लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग्नु पर्यौ – Satabdi News

लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग्नु पर्यौ

बेलबारी । गत वर्षको डिसेम्बर अन्तिममा चीनको वुहानमा देखापरेको कोराना भाइरस विश्वभर फैलिरहेको छ ।
अथक प्रयत्नपछि वुहान र समग्र चीनले कोरोना भाइरससँगको संघर्षमा जित हासिल गरेको छ । तर, युरोप, अमेरिका हुँदै विश्वका १९६ मुलुकमा यसले आफ्नो पखेटा फिजाइसकेको छ ।
निकै ढिला गरी नेपालमा कोरोना भाइरसको प्रभाव देखिँदै छ । बुधबारसम्ममा तीन नेपालीमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । सरकारले मंगलबारबाट देशैभर लकडाउन घोषणा गरेको छ । तर, आमनागरिकले सरकारको अपेक्षाअनुसार लकडाउनको पालना गरेका छैनन् ।
लकडाउन अवज्ञा निकै जोखिमपूर्ण रहेको छ । कोरोनासँगको लडाइँमा लकडाउन पूर्ण पूर्ण रुपले पालना गर्ने देशहरुले क्षति कम गरेका छन् भने नेपालमा जस्तै उपेक्षा गर्ने इटाली, स्पेन जस्ता देशहरुको अवस्था भयावह हुँदैछ । लकडाउनबारे समयमा निर्णय नलिने र सरकारले निर्णय लिएपछि पनि नागरिकले वास्ता नगर्दा इटालीमा कोरोना नियन्त्रणबाहिर पुगेको त्यहाँको सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।
भयावह अवस्थामा पुगेको इटाली
जनवरी ३१ मा पहिलोपटक इटालीको रोममा दुईजना चिनियाँ पर्यटकमा कोरोना संक्रमण देखिएको थियो । त्यसको एक सातापछि चीनको वुहानबाट फर्किएका इटालियन नागरिकमा कोभिड–१९ पोजिटिभ देखियो । त्यसबीचका दुई साता नयाँ बिरामी फेला परेनन् ।
२१ फेब्रुअरीमा एकैपटक १६ जना नयाँ बिरामी भेटिए । भोलिपल्ट त्यो संख्या बढेर ६० पुग्यो । त्यही दिन अर्थात्, २२ फेब्रुअरीमा कोभिड–१९ बाट इटालीमा पहिलो व्यक्तिको मृत्यु भयो । सुरुवात देखि नै लोम्बार्डीमा यसको प्रभाव ज्यादा देखियो । इटालीका कुल संक्रमित र मृतकमध्ये ८० प्रतिशत यही क्षेत्रका छन् ।
३१ फेब्रुअरीमा इटालियन सरकारले चीनबाट हुने सबै उडान बन्द गर्यो । ८ मार्चमा प्रधानमन्त्री ग्युसेप कोन्टेले लोम्बार्डी सहित उत्तरी इटालीका १४ प्रान्तलाई कोरोना भाइरसको मुख्य क्षेत्र घोषणा गरी संकटकाल लगाए ।
नागरिकलाई क्वारेन्टाइनमा बस्न आह्वान गरिएको थियो । ९ मार्चमा पूरै देशलाई क्वारेन्टाइनमा राखिएको घोषणा गरियो । त्यही दिन ९७ जनाको मृत्यु भएपछि १० मार्चमा देशभर संकटकाल घोषणा भयो । यति वेलासम्म मुलुकमा मृत्यु हुनेको संख्या ४ सय ६३ पुगेको थियो ।
इटालीमा संक्रमण फैलने खतरातर्फ समयमै न सरकार सचेत देखियो, न आमनागरिक । आमनागरिकले त सरकारको निर्देशन बेवास्ता गर्दै जम्मा हुने, भेटघाट गर्ने, घुमफिर गर्ने गरिरहे । सरकारले पनि कडाइ गरेन । फेब्रुअरीको अन्तिम साताभर इटालीका धेरै स्थानमा हजारौँ मानिस जम्मा भएर जात्रा मनाइरहेका थिए । ‘हरेक वर्ष फेब्रुअरी अन्तिम साताभर यहाँ भव्य रूपमा सांस्कृतिक जात्रा निकाल्ने गरिन्छ ।
सरकारले घोषणा गरेको लकडाउन पालना गर्नुको साटो त्यसको विरोधमा सर्वसाधारणले ठाउँ–ठाउँमा जुलुस नै निकाले । सरकारले आफ्ना अधिकार नियन्त्रण गर्न खोजेको मानबअधिकारवादीहरुले विरोध गरे । क्याफेमा भिडभाड कायमै थियो । मर्निङ वाक र इभिनिङि वाकमा ठूलो समय निस्किरह्यो । मास्कलगाएर हिँड्ने मान्छेलाई ट्वाल्ल परेर हेर्नेहरुको संख्या ठूलो थियो । स्थिति अराजकतातर्फ गइरहेको भएपनि सरकारले कडाई गर्न सकेन ।
सरकारले संक्रमण फैलिन नदिन गरेको कडाईको विरोधमा कारागारभित्रका कैदीबन्दीले आगजनीसमेत गरे । ८ मार्चमा भएको घटनामा झडप हुँदा ८ जना कैदीबन्दीको ज्यान गयो ।
नागरिकले लगातार लकडाउन उल्लंघन गरिरहेपछि नियन्त्रण गर्न सरकारले २ सय ६ युरो जरिवानाको घोषणा गरेको थियो । उल्लंघन नरोकिएपछि यो सता प्रधानमन्त्री कोन्टेले जरिवानाको रकममा वृद्धि गरेका छन् । अब क्वारेन्टाइन नियम तोडेमा तीन महिना जेल सजाय हुनेछ भने तीन हजार युरोसम्म आर्थिक जरिवाना तिर्नुपर्नेछ ।
संक्रमित व्यक्ति घरबाट बाहिर निस्किए हत्या बराबरको सजाय हुने घोषणा भएको छ ।
लकडाउन पालना नगर्दा इटलीमा भएको क्षति
– ३१ जनवरीमा पहिलोपटक संक्रमण
– १५ फेब्रुअरी तीनजना संक्रमित फेला
– २८ फेब्रुअरीमा पार्सियल लकडाउन सुरु
– २८ फेब्रुअरीसम्ममा ११२८ संक्रमित, २९ को मृत्यु
– ८ मार्चमा केही क्षेत्रमा संकटकाल घोषणा
– ८ मार्चसम्ममा ७३७५ संक्रमित, ३६६ मृत्यु
– १० मार्चसम्ममा देशभर संकटकाल घोषणा
– १० मार्चसम्ममा १०, १४९ संक्रमण, ६३१ मृत्यु
– २५ मार्चसम्ममा ६९, १७६ संक्रमित, ६८२० मृत्यु
समयमा ध्यान नदिँदा स्पेन संकटमा
स्पेनमा २० जनवरीमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । बेलैमा सचेत नहुँदा स्थिति भयावह बन्दै गएको छ । अस्पताल भरिएका छन् । बेड अभावमा बिरामीलाई घरमै राखेर उपचार भइरहेको छ । इटालीपछि स्पेनमा धेरै मानवीय क्षति भइरहेको छ ।
संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेपनि राजधानी मड्रिडमै अवज्ञा गर्नेहरू देखिन्छन् । अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीले भिडियोमार्फत रुँदै हात जोडेर मानिसहरूलाई घरभित्र बस्न अनुरोध गरिरहेका छन् । तर, मानिस बाहिर निस्किरहेका छन्, घुमिरहेका छन् । लकडाउन तोृड्ने ४० हजारभन्दा बढीलाई नियन्त्रणमा लिएर प्रहरीले आर्थिक जरिवाना गराएको छ । संक्रमण फैलने जोखिमको बेवास्ता गर्दा स्पेन आज अकल्पनीय क्षति भोगिरहेको छ ।
संक्रमण फेला पर्नसाथ सरकारले सजगता नअपनाएको र १५ मार्चमा देशलाई लकडाउन गर्नुअघिसम्म इटालीमा जस्तै सानाठूला गतिविधि निर्बाध भएकोले संक्रमण देशभर फैलियो ।
नयाँ पत्रिका
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "लकडाउन पालाना नगर्दा स्पेन र ईटालीले समस्या भोग..." A few seconds ago

सम्बन्धित खवर