महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला – Satabdi News

महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको विकल्प खोज्नुपर्छ : डा. कोइराला

३१ चैत, काठमाडौं । कांग्रेस नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको वर्तमान सरकार जति समय रहन्छ, त्यति नै अराजकता बढ्दै जाने बताएका छन् । प्रेस युनियन कास्कीले सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले ओली सरकारको विकल्प दिन ढिला गर्न नहुनेमा जोड दिए । 

‘प्रधानमन्त्री ओलीमा राजनीतिक इमानदारी भएको भए संसद् पुनस्र्थापना हुनासाथ राजीनामा दिनुपर्ने थियो,’ उनले भने, ‘प्रधानमन्त्री ओलीले नैतिकता नदेखाउँदा समस्या आएको छ । कांग्रेसले पनि जुन खालको पहल गर्नुपर्दथ्यो त्यो गरेन ।’

कोइरालाले प्रधानमन्त्रीसँगै सभामुखको भूमिकालाई लिएर पनि आक्रोश पोखेका छन् । प्रधामन्त्रीले राजीनामा पनि नदिएको र संसद्लाई पनि काम गर्न नदिएको उनले बताए । सभामुख अग्निप्रसाद सापकोटा पनि मूकदर्शक बनेको उनको आरोप छ ।

सरकारले बिजनेस नदिँदा पनि सभामुखले आफ्नो अधिकार प्रयोग गर्न नसकेको उनले बताए । ‘सरकारले बिजनेस नदिए पनि सभामुखको पनि केही भूमिका हुनुपर्ने हो । तर, सभामुख आफैँले गर्नुपर्ने काम पनि गर्नुभएन । उपसभामुख चयन गर्ने काम सरकारको होइन । सभामुखको हो । उहाँले त्यो पनि गर्नुभएन,’ आक्रोश पोख्दै कोइरालाले भने ।

नेता कोइरालाले अबको मंसिर या चैतमा निर्वाचन गर्नुपर्ने बाध्यता रहेको पनि बताए । कांग्रेसको नेतृत्वमा सरकार गठन गर्नुपर्ने र देशलाई निर्वाचनमा लैजानुपर्ने उनको भनाइ छ । अहिलेकै अवस्थामा संसद् राख्नुको समेत औचित्य नहुने उनले बताए ।

 ओलीसँग हिमचिम गर्नेहरू भोलि पछुताउनुपर्छ 

कोइरालाले अहिले प्रधानमन्त्री ओलीसँग हिमचिम गर्नेहरू भोलि पछुताउनुपर्ने चेतावनी दिए । जसपा नेताहरू महन्थ ठाकुर र राजेन्द्र महतोतर्फ संकेत गर्दै कोइरालाले भने, ‘मधेसका विषय सम्बोधन गर्न विगतमा कांग्रेसले प्रस्ताव लगेको थियो, त्यसको विरोधी एमाले अध्यक्ष ओलीले कसरी जसपाका एजेन्डा सम्बोधन गर्न सक्छन ? र, महन्थजीहरू ओलीतर्फ नरम बनिरहनुभएको छ ।’

जसपालाई मनाउन सक्दा कांग्रेस नेतृत्वको सरकार भोलि नै बन्न सक्ने उनको भनाइ छ । यद्यपि जसपाकै नेता ठाकुरको नेतृत्वमा सरकार गठन गरेरै भए पनि ओली सरकारलाई बिदा दिनुपर्ने उनले बताए । ‘सकेसम्म कांग्रेसकै नेतृत्वमा नयाँ सरकार बनाएर निर्वाचनमा जाने हो । नभए महन्थजीकै नेतृत्वमा भए पनि अर्को सरकार गठन गरेर यो सरकारलाई बिदा दिनुपर्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like लाईक
Love खुसी
Wow उत्साहित
Sad दुःखी
Angry आक्रोशित
You have reacted on "महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर भए पनि ओलीको..." A few seconds ago

सम्बन्धित खवर