कलेजो हाम्रो शरीरको सबैभन्दा ठूलो अंग हो। यो लगभग एक– साढे एक केजीको हुन्छ। कलेजोले हाम्रो शरीरमा आवश्यक पर्ने प्रोटिन र आल्मुनियम जस्ता थुप्रै तत्वहरु बनाउँछ। यसका काम अनेकौं हुन्छन् । यसमध्ये पनि मुख्य भनेको शरीरको आन्तरिक व्यवस्थापन गर्नु हो ।
हामीले खाएको खाना कलेजोमा जान्छ र सुगर तथा पोषिलो तत्व बढेको हुन्छ। नखाएका बेलाका लागि पनि यसले ‘व्यालेन्स’ गरिराखेर व्यवस्थापन गर्छ । केही हानिकारक कुरा खाइएमा त्यसलाई फाल्ने काम पनि कलेजोले गर्छ । हामीले खाएका औषधी कलेजोमा गएर मेटाबोलाइज हुन्छन् ।
हाम्रो रगतमा हेमोग्लोविन हुन्छ जसले अक्सिजन लिन्छ। यसलाई रातो बनाउने काम रक्तकोषिकाले गर्छन् जो १ सय २० दिनमा मर्छन्। रक्तकोषिकाहरु मरेपछि हेमोग्लोविन पहेंलो पदार्थमा परिणत हुन्छ। यसलाई ‘कन्जुकेट’ गरेर फाल्ने काम कलेजोले गर्छ।
कलेजोको समस्या
कलेजो एउटा सिंगो अलग प्रकारको अंग हो । यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ । कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ । यो अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ । कुनै विशेष कारणवश् सात दिनदेखि दस दिनमा समस्या आएमा त्यो अल्पकालिन हुन्छ ।
उदाहरणका रुपमा, एकै दिनमा कसैले धेरै पारासिटामोल खाए त्यसले कलेजोमा हानी गर्छ । त्यो बेलामा कलेजो बिग्रिन सक्छ जो उपचार पछि निको हुन्छ । छ महिनाभन्दा बढी नरहनेलाई अल्पकालिन हेपाटाइटिस भनिन्छ ।
हेपाटाइटिस ‘ए’ र ‘इ’ सरुवा हुन्छन् जसलाई जण्डीस पनि भनिन्छ । यो पानीबाट सर्छ जसले कलेजो संक्रमण गर्छ। एकदेखि तीन महिनासम्ममा आफै हराएर जाने पानीबाट सर्ने हेपाटाइटिस हो ।
हेपाटाइटिस ‘बि’ र ‘सी’ले भने लामो समय दुःख दिन्छन् । किटाणु शरीरमा रहेसम्म यसले कलेजो बिगार्ने काम गरिरहन्छ । यसलाई दीर्घकालिन हेपाटाइटिस भनिन्छ ।
अल्पकालिन हेपटाइटिस (जण्डिस) मा खान मन नलाग्ने, वाकवाक लाग्ने हुन्छ । दीर्घकालिनमा यस्तो लक्षण देखिदैंन । यसले त धमीराले काठ खाएझैं विस्तारै हानी गर्छ । खोक्रो बनाइसकेपनि दसौं वर्षसम्म थाहा नहुन सक्छ । कलेजो कडा हुँदै जान्छ भने कालान्तरमा क्यान्सर वा कलेजो फेल हुन सक्छ ।
हिजोआज कलेजोमा बोसो जम्ने समस्या देखिन थालेको छ। यो बोसोले कलेजोलाई बिस्तारै–बिस्तारै हानी गर्छ। यसले १५–२० वर्षमा कलेजो फेल गराउने वा क्यान्सर हुने सम्भावना बढ्छ। दैनिक वा लामो समयसम्म अत्यधिक रक्सी सेवन गरेमा हेपाटाइटिस हुन्छ।
उपचार
कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ। रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ। राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ ।
हेपटाइटिस ‘ए’ र ‘इ’ तीन महिनाभित्र सामान्य हुँदै जाने भए पनि यो समयमा राम्रो आहार लिनुपर्छ। सुरुमा केही औषधि खान परे पनि पछि पर्दैन।
दीर्घकालीन हेपाटाइटिसमा पनि कारण पत्ता लगाई उपचार गरिनुपर्छ। कारण रक्सी भए बन्द गरेर वा कलेजोमा बोसो जमेको भए तौल घटाएर उपचार गर्नुपर्छ। बोसो जमेको भए चिल्लो कम खाने, व्यायाम गर्ने र आवश्यक परेमा औषधि पनि खानुपर्छ ।
लापरबाही गरे के हुन्छ ?
हेपाटाइटीस हुँदा लापरबाही गर्नुहुँदैन । अल्पकालिन खालेमा जथाभावी जडीबुटी औषधी खाने वा अनावश्यकरुपमा खाना बार्ने गरेमा निको हुन समय लाग्छ ।
कहिलेकाँही जडीबुटीले पनि कलेजो खराब गर्न सक्छ । त्यसैले जन्डिस हुँदा कलेजो बिग्रिने धेरै हुन्छन् । यस्तो बेलामा खाना बार्ने पनि होइन बरु राम्रो र पोषिलो खानुपर्छ ।
कलेजो बिग्रिएको बेला यसलाई चाहिने पोषण नभए झनै समस्या समाधान हुँदैन । जथाभावी औषधि खाने वा हेलचेक्र्याँइ गरेमा कलेजो सुन्निने, रगत नै वान्ता हुने लगायतका समस्या आउँछन् । त्यो अवस्थामा कलेजोले काम गर्न छाडेको हुन्छ । तर, यस्तो अवस्थामा पुग्न कलेजो बिग्रेदेखि १५–२० वर्ष लाग्छ । जसको उपचार भनेको कलेजो फेर्नु हो ।
त्यसैले यहाँसम्म पुग्नुअगावै जाँच गराउनुपर्छ । समयमै कलेजोको समस्या पहिचान र उपचार गर्न सकियो भने यसलाई जोगाउन सकिन्छ ।
कसरी थाहा पाउने ?
समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन । कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन् । तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन् ।
कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, रगत वान्ता हुने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् जुन दीर्घकालिन हेपाटाइटिसका लक्षण हुन् ।
अल्पकालिन हेपाटाइटिसमा भने केही दिन खाना अरुचि हुने र पेटको माथिल्लो भागमा दुख्ने हुन्छ । यो दुई–तीन हप्तामा विस्तारै सुधार हुँदै जान्छ। यसमा लक्षण चाँडो देखिन्छ र निको पनि चाँडो नै हुन्छ ।
कलेजो कसरी जोगाउने ?
कलेजोको समस्या हुन नदिन अत्यधिक रक्सी खानु हुँदैन। कहिलेकाँही खाने गरेपनि लतका हिसाबमा दैनिक र धेरै भने खानु हुँदैन । बेलाबखत हेपाटाइटिस ‘बि’ जाँच्नुपर्छ । सामान्य मानिसमा पनि यो हुनसक्छ । यो सर्ने सम्भावना १५ वर्ष मुनिकालाई बढी हुन्छ भने गर्भवती वा दूध खुवाउने आमाबाट बच्चालाई पनि सर्छ ।
नेपाल सरकारले हेपाटाइटिस ‘बि’ को भ्याक्सिन दिने गरेको छ। त्यसैले अबका पुस्ताका बच्चालाई यसको सम्भावना निकै कम छ। यो खोप नलगाउनेले भने एकपटक परीक्षण गर्नु राम्रो हुन्छ।
हेपाटाइटिस ‘सी’को कुरा गर्दा यो सबैभन्दा धेरै लागुऔषध प्रयोगकर्ताबाट सर्छ। जथाभावी सुई लगाउने वा ट्याटु खोप्ने गर्दा सर्न सक्छ। शरीरमा अरुको रगत चढाउँदा पनि परीक्षण गरेर मात्र गर्नुपर्छ।
कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ।
त्यस्तै डाक्टरको सल्लाह बिना औषधि कहिल्यै खानु हुँदैन र पानी सकेसम्म उमालेर वा राम्ररी शुद्धीकरण गरेर मात्र खानाले पनि यसबाट बच्न सकिन्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै
कलेजोमा जम्मा हुने कोलेस्टेरोल यी खानाहरू घटाउछ जानिराखाैँ
कोलेस्टेरोल के हो ?
कोलेस्टेरोल शरीरका प्रत्येक कोषहरूमा पाइने नरम चिल्लो पदार्थ हो । यसको उत्पादन प्रमुखरूपमा कलेजोमा हुन्छ । स्वस्थ्य जीवनका लागि कोलेस्ट्रोल आवश्यक हुन्छ । रगतमा पाइने बोसोलाई कालेस्ट्रोल भनिन्छ ।
यसले शरीरको प्रत्येक कोशिकालाई जिवित राख्न मद्दत गर्छ । ब्लड प्लाजमाद्वारा कोलेस्ट्रोर शरीरको विभिन्न अंगमा पुग्छ । तर, कहिले कहिं यसको मात्रा बढ्न सक्छ । जब रगतमा कोलेस्ट्रोलको मात्रा अधिक हुनसक्छ, त्यसले मुटुमा समस्या पैदा गर्ने खतरा रहन्छ ।
रगतमा आवश्यकभन्दा बढी कोलेस्टेरोलको मात्रा भए त्यसले शरीरलाई नराम्रो असर पार्छ । बढी भएको कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्याएर रक्तप्रवाहमा अवरोध पुर्याउँछ।
यसरी प्रभावित धमनी उल्लेख्य रूपमा बन्द भए वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने रोग -ऐँठन), पक्षाघातजस्ता समस्या देखापर्न सक्छन् । यसबाट जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुनसक्छ । त्यसैले जोकसैले पनि आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलित राख्न प्रयत्न गर्नुपर्छ । कोलेस्टेरोलको आवश्यक मात्रा हरेक बिरामीमा फरक-फरक हुन्छ।
४५ वर्ष नाघेका जोसुकैले आफ्नो रगतमा कोलेस्टेरोलको मात्रा ठीक ठाउँमा राख्न पारिवारिक चिकित्सकसँग परामर्श लिई नियमित जाँच गराउनुपर्छ । मासु, दूधबाट बनेका पदार्थहरू र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरू हुन् ।
नियमित शारीरिक व्यायाम, ताजा तरकारी तथा फलफूल यथाशक्य सेवन गर्ने र चिल्लो तथा भुटेका/तारेका खाद्यपदार्थको प्रयोग नगर्ने बानी बसाल्दा पनि कोलेस्टेरोलको मात्रा घट्न सक्छ। यसको मात्रा घटाउने केही औषधि पनि छन्, जुन चिकित्सकको सल्लाहमा मात्र सेवन गर्नुपर्छ ।
नियमित व्यायाम गरेपनि खानपान स्वस्थ छैन भने शरीरमा खराब कोलेस्टेरोलको मात्रा बढ्छ । यसलाई नियन्त्रित गर्न खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
१. ओखर
ओखरमा ओमेगा ३ र मोनो स्याचुरेटेड फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ । ओखर खानाले १५ प्रतिशतसम्म कोलेस्टेरोल नियन्त्रण गर्न सकिन्छ । यसले शरीरको सूजन पनि निको पार्छ, जसबाट शरीरमा रक्तसन्चार प्रक्रियामा सुधार हुन्छ । ओखरमा ओमेगा ३ का अलावा भिटामिन बी कम्प्लेक्स र भिटामिन इ पनि प्रचूरमात्रामा पाइन्छ ।
२. ओलिभ आयल
यो तेल मोनोस्याचुरेटेड फ्याटको सबैभन्दा राम्रो स्रोत हो । यसले पनि शरीरको सूजन कम गर्न सहयोग गर्छ र कोलेस्टेरोलको लेभल पनि कम गर्छ । यदि मुटुका लागि स्वस्थकर खानाको बारेमा चिन्तित हुनुहुन्छ भने ओलिभ आयल सेवन महत्वपूर्ण हुन्छ । यसलाई खाना पकाउने हिसाबले मात्र होइन, सलादको रुपमा पनि खान सकिन्छ ।
३. रेडवाइन
मदिरा सेवन स्वास्थ्यका लागि हानिकारक हुन्छ । तर वैज्ञानिक अनुसन्धानले रेड वाइनले कोलेस्टेरोल नियन्त्रणमा मद्धत गर्छ भन्ने देखिएको छ । रेडवाइन एक विशेषप्रकारको अंगुरबाट बनेको हुन्छ, जसलाई टेम्प्रानिलो रेड ग्रेप नामले चिनिन्छ । यसले कोलेस्टेरोल लेभललाई घटाउँछ । यसका लागि राति एक ग्लास वाइन पिउन सकिन्छ। तर, त्यो भन्दा धेरै पिएमा भने त्यसले उल्टो असर गर्नेछ ।
४. सुन्तलाको जुस
सुन्तलाको जुस पनि कोलेस्टेरोल नियन्त्रण गर्ने विशेष प्रकारको सुपरफुड हो । सुन्तलाको जुसलाई बिहान ब्रेकफास्टमा लिन सकिन्छ । यो भिटामिन सीको सबैभन्दा राम्रो स्रोत हो । यसका अलावा यसमा म्याग्नेसियम, भिटामिन बी कम्प्लेक्स, भिटामिन ए र पोटासियम भरपूर मात्रामा पाइन्छ । एक अनुसन्धानअनुसार सुन्तलाको जुस नियमित रुपमा पिउनाले कोलेस्टेरोलको लेभललाई नियन्त्रित गर्न सकिन्छ ।
५. डार्क चकलेट
डार्क चकलेटमा हुने एन्टिअक्सिडेन्टले कोलेस्टेरोल नियन्त्रण गर्न सघाउ पुर्याउँछ । सानडियागो स्टेट युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले डार्क चकलेटले ब्लड सुगर र खराब कोलेस्टेरोल घटाउन सकारात्मक प्रभाव पारेको फेला पारेका थिए । यसले असल कोलेस्टेरोल बढाउन पनि भूमिका खेल्छ । यसका साथै यसले छाला स्वस्थ राख्न मद्धत गर्ने, दिमाग चुस्त पार्ने, रक्तसन्चार नियमित गर्ने, दृष्टि सुधार गर्नेलगायतका फाइदा रहेको पत्ता लगाएका थिए ।
६. ग्रीन टी
ग्रीन टीमा हुने एन्टिअक्सिडेन्ट तत्व कोलेस्टेरोल घटाउन उपयोगी हुन्छ । अमेरिकन डाइटेटिक एशोसियनको जर्नलमा प्रकाशित अनुसन्धानअनुसार ग्रीन टी नियमित रुपमा सेवन गर्ने मानिसको शरीरमा कोलेस्टेरोलको स्तर निकै कम रहेको पाइएको छ । ग्रीन टीले ५ देखि ६ अंकसम्म कोलेस्टेरोलको कूल मात्रा र एलडीएल स्तर कम गर्न सहयोग गर्छ ।
कोलेस्टेरोलको मात्रा बढ्न नदिन अपनाउनुपर्ने केही उपाय यस्ता छन्
१. कोलेस्टेरोलको समस्या भएकाहरूले तेल र तेलजन्य पदार्थको सेवन सन्तुलित मात्रामा गर्नुपर्छ । प्रतिदिन तीन चम्चाभन्दा बढी तेल भरिसक्के खानु हुँदैन ।
२. भान्छामा प्रयोग गर्ने तेल बदलिरहनुपर्छ । एकपटक ल्याएको तोरीको तेल सकिएपछि सूर्यमुखी, जैतुन, तिल, नरिवल तेल आदि ल्याउनुपर्छ । नियमित एउटै तेल खानु हुँदैन । यसरी तेल बदलेर खाने गर्नाले शरीरलाई उपयोगी हुने खालका सबै खाले फ्याट प्राप्त हुन्छन्, जुन कोलेस्टेरोलको बिरामीका लागि उपयोगी हुन्छन् ।
३. कोलेस्टेरोलको मात्रा सन्तुलनमा अमला खाने गर्नुपर्छ ।
४. चुकन्दर खानाले पनि रगतमा कोलेस्टेरोलको मात्रा सन्तुलनमा रहन्छ ।
५. हरियो सागसब्जी, कोसे तरकारी, केराउ, सूर्यमुखीको दाना, आलसजस्ता खानामा फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले शरीरमा कोलेस्टेरोलको मात्रालाई नियन्त्रित र सन्तुलित अवस्थामा राख्छ ।
६. मेथी, लसुन, प्याज, बेसार, हाडेबदाम, सोयाबिन आदि खाने गर्नाले पनि कोलेस्टेरोल नियन्त्रित अवस्थामा रहन्छ ।
७. कोलेस्टेरोल बढेमा कलेजोमा समस्या उत्पन्न हुनसक्छ । त्यसैले कोलेस्टेरोल बढ्ने समस्या भएकाहरूले एलोभेरा, अमला र तरकारीको जुस मिसाएर खाने गर्नाले कोलेस्टेरोलका कारण कलेजोमा जम्मा भएको विकार शरीरबाहिर निकास हुन्छ ।
८. कोलेस्टेरोलको समस्या भएकाहरूले काँचो नरिवलको पानी पिउने गर्नु रामो हुन्छ ।
९. कोलेस्टेरोल हुनेले उसिनेको खाना खान जोड दिनुपर्छ । घिउ, बटर आदि खानु हुँदैन । बिस्कुट, कुकिजजस्ता खाद्य पनि कम खानुपर्छ । साथै, जंक फुठ पनि कम खानुपर्छ ।
१०. फलफुल र सागसब्जि बढी खाने
११. नियमित शारीरिक व्यायाम गर्ने
१२. तौल घटाउने
१३. चुरोट र मदिरा छाड्ने
नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।
साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।