काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण – Satabdi News

काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण

४ जेठ २०७८, मंगलबार। काठमाडौं रेजर्स नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को विजेता बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको फाइनल खेलमा धनगढी एफसीलाई १–० गोलअन्तरले पराजित गर्दै काठमाडौंले उपाधि जितेको हो ।

उपाधिसँगै काठमाडौंले ३५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता धनगढी एफसीले १५ लाखमै चित्त बुझायो । काठमाडौंले एनएसएलको उपाधि जित्ने क्रममा धनगढीविरुद्ध मिठो बदला पनि लिएको छ । प्रतियोगिताको लिग र प्लेअफमा यसअघि काठमाडौं धनगढीसँग पराजित भएको थियो । तेस्रो भेटमा काठमाडौंले अघिल्लो दुई पराजयको बदला मात्रै लिएन, धनगढीसँग उपाधि नै खोस्यो ।

उपाधि जितेपछि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले खुसी व्यक्त गरे । ‘यो उपाधि म हाम्रा खेलाडी, प्रशिक्षण टोली, टिम व्यवस्थापन सबैप्रति समर्पण गर्न चाहन्छु । मैले यसअघि भन्दै आए जस्तै हामीले यो उपाधि काठमाडौंमै राख्न सफल भएका छौँ,’ उनले भने, ‘उपाधि जित्न र धनगढीविरुद्ध यसअघि दुईपटक पराजित हुँदा गरेको गल्तीलाई सुधार गर्ने हाम्रा लागि यो अवसर थियो । हामीले त्यो अवसर सदुपयोग गरेका छौँ ।’

फाइनल खेलमा काठमाडौंले सुरुवातबाटै सशक्त प्रदर्शन गर्दा धनगढीले भने आफ्नो स्वाभाविक खेल खेल्न सकेन । विशेषगरी, धनगढीले पहिलो हाफमा निकै कमजोर प्रदर्शन गर्‍यो । खेलको पहिलो हाफमा नियमित आक्रमण गरेको काठमाडौंले २१औँ मिनेटमा अग्रता लियो ।

विश्वास श्रेष्ठले दिएको छोटो पासमा डी–बक्स लाइनभित्रबाट क्यामरुनी मिडफिल्डर मेसोके अलोउमोउले धनगढीका दुई रक्षकबीचबाट प्रहार गर्दै काठमाडौंलाई १–० ले अघि बढाएका थिए । उनको प्रहारलाई रोक्ने प्रयास गरेका धनगढीका गोलरक्षक किरणकुमार लिम्बू असफल देखिए ।

त्यसपछिको समयमा दुवै टोलीबाट थप गोल नभएपछि मेसोकेको उक्त गोल नै काठमाडौंलाई उपाधि दिलाउन पर्याप्त बन्यो । यद्यपि, खेलको पूरा अवधिभर दुवै टोलीले गोलका केही राम्रा अवसर खेर फालेका थिए । पहिलो हाफको इन्जुरी समयमा काठमाडौंका मेसोकेले नै एउटा अर्काे उत्कृष्ट अवसर खेर फालेका थिए । तेज तामाङले दिएको बललाई धनगढीको डी–बक्सभित्र गोलरक्षक किरणसँगको ‘वान भर्सेस वान’को अवस्थामा मेसोकेको प्रहार पोस्टभन्दा धेरै माथिबाट बाहिरियो ।

खेलको दोस्रो हाफमा धनगढीले सुधारिएको प्रदर्शन गर्‍यो । यद्यपि, प्राप्त धेरै अवसर सदुपयोग गर्न नसक्दा धनगढी उपाधिबाट चुक्यो । दोस्रो हाफको सुरुवातमै अर्थात् खेलको ४६औँ मिनेटमा निशान लिम्बुले क्रस गरेको बललाई काठमाडौंका गोलरक्षक विकेश कुथुले नियन्त्रणमा लिन नसक्दा बुद्धबल तामाङले खाली पोस्टमा प्रहार गर्ने अवसर पाएका थिए । यद्यपि, उनले प्रहार गरेको बल काठमाडौंका रक्षक फ्लोरेन्ट कोएराको खुट्टामा लागेर फर्कियो । खेलमा धनगढीले बनाएको र गुमाएको त्यही पहिलो अवसर थियो ।

त्यसपछि खेलको ५२औँ मिनेटमा पुजन उपरकोटीले धनगढीको अर्काे उत्कृष्ट अवसर चुकाए । निशान खड्काले प्रहार गरेको कर्नरमार्फत आएको बललाई उनले सिक्स यार्डबाट कसैको पनि अवरोधविना प्रहार गर्ने अवसर पाएका थिए । तर, बलसँग उनले राम्रो ‘कनेक्ट’ गर्न सकेनन् ।

खेलको ५६औँ मिनेटमा धनगढीका अशोक खवासले झन्डै २० यार्ड दूरीबाट प्रहार गरेको बललाई काठमाडौंका गोलरक्षक विकेशले क्रसबारबाट बाहिर फ्याँकेका थिए ।

खेलको ६५औँ मिनेटमा काठमाडौंको अर्काे उत्कृष्ट अवसर खेर गयो । विश्वास श्रेष्ठले दिएको पासमा स्टेफन बिनोङले धनगढीको डी–बक्सभित्र पु¥याएर गोलरक्षक किरणसमेत बिट हुने गरी क्रस गरेका थिए । तर, उनको उक्त क्रसलाई खाली पोस्टमा गोल गर्नका लागि काठमाडौंका कुनै पनि खेलाडी त्यहाँ थिएनन् ।
खेलको ७४औँ मिनेटमा मेसोकेले झन्डै ३० यार्ड दूरीबाट प्रहार गरेको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा काठमाडौं अग्रता दोब्बर बनाउने अवसरबाट चुकेको थियो । खेलको ८८औँ मिनेटमा डी–बक्स लाइनबाहिरबाट गरेको सशक्त प्रहार क्रसबारको निकै नजिकबाट बाहिरियो ।

उपाधिबाट चुकेपछि धनगढीका नाइजेरियन प्रशिक्षक फुजा टोपेले आफ्ना खेलाडीको प्रदर्शनमा शंका गरे । उनले आफ्नो टोलीले निकै कमजोर प्रदर्शन गरेको स्वीकार गरे । ‘हामीले आज खेलको पहिलो हाफ निकै खराब खेल्यौँ । मेरा खेलाडीले किन त्यसरी खेले भन्ने मलाई पनि थाहा छैन,’ प्रशिक्षक फुजाले भने, ‘दोस्रो हाफमा हामीले सुधारिएको प्रदर्शन गर्‍यौँ । तर, प्राप्त अवसर सदुपयोग गर्न नसक्दा हामी उपाधिबाट चुक्यौँ ।’

धनगढीका कप्तान किरणले पनि आफ्ना खेलाडीको प्रदर्शनमा असन्तुष्टि जनाए । ‘पहिलो हाफको खेलमा हाम्रा खेलाडीमा जितको मानसिकता नै देखिएन । फाइनल खेलिरहेका खेलाडीमा जित्नुपर्छ भन्ने व्यवहार नै देखिएन,’ किरणले भने, ‘त्यसका बाबजुद हामीले दोस्रो हाफमा राम्रो प्रदर्शन ग¥यौँ । दोस्रो हाफमा हामीले खेलमा पकड बनाएका थियौँ । तर, प्राप्त अवसर सदुपयोग गर्न सकेनौँ ।’

फेयर प्ले अवार्ड (बुटवल लुम्बिनी एफसी)
प्रतियोगिताको सर्वाेत्कृष्ट घोषित खेलाडी र प्रशिक्षकले जनही एक–एक लाख प्राप्त गर्नेछन् । यस्तै, उदीयमान खेलाडीले ५० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "काठमाडौं रेजर्सले जित्यो एनएसएलको पहिलो संस्करण" A few seconds ago

सम्बन्धित खवर