छ। जब युनिभर्सिटीले सीप र सिर्जनशिलता हैन सर्टिफिकेट मात्र दिन्छ भने त्यो शिक्षाको कुन अर्थ रहन्छ ? हामी आफ्नै बजारमा बिक्न नसक्ने सर्टिफिकेट बोकेर बिश्वको कुन बजारमा प्रतिस्पर्धा गर्न सक्छौ ? त्यसैले राज्यले शिक्षालाई ब्यवहारिक जीवन सङ जोडन सक्नु पर्दछ, विद्यार्थीको सिर्जनशिलता र उसको ब्यवहारिक क्षमता लाई उजागर गर्न सक्नुपर्दछ। यहाँ बिज्ञान, वाणिज्य, शिक्षा, मानविकी मात्र शिक्षाका क्षेत्र नभै खेल, संगीत वा अन्य ब्याक्तिगत अभिरुचिका विषयलाई शिक्षा मान्न सक्नु पर्दछ, जुन शिक्षाले सीप र सिर्जनशिलता प्रदान गर्न सकोस ।
त्यस्तै क्यापस लेभलको शिक्षा भन्दा बाहिर खोज अनुसन्धानमुलक शिक्षा हुन जरुरी छ, जुन क्षेत्रमा राज्यले व्यापक लगानी गर्नुपर्दछ। खोज अनुसन्धान एवं अन्वेषणमुलक शिक्षाले आफ्नो मुलुकलाई मात्र नभै समग्र बिश्वकै लागी योगदान पुर्याउन सकोस । जसले अर्थ, वित्त, बिज्ञान, प्रविधि, कृषि, स्वास्थ्य एवम् क्षेत्रको विशाल अध्ययन एवं खोज अन्वेषण गर्न सकोस । यसमा राज्यले अर्वौ लगानी गरे पनि गुणस्तरीय रिजल्ट निकाल्न सक्ने हो भने त्यसले मुलुकलाई कत्ती पनि घाटा गर्दैन, उल्टो मुलुकको बिकासलाई बढोत्तरी गर्न मद्दत गर्नेछ।
मुलुकको बिकास एवं समृद्धिको मेरुदण्डको रुपमा रहेको शिक्षा आज व्यापार गर्ने उत्तम लगानीको क्षेत्र बनेको छ, तथापी निजि शैक्षिक संस्थाहरुपनी विद्यार्थीको अंकभारलाई आफ्नो गुणस्तर ट्याग लगाउदै प्रतिस्पर्धाको होडबाजिमा लागेका छन् । आज डिजिटल प्रविधिको युगमा सन्सार दौडिरहेको अवस्थामा राज्य संयन्त्र शिक्षामा क्रान्तिकारी कदम चाल्न गम्भीर बन्न सकेको छैन।
विद्यार्थीको हक-अधिकारको नारा लगाउदै सडक देखि सदन हुँदै सिंहदरबार सम्म पुगेका विद्यार्थी नेतृत्वहरु कति शिक्षामन्त्री भए भने कति त प्रधानमन्त्री सम्म भएका छन् । तर मुलुकको धोकन्ते र रटन्ते शिक्षामा आमूल परिवर्तन भने हुन सकेको छैन, जसको परिणाम स्वरुप शैक्षिक बेरोजगारको संख्या दिनानुदिन बढिरहेको विकराल अवस्था छ। भौगोलिक एवं प्राकृतिक विविधताले भरिपुर्ण मुलुकमा जनशक्ती बेरोजगार छ्न भने, प्राकृतिक स्रोत साधनहरु स्थिर छन् । बिकास र समृद्धि चर्को नारा लगाउने नेतृत्व वर्गले व्यवहारिक, बैज्ञानिक एवं जीवन उपयोगी शिक्षा बिना मुलुकको समृद्धि असम्भव छ भनेर कहिले बुझ्ने ?