काठमाडौं । समाजवादी पत्रकारहरुको संगठन ‘प्रेस नेपाल’ ले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनीकरणका लागि थप प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ ।
प्रेस नेपालका महासचिव विजय चाम्लिङले आइतबार प्रेस विज्ञप्ती जारी गरी कोरोना भाइरसको जोखिम न्युनीकरणका निम्ति सरकारले हालसम्म गरेका निर्णयहरुको स्वागत गर्दै गम्भीरताका साथ थप प्रभावकारी कदम चाल्नका लागि माग गरेका हुन् ।
महासचिव चाम्लिङले कोरोना भाइरसबाट सतर्कता र सावधानी अपनाउन आम सर्वसाधारणमा अपिल समेत गरेका छन् । साथै पत्रकार तथा सञ्चारकर्मीहरुलाई रिपोर्टिङमा सावधानी अपनाउन, सकेसम्म घरमै बसेर काम गर्ने व्यवस्था मिलाउन, कोरोना भाइरसबारे तथ्य र प्रमाणित भएका सूचनाका आधारमा मात्र समाचारजन्य सामाग्रीहरु प्रकाशन प्रशारण गर्ने विषयमा पनि गम्भीर हुन प्रेस नेपालले आग्रह गरेको छ ।